~श्याम साह~
यो सुन्दर बजारको कथा हो। जसको सौन्दर्यतासँगको सम्बन्ध ठिक उल्टो थियो। केहीकेही त्यसरी नै, जसरी जलस्रोतको सबैभन्दा धनी देश नेपालको सम्बन्ध यहाँको लोडसेडिङ र खानेपानीको हाहाकारसँग छ।
सुरुमा त्यो डोम जातिको बस्ती थियो। जहाँ तिनीहरुले सुङ्गुर पाल्ने, हाटबजार सफा गर्ने, बाँसका भकारी, ढाकी, नाङ्लो बनाउने काम गर्थे। तिनका बस्तीभरि सुङ्गुरका र बस्तीबाहिर मानिसका बिष्टा परैबाट गन्हाउँथे। जब महेन्द्र राजमार्गले त्यस ठाउँलाई आफ्नो बाटोमा पार्यो, वरपरका गाउँ पञ्चायतका ठूलाबडा मानिसहरुका आँखा त्यहाँ पर्न थाले। तिनीहरु मिलेर सल्लाहले नै डोमहरुलाई त्यहाँबाट सारे। आफ्ना मानिसहरुलाई ल्याएर बस्ती बसाले। तिनीहरुले त्यहाँ ईनार खने, मन्दिर बनाए, स्कुल खोले। शनिबार र मङ्गलबार हाट लगाउन जिल्लाभरिका गाउँहरुमा डङ्कासमेत बजाए। दुई दिन र चार रातको छलफलपछि बल्ल नाम जुराए, सुन्दर बजार। यद्यपि आजका मितिसम्म पनि डोमका सुङ्गुरहरुले सुन्दर बजारमा आएर बिस्टाउन भने छाडेका छैनन्।
अचम्म किसिमले शान्त थिए त्यहाँका मानिसहरु। त्यतिकै चिसा पनि थिए। देशको कुनै पनि राजनीतिक उथलपुथलहरुले कहिल्यै पनि त्यस ठाउँलाई छोएन। त्यहाँको सर्वमान्य नेता थियो बिसनाथ बाबु। देशमा जति पनि राजनीतिक परिवर्तन हुन्थे, ती सबैका प्रभाव अन्ततः बिसनाथ बाबुकोमा गएर टुङ्गिन्थे। पञ्चायतकालभरि ऊ खुङ्खार पञ्च थियो। २०४६ सालको सफल जनआन्दोलनपछि ऊ काङ्ग्रेस भयो। राजनीतिक पार्टीको प्रभावअनुसार आफू परिवर्तन भए पनि सुन्दर बजारबाट उसको प्रभाव भने कहिल्यै हटेन।
मानिसहरु भन्थे, उसका आँखा र दिमाग दुवै सैतानको छ। हुन पनि उसका आँखा पुरै सुन्दर बजारभरिमा बेग्लै थिए। निला तर गहिरा। मानिसहरु ठाडो आँखाले उसलाई हेर्दैनथे किनकि त्यसरी हेर्ने एकजना मानिस पनि सुन्दर बजारमा टिकेका थिएनन्।
त्यही बेला लाटी सुन्दर बजारमा देखा परी, जसले सुन्दर बजारका मानिसहरुमा तरङ्ग नै ल्याइदियो। त्यसबेलासम्म सुन्दर बजार एउटा चल्तीको बजार भइसकेको थियो। राजमार्गभन्दा उत्तर र दक्षिणका गाउँहरुको केन्द्रका रूपमा स्थापित भइसकेको थियो। लाटीले दिनभरि मागेर जम्मा गरेको खानेकुरा उसलाई चाहिनेभन्दा बढि नै हुन्थ्यो। त्यसैले ऊ त्यसपछि अन्त कतै पनि गइन।
स्वभावले जिद्दी थिई लाटी। त्यत्तिकै जण्ड पनि। उसको मुखबाट अ र आ बाहेक अरु स्वर उच्चारण हुँदैनथ्यो। तिनै स्वर उच्चारण गरेर ऊ केही न केही गुनगुनाइरहन्थी। ऊ कहाँबाट कसरी आई, कसैले थाहा पाएन। त्यसभन्दा अगाडि पनि सुन्दर बजारमा पागलहरु नआएका होइनन्। तर अहिलेसम्म त्यति उमेरकी तरुनी केटी पागल भएर आएकी थिइन। यदि ऊ लाटी हुँदिनथी भने अहिले कुनै राम्रो घरमा बिहा गर्न ठिक्क परेकी केटी हुन्थी। एउटा कारण यही पनि थियो, जसले गर्दा त्यहाँका मानिसको ध्यान लाटीले तानेकी थिई।
सुरुमा त त्यहाँका केटाहरु लाटीको पछाडि रमिते भएर नै मडारिन थाले। तिनीहरुले लाटीलाई चिढिने गरी जिस्काउँथे। लाटी धारे हात लाउँदै आफ्नै शैलीमा गाली गर्थी। अनि आजित भएर जथाभावी ढुङ्गाले हिर्काउँथी। तर केटाहरुले जिस्काउन छाड्दैनथे। ऊ आफैं चिच्याउन थाल्थी। आफ्नै कपाल लुछ्न थाल्थी। आवेशमा गुप्ताङ्ग खोलेर देखाइदिन्थी। अनि मात्र केटाहरु खितिति हाँस्दै त्यहाँबाट हिँड्दथे।
लाटी सबैभन्दा बढी अराजक माग्ने बेलामा हुन्थी। नदिउन्जेलसम्म झर्को लाग्ने गरी कराइरहन्थी। कसैले उसलाई धपाउन लठ्ठी उज्याउँथे, कोही पानी खन्याउन खोज्थे। तर लाटी डराउन्नथी। धारे हात लगाउँदै गाली गर्थी। त्यतिले नमाने ढुङ्गा टिपेर हिर्काउन खोज्थी। मानिसहरु आजित भएर पहिले नै दिन थालेका थिए। तिनीहरुले प्रहरीमा उजुरी पनि हाले। तर लाटीलाई थुनामा राख्ने कसरी? प्रहरीले उसलाई जगल्टाएर धपाउन खोजे। तर लाटी पनि कम थिइन। उसले पनि उनीहरुलाई ढुङ्गाले हिर्काई। त्यसपछि मानिसहरु आफ्ना सर्वमान्य नेता बिसनाथ बाबुकहाँ गए। तर बिसनाथ बाबुले भने उल्टै तिनीहरुलाई नै सम्झाइबुझाइ पठाए।
त्यसपछि लाटी त्यहाँ बिसनाथ बाबुपछि सर्वाधिक प्रभावशाली भई। मानिसहरु तिनलाई पर देख्नेबित्तिकै खानेकुरा ठिक पार्न थाले। प्रहरीहरु तिनलाई देख्नेबित्तिकै तर्किन थाले। तर त्यहाँका केटाहरुले भने अझै पनि आफ्ना आफन्तहरुबाट लुकेर लाटीलाई जिस्काउन छाडेनन्।
जब लाटीको पेट उठेको देखियो, सुन्दर बजारमा एक किसिमको भुइँचालो नै आयो। प्रत्येक मानिसका मुखबाट लाटीको पेटको चर्चा सुनिन थाल्यो। कसैका लागि त्यो ठट्टाको विषय बन्यो। कसैका लागि त्यो सामाजिक प्रतिष्ठाको विषय पनि बन्यो। केही बुद्धिजिवी जो आफूलाई समाजिक रूपले प्रतिष्ठित ठान्थे, तिनीहरुले लाटीलाई पेट बोकाउने मानिसको खोजी गरिपाउँ भनेर थानामा निवेदन हाले। पटकपटक बिसनाथ बाबुकहाँ पञ्चायती बसाउनका लागि धाउन थाले। तर कोहीकोही भने नराम्ररी झस्के। जसका रातका निन्द्रा समेत गायब भए। यो तिनै मानिसहरुको कथा पनि हो।
सई प्रेमबहादुर थापा
‘साप, लाटीले त पेट बोकी।’
उसले पहिलो पटक बच्चु यादवको मुखबाट सुन्यो। पुरै रक्तसञ्चार अवरुद्ध हुने गरी मुटु ढुक्क भएको थियो उसको। मानौं, ऊ उभिएको जमिन एक्कासि भास्सिएको होस् र ऊ कुनै विराट अन्धकारमा खसिरहेको होस्। एक क्षण त ऊ चेतनाशून्य नै भएको थियो। छ महिना जति भएको थियो ऊ सुन्दर बजारमा आएको। बच्चु यादव त्यसबेलादेखि उसको सहायक थियो।
उसले बच्चुको कालो अनुहार नियाल्यो। सुरुमा अलि व्यङ्ग्यात्मक मुस्काए पनि सईको तनाव देखेर ऊ पनि गम्भीर भयो।
‘मैले आफैं हेरेर आएको, चार महिनाको त पुगे होला।’
बच्चुलाई सबै थाहा हुन्छ। ऊ त यहीँको मान्छे। आफ्नी स्वास्नी र लालाबालासँग बसेको छ। कति महिनाको पेट कत्रो हुन्छ? उसलाई सबै थाहा छ। नहुनु पनि कसरी? प्रत्येक वर्ष उसकी स्वास्नी सुत्केरी जो हुन्छे। यदि सबै बाँचेका हुन्थे भने त उसका सन्तानको सङ्ख्या दर्जन त पुग्थ्यो होला। परिवार त उसको पनि नभएको कहाँ हो र? एउटी स्वास्नी र एउटा छोरा छ। सरुवा भइरहन्छ। त्यसैले हो सँगै राख्न नसकेको।
उसले लाटीबारे पनि पहिलोपटक बच्चुबाटै थाहा पाएको थियो। सरुवा भएर आएको पहिलो दिन उसले त्यस ठाउँको बारेमा बुझ्न खोज्दा बच्चुले सबैभन्दा पहिले लाटीकै बारेमा भनेको थियो।
‘साली सफा मात्र भएर बस्दी हो त ऊ जति च्वाँक केटी पूरै सुन्दर बजारमा कोही छैन साप। …भगवानले पनि यतिको राम्री केटीलाई पागल नै चाहिं बनाउनु हुँदैनथ्यो…।’ उसलाई त्यसबेला नै आफू कुनै नौलो संसारमा प्रवेश गरेझैं लागेको थियो।
‘एउटा कुरा भनुँ साप?’
बच्चुले उसलाई कुनै गुढ कुरा भन्न लागेझैं साउती गर्यो। तर भन्ने बेलामा जोडसँग भन्यो, ‘साला यहाँका सबै मर्दहरु दिनमा लाटीसँग तर्किन्छन्। राति सबै मौकाको ताकमा बसेका हुन्छन्।’
त्यस कुराले उसलाई झन् भित्रैबाटै कुतकुत्याएको थियो। बच्चुले त्यसो भनिरहँदा ऊ पनि नहाँसी बस्न सकेन।
‘तर साप, सबै लाटीसँग डराउँछन्। किनकी लाटी कोहीसँग डराउन्न।’
उसको उत्सुकता झन्झन् बढिरहेको थियो।
‘…अरुको त के कुरा साप, मेरै पनि छ वटा छोराछोरीको टेन्सन नहुँदो हो भने मै बिताइदिन्थेँ।’
बच्चु त्यसपछि एक क्षण जोडले हाँस्यो। ऊ आफै पनि लाटीको एकोहोरो व्याख्यानले एकोहोरिएको थियो। केही क्षण पछि मात्र ऊ मुस्काएको थियो।
‘तर साप, उसले पुलिस देख्नै हुँदैन, ढुङ्गाले हिर्काउन थालिहाल्छे।’
उसको मनिस्थिति बुझेर होला। बच्चुले मुस्काउँदै भनेको थियो।
लगभग त्यसको एक महिनापछि उसले लाटीलाई बलात्कार गर्यो। एक महिनाभरिमा उसले सुन्दर बजारलाई राम्ररी बुझिसकेको थियो। बिसनाथ बाबुसँग पनि उसको राम्रो हिमचिम भइसकेको थियो। लाटी बच्चुले वर्णन गरेजस्तो राम्री त होइन तर उसका फक्रिन लागेका अङ्गहरु भने एउटा पुरुषको पुरुषत्वलाई हाँक दिनको लागि काफी थियो।
