~त्रिभुवनचन्द्र वाग्ले~
शब्दै शब्दैको समुद्रमा
अक्षर अक्षरको सागरमा
जब फ्याकिन्छु
म आवाज\निर्आवाज गुन्गुनाउन थाल्छु
माझी झैँ
माझीहरू मेरा आवाजमा लय थपिदिन्छन्
र आवाज कविता बन्छन्
मेरा कविता माझीले गाइदिए पुग्छ ।
बाटो खोज्दाखोज्दै यात्रामा हराएर
जब सुस्केरिन पुग्छु जराको सिरानी लिएर
घसिनी दिदीहरू मेरा सुस्केरामा भाव थपिदिन्छन्
र सुस्केरा कविता बन्छन्
मेरा कविता घसिनीले गाए पुग्छ ।
कर्म खोज्दाखोज्दै
असारको हिलोमा
जब छाँद हाल्न पुग्छु गर्वले
बाउसेहरू मेरो गर्वमा आत्मा थपिदिन्छन्
र आत्मा कविता बन्छन्
मेरा कविता बाउसेले गाए पुग्छ ।
विरहको बस्तीबाट
उपकारको दियो खोज्दै
जब हिमालका पाउमुनि आँखाहरू नाच्दै हुन्छन्
हिमाल मेरो विरहमा स्निग्धता थपिदिन्छन्
र स्निग्धता कविता बन्छन्
मेरो कविता हिमालले गाए पुग्छ ।
‘कविता’ पूर्णाङ्क ४१, २०४९ मा प्रकाशित
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )