असारको बादलले पुकार्छ ।
तिहारको मादलले पुकार्छ ।।
पाकेर राताम्पुर बोटमाथि ।
वसन्तको काफलले पुकार्छ ।।
उठी सखारै धरती नुहाई ।
लाली चढेको नभमा सुहाई ।।
“फर्केर आऊ परदेशबाट ।”
हिमालको आँचलले पुकार्छ ।।
उसै-उसै यो घर शून्य लाग्छ ।
सँगै भए यो घर धन्य लाग्छ ।।
भन्दी प्रियाको नयनानुरागी ।
अजम्बरी गाजलले पुकार्छ ।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)