त्यो रात ऊ ढिलो गरी गस्तीबाट फर्कंदै थियो। लाटी एक्कासि गाडीको अगाडि उभिन पुगी। त्यसपछि दौडँदै नजिकैको अर्धभग्न अवस्थाको घरभित्र छिरी। जहाँ ऊ बस्ने गर्थी।
‘यसलाई डर लाग्दैन कि के हो?’ ऊ करायो।
‘डर लाग्ने भए त यो सद्दे भइहाल्थी नि साप।’ बच्चुले आफ्नै शैलीमा भन्यो।
त्यसबेलासम्म उसले सारा कुरा सोचिसकेको थियो। सबैभन्दा पहिले उसले गस्तीमा आफूसँग भएका जवानहरुलाई चौकीमा लगेर छोड्यो। त्यसपछि बच्चुलाई पुर्याउन उसको घर गयो। अनि ऊ सरासर लाटी बस्ने घरतिर हिड्यो। उसले गाडी अलि पर नै रोक्यो। चारैतिर नियाल्यो। सबैतिर सुनसान थियो। लाटी भने आफ्नै तालमा गुनगुनाइरहेकी थिई। उसको उपस्थितिदेखि पूरै बेखबर थिई।
एक्कासी आफ्नो अगाडि मान्छे पाउँदा सुरुमा लाटी आत्तिएर चिच्याई। तर, लगत्तै उसले लाटीको मुख थुनिदियो। त्यसपछि उसले लाटीका संवेदनशील अङ्गहरु चलाउन थाल्यो। पहिले त लाटीले प्रतिकार नै गरी। तर, ऊ यस्तो कुरामा अभ्यस्त थियो। आफ्नै स्वास्नीलाई समेत फकाएरभन्दा जबरजस्ती सम्भोग गर्न मन पराउँथ्यो।
सुरुमा प्रतिकारका लागि छट्पटाएकी लाटी क्षणभरमै उत्तेजनामा छट्पटाउन थाली। त्यसपछि उसले लाटीलाई सफलतापूर्वक बलात्कार गर्यो। त्यसपछि पनि ऊ दुई तिनपटक लाटीकोमा गएको थियो। ती सबै कुरा बच्चुलाई थाहा थियो।
त्यो साँझ ऊ बच्चुलाई लिएर भट्टीभित्र छिर्यो।
‘साला, लाटीले पेट बोक्दा पनि यति टेन्सन?’
उसलाई अझसम्म विश्वास लागिरहेको थिएन। लाटीले पेट बोक्न सक्छे भनेर उसले कल्पेको सम्म थिएन।
‘यसभन्दा अगाडि पनि तीनवटीलाई भ्याएकै हो। तर साला कसैले पनि पेट बोकिन।’
‘त्यसो भए पक्कै पनि तिनीहरु लाटी थिएनन् होला साप।’
‘हो ठिक भन्यो।’
सईले टाउको हल्लाउँदै भन्यो। त्यसपछि बल्ल बच्चुले भनेको कुरामा घोरियो। अनि बच्चुलाई गाली गर्दै कराउन थाल्यो, ‘साला, के ठान्छस्? लाटी–लाटीलाई मात्र खोजेर कामकुरो गर्ने सोचिस्?’
‘त्यसो होइन साप, यो केटी लाटी नहुँदी हो त आफ्नो पेटको व्यवस्थापन आफैंले नै गरिहाल्थी नि?’
सई घोरियो। उसलाई रक्सी लागिसकेको थियो।
‘साला लाटीलाई भ्याउँदा पनि यत्रो टेन्सन?’ ऊ आफैसँग बर्बरायो।
‘एउटा कुरा भनुँ साप?’
उसले सईको मुख ताक्यो। तर उसले हुन्छ नभन्दै भन्न थाल्यो, ‘यदि लाटीले जन्माएको बच्चाको अनुहार ठ्याक्कै तपाईंसँग मिल्यो भने न हो समस्या हुने, नत्र केको टेन्सन?’
बच्चुलाई पनि रक्सी लागिसकेको थियो। नत्र उसले यस्तो मूर्खतापूर्ण कुरा कहिल्यै गर्दैनथ्यो।
‘त्यसो भए त्यसले बच्चा नजन्माउन्जेल हातमा हात बाँधेर बसूँ? उता उसको पेटमा मेरो गलाको पासो बन्दै गर्छ र मचाहिँ त्यो कहिल्यै बाहिर आउला र मेरो घाँटी अँठ्याउला भनेर कुरेर बसूँ?’
अब भने बच्चु पनि गम्भीर भयो। एक क्षण घोत्लियो। अनि गाह्रोसँग डराउदै भन्यो, ‘साप, बिसनाथ बाबुसँग गफ गर्ने हो कि? उसले यस्ता कुरा मिलाउन खुब
जानेको छ।’
सई डरायो। तर फेरि गम्यो। कुरा ठिकै हो। बिसनाथ बाबुलाई ऊ चाहिन्छ र उसलाई बिसनाथ बाबु। त्यसपछि उसले आफूलाई अलि हलुका महसुस गर्यो। राति उसले बच्चुलाई आफ्नो क्वार्टरमा लग्यो। बच्चु रक्सी खाएपछि कहिल्यै घर जाँदैनथ्यो।
राति उसले सपनामा लाटीलाई नै देख्यो। सुरुमा त उसले बलात्कार गरेको तीन वटी केटीलाई देख्यो। त्यसपछि उसले आनी स्वास्नीलाई जबर्जस्ती गरेको सपना देख्यो। तर, जब सबै उत्तेजित अवस्थामा हुन्थे। सबै लाटीमा रूपान्तरित हुन्थे। सबै लाटी जसरी नै छटपटाउँथे। पीडामा लाटी जसरी नै चिच्याउँथे।
उसले बल गरेर लाटीलाई त्यहाँबाट हटाउन खोज्थ्यो। तर सबैलाई हटाउँदै लाटी त्यहाँ आइपुग्थी। अचानक लाटीले उसलाई अत्याउने गरी चिच्याउन थाली। एक्कासि लाटीको पेट ठूलो हुन थाल्यो। ऊ डरायो र त्यहाँबाट उठ्न खोज्यो। तर सकेन। लाटीको चिच्याईले आत्तिएर ऊ पनि चिच्याउन खोज्यो। तर उसको घाँटीबाट आवाज नै निस्केन। ऊ निस्सासिन थाल्यो। अन्तमा उसले आफ्नो शरीरको सारा बल एकत्रित गर्यो। र आफूलाई जोडसँग घचेट्यो। ऊ ओछ्यानबाट तल पछारियो। पुसको चिसो रातमा पनि ऊ पसिनाले भिजेको थियो। ओछ्यानमा भने बच्चु अझै मस्त घुरिरहेको थियो।
‘साली, सपनामा पनि तर्साउँछे।’ ऊ आफैसँग बर्बरायो।
‘अहिले गएर सालीको पेटमा दुई चार लात दिन्छु, टण्टै साफ।’
ऊ बाहिर निस्क्यो। चिसो सिरेटोले उसको नशा तत्क्षणमै गायब भयो। उसले घडी हेर्यो। बिहानको चार बज्न लागेको थियो। तर जाडोले गर्दा मध्यरातझै“ सुनसान थियो। ऊ सरासर लाटी बस्ने घरतिर हिँड्न थाल्यो। उसको हिँडाइसँगै उसको मुटुको गति पनि तीव्र हुन थाल्यो। पूर्णिमाको उज्यालोमा त्यो अर्धभग्न घर पनि लाटीजस्तै लाग्यो उसलाई।
ऊ नजिकै पुग्यो। लाटी घरको एउटा भित्तोमा टाँसिएर सुतेकी थिई। चिसोले घोप्टिएर सुत्दा घुँडाले उसको पेट छोएको थियो। त्यो पेट उसलाई चलमलाएझैं लाग्यो। एक क्षणसम्म ऊ त्यसै उभिरह्यो। मानौं कुनै ठूलै बोझले थिचेको थियो उसलाई। चिसो रातमा फेरि एकपटक पसिनाले भिजेको थियो ऊ। खै कुन अदृश्य शक्तिले रोकेको थियो उसलाई। त्यहाँबाट उसको पाइला उठेन। उसले उठाउनै सकेन। पर मन्दिरमा घण्टा बजेपछि ऊ झसङ्ग भयो। मानिसहरु बिउँझन थालिसकेका थिए। ऊ हतारहतार त्यहाँबाट फर्कियो।
ऊ फर्किंदा बच्चु उठिसकेको थियो। उसलाई त्यहाँ नपाएर आत्तिइरहेको थियो। पसिनाले निथु्रक्क भिजेको उसको शरीर र थकित अनुहार देखेपछि ऊ झन् आत्तियो।
‘के भयो साप?’
