कविता : परिवर्तनका तीन आयाम

~विश्वविमोहन श्रेष्ठ~

परिवर्तन भन्दैमा सबै
अग्रगमनको पाइला नहुन सक्छ
हर नयाँ कर्मले
तिम्रो भाग्यको ढोका नखोल्न सक्छ ।

गर्भाधान त दियौ तिमीले
निकै उत्साहले
तर, भोलि जन्मने तिम्रो शिशु
गान्धी नभएर
जन्मँदै हातमा पेस्तोल बोकेको
नाथुराम गोड्से पनि हुनसक्छ ।

नयाँ भन्दैमा सबै
परिवर्तनको द्योतक नहुने रहेछ
हेर न !
शरदपछि आउने शिशिरले
कसरी रूखहरूलाई नांगेझार पार्छ
पुरानै भएर के भो र !
कमसेकम वसन्तले
तनमा लाली र मनमा बहार त ल्याउँछ ।

जण्ड, उद्दण्ड जे भने पनि
प्रचण्ड घाम त अस्त हुन्छ
हिउँदको यो भारी हिमपात पनि
पग्लेर पानी पानी हुन्छ
प्रेममा जो मरे
उनका नाममा ताजमहल बन्छ
देखेनौ ?
हिटलर त अचेल
म्युजियमको अँध्यारो कुनामा
सुक्सुकाएर रुन्छ ।

नेपाल साप्ताहिक ४४३

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.