~गोविन्ददेव आचार्य~
छन्द :- शार्दूलविक्रीडित
हे हे मानव बन्धु-बान्धव खुला ब्रह्माण्डका दर्शक !
विद्या, ज्योतिष शास्त्र लेखक, नयाँ विज्ञानका सर्जक
तिम्रो जन्म छ उच्च विश्वभरमा तिम्रै कडा हैकम
आफ्नै धर्म कदापि छैन बलियो ! देखिन्छ उल्टो क्रम ।
हिन्दू, बौद्ध, अनेक मुस्लिम भनी आफैँ भयौ खण्डन
गुम्बा,मन्दिर, चैत्य, मस्जिद बनी बाँडिन्छ तिम्रो मन
के हुन् सत्य असत्य कर्म जगमा के तुच्छ के सुन्दर ?
आफैँ वर्ग र सम्प्रदाय-तिर छौ, के चिन्दछौ ईश्वर !!
बन्छौ खण्डित वर्ग,जाति दलमा ! या धर्मका कारण
मासी मानव-धर्म ! पाप-बलकै गर्दै गयौ रक्षण
“मान्छे” एक समग्र जात सयमा फुट्दै र फाट्दै गयो
सिङ्गो ईश्वर टुक्रिएर जगमा के धर्म खुल्ला भयो ??
तिम्रो उत्सव चल्छ आर्त पशुको घाँटी छिनाले-पछि
तिम्रा “पौरख” बढ्दछन् रगतले ढुङ्गा पखाले-पछि
केले दिन्छ जवाफ बाङ्मुख बनी पापिष्ठ ती कर्मका
आफ्नो पाप पखाल्दछौ अब कहाँ च्याती कथा धर्मका ?
कोको छन् भगवान जो रगतमा देख्छन् मिठा भोजन ?
कोको व्यास बनाउँछन् रगतमा वेदान्तको दर्शन ?
केले धर्म बटारियो छल गरी मार्ने र खाने-तिर ?
हत्या,मृत्यु, गुहारले किन सधैँ रक्ताम्य छन् मन्दिर ?
आफैँ धर्म “पिपासु” हुन्न ! यसले माग्दैन हत्या कुनै
एकै छन् परब्रह्म जीव सबका स्रष्टा र भर्ता उनै
आफ्नै बन्धु-समानको बध गरी धर्मार्थ के भेटियो ?
ढुङ्गाभित्र हुँदैन भोक ! उसको के तिर्सना मेटियो ?
लाखौँ ईश्वर लड्दछन् सडकमा भोका र नाङ्गा बनी
तिम्रा जर्जर धर्मभित्र चुलिए द्रव्यार्थका मोहनी
तिम्रो भित्र सहानुभूति छ कहाँ ! ती दीनका खातिर ?
आत्माको भगवान छेदन गरी देख्छौ कहाँ मन्दिर ?
आत्मा मन्दिर, भाव तोरण, दया-सामीप्य आधार हो
सेवा धर्म, सुसार नै गजुर हो, सद्भावना द्वार हो
सच्चा मानवता मिठो भजन हो वेदान्त हो बन्धुता
जो भुल्दैन मनुष्य धर्म मनमा ! ऊ श्रेष्ठ हो देउता ।।
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)