‘आज बिसनाथ बाबुलाई जसरी पनि भेट्नु छ।’
उसले यति मात्र बोल्यो र ओछ्यानमा पछारियो।
सर रामप्रसाद शर्मा
‘यो सबै त्यो झरीले गर्दा हो।’
ऊ बर्बरायो। उसका विद्यार्थीहरु अलमलिए। केही दिनदेखि त्यसरी नै बर्बराउन थालेको थियो ऊ। पुसको महिनामा पनि कस्तो झरी?
‘सर के भयो?’
एकजना विद्यार्थीले उठेरै सोध्यो। केही दिनदेखि निकै नै फरक हुन थालेको थियो ऊ। त्यो कुराको अनुभव उसका विद्यार्थीहरुले समेत गर्न थालेका थिए। जसले उसलाई झनै तनाव दिएको थियो।
‘केही होइन।’
ऊ झन् हडबडायो। कक्षाबाट आत्तिंदै निस्क्यो। सरासर आफू बस्ने कोठातिर गयो। सुन्दर बजारको त्यस स्कुलमा बाहिरबाट आएर पढाउने ऊ एक मात्र शिक्षक थियो। त्यसैले ऊ स्कुलकै एउटा कोठामा बस्थ्यो। ऊ कोठाभित्र पस्यो। चुकुल लगायो। ओछ्यानमा डङ्ग्रङ्ग ढल्यो। त्यस पछि फेरि बर्बराउन थाल्यो।
‘यो सब त्यै झरीले गर्दा हो।’
उसले छ महिनाजति अगाडिको कुरा सम्भि्कन थाल्यो। साउनको महिना थियो त्यो। त्यो राति पनि ऊ बिसनाथ बाबुको घरमा ट्युसन पढाएर फर्किँदै थियो। एक्लै बस्ने भएकाले प्रायजसो बिसनाथ बाबुकै घरमा खान्थ्यो। त्यसैले प्राय ऊ ढिलो नै फर्किने गर्थ्यो। यसै पनि झरीको मौसम थियो। फर्किने बेलामा एक क्षण झरी रोकिएकाले ऊ हतारहतार हि“डिरहेको थियो। लाटी बस्ने घरअगाडि पुग्ने बित्तिकै पानी जोडले पर्न थाल्यो। ऊ दौडँदै त्यो घरभित्र पस्यो। त्यतिबेला त्यहाँ कोही पनि थिएन।
उसले आफ्नो शरीरको पानी टक्टकायो। बेलाबेलामा लाग्ने पानीसहितको हावाले उसलाई चिसोको अनुभूति गरायो। उसले खल्तीबाट चुरोट झिक्यो र सल्काउन खोज्यो। त्यहीबेला लाटी खुर्र दौडेर आई। ऊ तर्स्यो। उसको मुखबाट चुरोट पनि खस्यो।
‘धत् लाटी कँहिकी।’
उसले लाटीलाई हकार्यो। चुरोट पनि टिप्यो। लाटी भने ऊ तर्सेको सुनेर ताली बजाउँदै हाँस्न थाली। अँध्यारोले केही पनि देखिंदैनथ्यो। तर पनि पानीको रुझानले गर्दा निस्केको लाटीको शरीरको मयलको गन्धले भने ऊ नराम्ररी झस्क्यो। लाटी उसको नजिक नै आइसकेकी थिई।
‘के चाहियो?’
