~डा. उत्तम खनाल~
मैले नदेखेको दिन
लाग्थ्यो, तिमी हाँसेकी छौं
अरुको झै खुसी साँचेकी छौं
र त मुस्कुराउँदै बाँचेकी छौं
त्यो जीवनमा,
ओठको हाँसो र रुपको नासो साँचेर
पवित्रताको निर्मल रंगमा
कसी लगाउँदा
कञ्चन दाग थिएन
तर म…
विलकुल गलत थिएँ
अन्जान वालक झैं
र मलाई के थाहा
तिम्रो पल पलको चोट
दर्दनाक पिडा
आफ्नै आफन्तको तिरस्कार
सायद अवसान,
रगतको नाता
अनि, हरेक दिनको मृत्यु
तिम्रा लागि, सामान्य थिएनन्
त्यसैले तिमी, साँचो थियौ
महान थियौं
र धर्तिको ज्योति थियौ ।
मलाईथाहा थिएन
आफ्नै रगत रेटिन्छ
गला घोटी मेटिन्छ
एकाएक साईनो तोडिन्छ
नाताहरु मोडिन्छ र छोडिन्छ
आमा, दिदी, बैनी र दाईको
त्यो पनि
एकै कोखमा
उहि रगत
उहि सन्तानमा
के का लागि
धन, तन या मन ?
खरानी सबै मेटिन्छन्
कतै कतै भेटिन्छन्
ईज्जत गर्नेहरुमा
न्याय दिनेहरुमा
एक पछि अर्को
धारै धार, छुरै छुरा
नखाए पनि खाए झैं
रोए पनि हाँसे झै
नियति बनिरह्यो
ओछ्यान पर्दा पनि
तिम्रा दैनिकीहरुले
मलम पाएनन्
साथ खोज्दै गर्दा
आफन्त आएनन्
बरु उल्टै तथानाम
तिरस्कार र पिडाको
धन्य छ,
तिम्रो जन्मलाई
धैर्यता, आँट र सहासलाई
त्यसैले,
यो अल्प यात्रीको
शब्दै शब्दको नमन ।
डा. उत्तम खनाल
ना.न.पा ८, काठमाण्डौ ।
khanaluttam24@yahoo.com
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )