पुस्तक समीक्षा : ‘उपहार आँशुको’ डायस्पोरिक समीक्षा

~मित्र पौडेल~

पूर्वीय संस्कृत साहित्यका आदिम ग्रन्थहरूदेखि कथाका विविध प्रयोग हुँदै आएका छन् । सिन्धु उपत्यकाको सभ्यतामा विकास भएको प्राचीनतम ग्रन्थ ऋग्वेद सूक्त यजुर्वेद, सामवेद र अथर्ववेदका मन्त्र हुँदै, कठोपनिषद बृहदारव्यकोपनिषद, विभिन्न आख्यक, सतपथ, ब्राह्मण जस्ता आर्य द्रविड सभ्यताका विकासमा देखापरेका ग्रन्थहरूसम्ममा समेत कथात्मक संरचना स्वरुपको विकास हुन थालेको पाईन्छ । त्यस्तै बौद्धकालिन जातक कथा, ईशाको बाह्रौ शताब्दीतिर पञ्चतन्त्र, हितोपदेश, बेताल पंचविसंतिका, सुकसप्तती आदि ग्रन्थहरुमा पनि कथात्मक संरचनाको विकास भएको छ । साहित्यमा आख्यानात्मक प्रकृतिका उपन्यास र कथाहरुको पनि पृथक पृथक विद्यागत अस्तित्व रहेको छ । कुनै जीवनको व्यक्तिगत परिधिलाई समेटेर अपनाईएको मझौला आकारका आख्यान संरचनालाई कथात्मक स्वरुपको रुपमा विकास भएको देखिन्छ । कथालाई वास्तवमा आख्यानात्मक प्रविधिको रुपमा लिने गरिन्छ । पाश्चात्य जगतमा पनि साहित्यको उदयसंगै कथा साहित्य अघि बढेको देखिन्छ । बाइबलका आख्यानात्मक वचनहरु, ईसपका नीतिकथाहरुमा कथाविद्यागत स्वरुपको विकाश भएको देखिन्छ । नेपाली आधुनिक कथा लेखन परम्पराको वास्तविक उठान वि.सं. १९९० को दशकबाट भएको हो । प्रतीकात्मक अर्थ दिने नेपाली उखानहरुको प्रयोग गरेर समाजको चित्र झल्किने गरी “कृष्णचन्द्र अज्र्याल”द्वारा लिखित लौकिक न्याय मणिमाला नै आधुनिक कथाका सूत्रधार मान्न सकिन्छ । आधुनिक नेपाली कथा लेखन परम्पराको अवधीलाई तीन चरणमा विभाजन

 गरेर अध्ययन गरिएको छ । १) यथार्थवादी चरण २) नवचेतनावादी चरण ३) समसामयिक चरण (२०४० देखि हालसम्म) । यसरी नेपाली आधुनिक कथा साहित्यलाई विश्वव्यापीकरण गरेर लानेक्रममा देखापरेकी नारीवादी कथाकार सीता अर्यालका चौथो कथा संग्रह उपहार आँशुको कृतिको समष्टिगत विश्लेषण यस समालोचनामा गर्ने प्रयास गरिएको छ ।

अर्यालका यस कथा संग्रहभित्रका कथाहरुमा विदेशीएका नेपालीहरुको सांस्कृतिक अभिचेतना र डायस्पोरिक चिन्तन स्पष्ट रुपमा पर्गेल्न सकिन्छ । कथाकारले डायस्पोरिक स्थितिभित्र मानवमनका कुण्ठा र जुगुप्सालाई अन्तरहृदयबाट नियाल्ने प्रयास गर्नु भएको छ । आधुनिक नेपाली कथा लेखनको समृद्ध परम्परामा अनवरत रुपमा समर्पित सर्जक मध्ये डायस्पोरिक कथा साहित्य लेखनमा उज्यालो सम्भावना बनेकी सीता अर्यालको कृति ‘उपहार आँशुको’ कथा संग्रहको सांङ्गो पाङ्गो मूल्यांकन निर्दिष्ट समय, सीमा र पृष्ठहरूमा सम्भव हुन सक्दैन । नेपाली डायस्पोरिक कथाचिन्तक मध्येकी प्रखर कथा लेखिका सीता अर्यालले जीवनवादी, आयामिक कथाप्रयोग, पूर्वीय र पाश्चात्य दर्शनको कलाचिन्तनमा कलात्मक साहित्यिक स्वरुप प्रदान गर्नुभएको छ । रुपसंरचनावादी अन्तर्दृष्टि समेटेर डायस्पोरा नेपाली कथा साहित्यलाई उत्तराधुनिकताको नविन आग्रह र आयममा यिनका सिर्जनात्मक प्रायोगिक स्वरुपगत संरचनाले आमूल परिवर्तन ल्याई दिएको छ । समकालिन विश्वसमाज, भूमण्डलीकरण तथा साईवर संस्कृति आदि वर्तमान समयसंग प्रत्यक्ष सरोकार राख्ने विविध विषयलाई कुनै न कुनै तत्वसँग स्पर्श गर्दै स्वैरकल्पना, वैचाकिता असित व्यङ्ग्यको प्रयोग, यथार्थवादी प्रवृति, अस्तित्ववादी विसङ्गतिवादी चेतनाहरुलाई कथाधार बनाउँदै उपहार आँशुको कथासङ्ग्रह देखा परेको छ । अर्यालका कथाहरूमा विशेषतः व्यङ्ग्यपरक विद्रोहीपना, प्रतीकाहसक विविध विम्बहरू, समयगत समाजसापेक्ष एवं समकालिनताको यथार्थ प्रस्तुति पाईन्छ । यस कृतिभित्रको कथा ‘रोमा भाउजु’, ‘अविवेकी सन्तान’, ‘अनुपम सुगन्ध’, ‘भ्रम’, ‘त्यो स्पर्श’, हरुमा सामाजिक यथार्थवादी सन्दर्भ, र ‘पर्दाभित्र’, ‘आँट’, ‘उस्तै उस्तै’, ‘वसन्त र वालुवाहरु‘, ’द्वैध चरित्र’ जस्ता कथाहरुमा अस्तित्ववादी सन्दर्भ गम्भिरतापूर्वक सम्वोधन गर्न खोजिएको छ । नेपाली डायस्पोराभित्रको सांस्कृतिक गतिविधिसित प्रत्यक्ष सरोकार राख्ने विभिन्न प्रकारका सामाजिक विडम्वना यिनका कथाहरुमा प्रशस्त भेटिन्छन् ।

मानवीय स्वअस्तित्व र अस्मिताका तिव्र स्वर उत्तर फ्रायडीय यौन मनोविश्लेषणात्मक चेतना एवम् गरी दमित मनका विमर्श उनको काब्य कथन शिल्पका केही मुख्य प्रवृतिगत अभिलक्षण हुन् । कथाभित्र देखिएका सामाजिक जीवनपद्धति, मानवीय संस्कार जस्ता प्रयुक्त वस्तुस्थितिलाई युगीन स्थानिक सन्दर्भसँग जोडेर समाजका विधिव्यवहार, प्रचलन, परम्परा एवं मानवजीवनका गतिशील परिवर्तनहरू अभिव्यक्त गरिएको छ । यस कृतिमा प्रयोगपरक शैली र नवचेतनालाई अवलम्बन गरी परिवेश अनुरुपका चरित्रविधान र संवादको प्रयोग गरिएको छ । ‘रोमा भाउजु’ भित्र शहरीया जीवनका, जटिलता, पीडा र स्थितिलाई यथार्थपरक अभिव्यञ्जना दिइएको छ । अन्तर्वस्तुमा संयोजन, पात्रविधानमा सरलता, परिवेश चित्रणमा आंचलिकता र कलात्मक भाषिक वैशिष्ट्यका कारण कथा संग्रह सुन्दर आयम बनेर उदाएको छ ।

प्रायः परदेशीय परिवेश र पृष्ठभूमिमा भारतीय डायस्पोरिक प्रसिद्ध कथाकारहरू अनिता नायर, ‘जुम्पा लाहिरी’, ‘भारती मुखर्जी’, चित्रा देव कारुणी, ‘काब्या नटराजन‘ ’अरुन्धती रोय’ तथा पश्चिमेली प्रसिद्ध नारीवादी कथाकार ‘एन्जेला कार्टर’, ‘लाईडिया डेभिस’, मार्गरेट एटबुड जस्ता विश्वप्रसिद्ध कथाकारहरूकै तुलनामा सीता अर्यालको लेखकीय क्षमताको प्रस्तुति भएको छ । आज डायस्पोरिक विश्व समाजमा लेखिदै आएको कथाहरु मध्ये लोभ लाग्दो, ग्रहणयोग्य, गहन अध्ययन अनुशीलनका योग्य पक्षहरु अर्यालका लेखकीय शैलीमा स्पष्ट हुनुका साथसाथै यिनै प्रवृत्तिभित्र नै नवलेखकीय चेतनाका मूलभूत विशेषता, सम्भावना र अभिप्राप्तिहरु समेटिएका छन् । यिनका प्रस्तुत कथाहरुमा परदेशी नेपाली जीवनको जीजिविषा र विजीगिषा विचको समानान्तर द्वन्द्व देखाईएको छ । डायस्पोरिक नारी जीवनका कारुणीक जीवन भोगाइ, स्वाभिमानी, स्वाबलम्बी प्रवृतिलाई आत्मसम्मान युक्त रुपमा चित्रण गरिएको छ । आयामगत दृष्टिले मझौला कथाहरुको संग्रह भएको हुनाले जीवनको सम्पूर्णता यसभित्र पाउन सकिन्छ ।

उत्तराधुनिक बहुलवादी समदृष्टिबाट नियाल्दा यस सिर्जनाभित्रका कथाहरु भर्चुअल रियालिटी र म्याजिक रियालिटीका चिन्तनहरूको सङ्घार टेक्न पुगेको छ । पाठकलाई कथानकसँगै साधारणीकरण गरेर हिडाउने चमत्कारपूर्ण शैली कथाकारको शिल्प कौशल हो । युगसापेक्ष जीवनपद्धति जीउन मानवले आफ्नो अस्तित्वको वली दिन तयार हुन्छ भन्ने सन्देश यस सिर्जनाले व्यक्त गरेको छ । परदेशी नेपाली समाजमात्र नभै युरोपेली र अमेरिकी समाजको वर्तमान अवस्थाको युगवोध यस कृतिमा सरलरुपमा देखिएका छन् । विषय परिवेश अनुरुप आधुनिकतालाई तथा समाजभित्रका यथार्थपरक परिघटनाहरुलाई सहजरुपमा उद्घाटन गरिएको छ । पश्चिमेली सभ्यताका समाज शास्त्रीय दृष्टिकोण, फ्रायडेली यौनमनोविज्ञान, साइवर संस्कृति, ईन्टरनेटप्रविधि र सवाल्र्टन जस्ता विविध विषयवस्तुलाई कथाकारले समेट्नु कथाकारिताको उत्कृष्ट सफलता हो ।

निष्कर्षः

भाषिक प्रस्तृतिमा अनुराग, सूक्तिमय कथनपद्धति, विम्बमय आलम्बन विभावहरूले कथालाई सफल, प्रभावी बनाएको छ । समाख्यानका श्रृङ्खला ब्यक्ति क्रमिकरुपमा प्रस्तुत भई कहीँ कथामा यायावरी शैली आएको देखिन्छ । शैलीगत वैशिष्ट्यको कारण पाठकलाई कथाले सम्मोहित गरिदिएको छ । कथाहरुमा सूक्ष्म र सांकेतिकरुपमा नवमान्यता र विचारको स्थापना भएको छ । तसर्थ यिनका कथाहरुलाई समकालिन युगचेतनाका विम्बका रुपमा लिन सकिन्छ । युगीन यथार्थपरक, बहुआयामिक रुप, चरित्र र युगचेतना वैचारिक क्यानभासभित्रका चित्रहरुमा जीवन्त बनेका छन् । अमेरिकी नेपाली डायस्पोरिक कथा लेखनमा अर्यालका नवचेतनावादी स्वर र समसामायिक चिन्तन स्पष्ट देखिन्छ । कथाकारको कथा लेखन यात्रा, समयसापेक्ष, लेखनगत विविध मूल्यमान्यता, प्रयोग धार्मिकताले अन्तर्राष्ट्रिय कथालेखनकै बराबरीमा हिड्न सफल भएको छ । यस कृतिले वैचारिक लेखनका साथै मानवीय कथात्मक सौन्दर्यचेतना र डायस्पोरिय सामाजिक सरोकारलाई उत्तिकै महत्त्व दिएको छ । समग्रमा यस संग्रहभित्रका कथाहरु नेपाल र नेपाली समाजकै अनुभूतिहरु हुन् । यस कृतिले आजको उत्तराधुनिक जीवन भोगिरहेका नेपाली जातीहरुको विविध पक्षलाई जीवन्त रुपमा प्रस्तुत गरेको देखिन्छ । कथामा प्रयुक्त भाषिक शिल्पशैली, सहज सम्प्रेष्य तथा सरल सरस एवं पाठकमैत्री प्रकृतिको छ । ‘उपहार आँशुको’ भित्रका कथाहरु यिनै प्रवृतिका परिचायक हुन् ।

सन्दर्भ सूची

– कोइराला, कुमारप्रसाद, आख्यान विमर्श, काठमाडौं, ओरियन्टल पब्लिकेशन, २०६८ ।
– घिमिरे, कृष्णप्रसाद, आधुनिक नेपाली र २०२० पछिका प्र.प्रवृति, साहित्यिक अभियान, २०६३ ।
– सुवेदी, राजेन्द्र, समसामयिक कथाप्रवृति र प्रगतिवादी कथाको प्राप्ति, समकालिन साहित्य २०५९
– गौतम, लक्ष्मणप्रसाद, नेपाली साहित्यमा उत्तराधुनिक समालोचना, काठमाडौं ओयिन्टल पब्लिकेशन, २०६६
– शर्मा, मोहनराज समकालिन समलोचना सिद्धान्त र प्रयोग, काठमाडौं प्रज्ञा प्रतिष्ठान २०५५ ।
– त्रिपाठी, सुधा, नारीवादी सौन्दर्य चिन्तन, काठमाडौं भृकुटी एकेडेमिक पब्लिकेशन २०६८ ।
– एटम, नेत्र, समालोचनाको स्वरुप, ललितपुर, साझा प्रकाशन, २०६१ ।
– क्षेत्री, सुधि, उत्तराधुनिक आख्यानका स्वरुप र अभिलक्षणहरु, चरित्र समालोचना विशेषांक २०१४ ई.वि.
– भट्टराई, गोविन्दराज (२०६१) आख्यानको उत्तराधुनिक पर्यावह, काठमाडौंः रत्न पुस्तक भण्डार ।

– मित्र पौडेल,म्याडिसन, अमेरिका ।

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.