उसले हकारेर सोध्यो। लाटीले उसको चुरोटतिर हात बढाई। उसले हतपत चुरोट लाटीलाई थमाइदियो। लाटी फेरि जोडसँग हाँसी र चुरोट तान्न थाली। एक दुई सर्को तान्नेबित्तिकै लाटी खोक्न थाली। सायद पहिलो पटक चुरोट खाएकी होली। उसले हतारहतार चुरोट फेरि उसैलाई थमाइदिई। त्यसबेलासम्म ऊ लाटीको गन्धले लठ्ठिइसकेको थियो। चुरोट हातमा लिनेबित्तिकै उसलाई बडो सकस अनुभव भयो। एक क्षण उसले चुरोटलाई नियाल्यो अनि बिस्तारै ओठमा च्याप्यो। त्यतिबेला बडो रोमाञ्चित अनुभव
गर्यो उसले।
‘तँलाई त चुरोट खान पनि आँउदैन। आइज बस! तँलाई म चुरोट खान सिकाँउछु।’
उसले लाटीसँग लाडिएर भन्यो। लाटीलाई आफूसँग टँसाउँदै बसायो। उसले चुरोटको सर्को तान्यो र त्यसको धुवाँ लाटीको ओठ नजिकै लगेर बिस्तारै छोड्न थाल्यो। यो क्रम केही बेरसम्म उसले निरन्तर दोहोर्याइरह्यो।
शरीरको आफ्नै भाषा हुन्छ। त्यसको आफ्नै बुझाइ पनि हुन्छ। उनीहरु जतिजति बुझ्दै गए, त्यतित्यति अभ्यस्त हुँदै गए। उसलाई कुनै भाषाको जरुरी नै परेन।
त्यो रात लाटीले उसलाई छोड्नै मानेकी थिइन। बडो अप्ठयारोसँग फुत्किएको थियो ऊ त्यहाँबाट। त्यसपछिका केही दिनसम्म त ऊ लाटीको अगाडि नै परेन। तर जब रात पर्थ्यो। उसलाई त्यो रातको रोमाञ्चकताले बिथोल्न थाल्थ्यो। लाटीको छटपटाहटले उसलाई शान्तसँग सुत्न दिएन। लाटीका सुस्केराहरुले उसलाई पछिसम्म उद्वेलित गराउन थाल्यो।
त्यसपछि फेरि ऊ लाटीकोमा जान बाध्य भयो। निरन्तर गइरह्यो। यो क्रम तबसम्म रोकिएन जबसम्म लाटीको पेट देखिएन, मानिसहरुले तिनको पेटको कुरा गर्न थालेनन्।
‘यो सब त्यो झरीले गर्दा हो।’
त्यहीबेला कसैले ढोका ढक्ढकायो। ऊ उठ्यो। र दुवै हातले आफ्नो अनुहार पुछ्यो। मानौं, उसले आफ्नो तनाव पुछ्न चाहेको होस्। उसले ढोका खोल्यो। अगाडि हेडसरलाई देखे पछि नमस्कार गर्यो।
‘के भयो तपाईंलाई? सन्चो छैन कि कसो?’
हेडसरले उसको अनुहार हेर्दै सोध्यो। ऊ हाँस्न खोज्यो। तर उसको ओठबाट मुस्कान निस्कँदै निस्केन।
‘विद्यार्थीहरु भन्दै थिए, तपाईं त एक्कासि क्लासबाट निस्किनु भयो अरे?’
ऊ झसङ्ग भयो। के के गर्यो उसले तनावमा?
उफ! यसरी त मानिसहरुले ऊमाथि झन् शङ्का गर्न सक्थे।
‘केही होइन सर। यसो अलि टाउको दुखेको थियो।’
उसले आफूलाई सम्हाल्दै सानो स्वरमा भन्यो।
‘यसरी एक्लै बसेपछि त झन् टाउको दुखिहाल्छ नि। बरु हिंड्नोस्, अफिसतिर जाउँ कि! त्यहाँ अरू सरहरू पनि हुनुहुन्छ। गफ गर्नुस्, फ्रेस हुनुस्। तब पनि निको भएन भने क्लिनिकमा चेक गर्नुहोला।’
ऊ केही बोल्न सकेन। लुरुलुरु हेडसरको पछि लाग्यो। अफिसमा अरू सरहरु हाँसेको उसले परैबाट सुन्यो। अलि नजिक पुगेपछि तिनीहरुले गरेका गफ पनि प्रष्टै सुनिन थाले।
‘लाटीले पेट बोकेको पनि यही जुनीमा देख्न पाइयो। अब यो भन्दा पनि कलियुग केही हुन्छ?’
