कविता : अञ्जुलीभरिका फूलहरु

~तारा पराजुली~

ए सप्तकोसीका किनारहरू
कतिन्जेल बस्छौ चुपचाप यसरी
भन न ऊ कहिले आउने होला ?
यो मनको राजमार्गै राजमार्ग भएर

यो बाटोभरि पैतालाले लेख्दै
त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै
हावाका भित्ताहरूमा झझल्कोले पोत्दै
परैबाट सोध्ला ठेगाना
क्षितिजपारिबाटै भएपनि देखाइदिनु
एकथुप्रो सपनाको बस्ती
एक झुप्रो वेदना
अस्ताउन बाँकी एक थुँगो घाम
अनि कोर्दै मेट्दै गरेको एक हरफ जोबन ।

उस्तै उस्तै लाग्छन् यी
घाम र जिन्दगी
फूल र बास्ना
जून र ज्योति
अनि ऊ र म ।

बिहान सबेरैदेखि पिठिउँमा टेक्दै जाने घाम
फूलमा मगमगाउँदो सुगन्ध
जूनमा टलपलाउने ज्योति
सबै सबै उसको हो
मोनालिसाझैँ मुस्कुराउने रात उसैसँग छ

त्यही हो उज्यालो
जसले मेरो घरसम्म बाटो पठाउँछ
बटुवाविनाको यो बाटो
जहाँ ढुङ्गाको छातीमा उभिएको सयपत्री
हाँस्न खोज्नुजस्तै हो
सम्झँदा पीडा हुन्छ अतीतलाई
विस्मृति कतै पर छ ।

मसँग मात्र कहाँ हो र ?

उससँग पनि छन् रङ्ग मिल्ने सपना
पर्वमा रमाइरहेका केटाकेटीका जस्तै रहर छन्
त्यसैले त बनायौँ हामीले एक माला इन्द्रेणी
साक्षी छन् प्रेमका अवयवले चुलिएका
सगरमाथा र किलिमन्जरो ।

उही भूगोलका फरक फरक गोलाद्र्धमा
निदाएछौँ अबेरसम्म एउटै सपना सिरानी हालेर
बिउँझदा मध्यान्ह पोखिइसकेछ आँगनभरि

समय तिमीले त सायद यस जङ्गलमा
कसैलाई पर्खनु छैन, जाऊ
बाटैमा भेट्नेछौ
मेरो बैँसभरि सुहाएको पहाड निदाएको
सँगै नाबालक देश पनि सुतेको छ
तिनलाई उठाऊ
म अँजुलीभरि फूल लिएर आउनेछु स्वागतमा
किनकि
यो साल जसरी पनि
एउटा हरियो शान्ति भित्र्याउनु छ यस घरभित्र !

– तारा पराजुली,मोरङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.