~अरुणबहादुर खत्री “नदी”~
तिम्रो सिउँदोभरि
सिन्दुर हालेर सजाइदिने
मेरो ठूलो धोको छ,
यो उदास ह्रदयबाट
अलिकति भएपनि
माया पाउने
मेरो ठूलो रहर छ,
औसीका रातमा
खोइ किन हो कुन्नि
जुनकिरी झैं म
घुम्न सकिन
मेरो मनको कुरा
तिमीले बुझिदिने
कोसिस गर है
बेइमानी नजरको
तीरलेझरेको
लालुपाते फूलजस्तै
खोइ किन हो
तिमी फुल्नै सकिनौ
तिमीसित जीवनमा
बाँधिने मेरो
एउटै धोको रहेछ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
(स्रोत : अक्षलोक (नेपाली साहित्यिक त्रैमासिक), पूर्णाङ्क-४१, २०६८ (श्रावण-आश्विन), पृष्ठ ४९ [AKSHALOK, Nepali Literary Quarterly, Vol.-41, 2011 July-Sept])