त्यो संस्कृत पढाउने सरको आवाज थियो। त्यहाँ पनि लाटीकै चर्चा? उसको पैतालाको चाल निकै नै गह्रुङ्गो भयो। अफिसभित्र प्रवेश गर्दा ऊ रातो भइसकेको थियो। हेडसर आफ्नो कुर्सीतिर लम्क्यो। ऊ भने सरहरु बसेको बेन्चको एउटा कुनामा बस्यो।
‘अरे के कुरा गर्नु हुन्छ? तपाईंहर्को पुराणमा माछाले पेट बोक्न हुन्छ। यहाँ जाबो लाटीले पेट बोक्न नहुने?’
एक जना सरले उसको कुरा काटेपछि सबै जोडसँग हाँस्न थाले।
‘छि…छि…, सरले पनि कस्तो कुरा गर्नुभएको? त्यो जमाना अर्कै थियो, यो अर्कै हो। कलियुगमा पेट बोक्न धेरै थोक गर्नुपर्छ। लाटीको अनुहार सम्झनुस् त, परैबाट पायरिया गन्हाउँछ।’
संस्कृत सरको बोलाइको तालसँगै उसको दाह्री पनि हल्लिरहेको थियो।
‘अरे सर पेट बोक्नलाई कहाँ अनुहार चाहिन्छ? अर्कै कुरा चाहिन्छ।’
त्यसपछि सबै अट्टहास गर्दै हाँस्न थाले। संस्कृत सर पनि हाँस्न थाले। आफ्नो गरिमाको ख्याल गर्दै हेडसर पनि मुख लुकाएर हाँस्न थाल्नुभयो। त्यहाँ नहाँस्ने केवल ऊ मात्र थियो।
‘यो ठट्टाको विषय होइन।’
सबैको हाँसो थामिएपछि हेडसर गम्भीर देखिए।
‘कसैको निम्ति पनि यो राम्रो कुरा होइन। न हाम्रो निम्ति, न त यो समाजको निम्ति। अरू गाउँका मानिसहरुले समेत कुरा काट्न थाले। गर्नेले केही क्षणको मजा गरे पनि त्यसको परिणाम सबै समाजले कदापि बेहोर्दैन। ढिलोचाँडो थाहा भइ नै हाल्छ त्यो कसको पेट हो भनेर। अचेल त कति थरिका टेस्टहरु पनि चलेको छ। बच्चा जन्मेपछि त्यसको बाउको ठेगान कसो न लाग्ला?’
हेडसरले बोलेका प्रत्यक शब्दहरुले उसको मुटुमा सुलझैं घोच्न थाल्यो।
‘ए, साँच्चै शर्मा सर…!’
हेडसरले उसैलाई बोलाएपछि ऊ झस्क्यो।
‘बिसनाथ बाबुले पञ्चायतीका बारेमा तपाईंसँग केही गफ गरे कि गरेनन्? तपाईं त त्यहाँ दिनदिनै गइरहनु हुन्छ।’
केही दिनदेखि बिसनाथ बाबु तनावमा देखिन्थे। तर, ऊ आफै पनि तनावमा भएकाले खासै वास्ता पनि गरेको थिएन। त्यसैले तिनीहरुबीच दोहोरो कुराकानी खासै भएको थिएन।
‘खै, केही दिनदेखि आफै तनावमा देखिनुहुन्छ। खासै त्यस्तो कुराकानी केही भएको छैन,’ उसले बिस्तारै भन्यो।
‘उहाँ चाँहि किन तनावमा हुनु नि? लाटीको पेट कही“ उहाँकै त होइन नि?’ एउटा सरले फेरि ठट्टा गर्दै भन्यो।
‘कस्तो कुरा गर्नुहुन्छ तपाईं पनि? राजनीति गर्ने मान्छे, आफ्नै ठाउँमा यस्तो घटना घटेपछि चिन्ता त भइहाल्छ नि। नत्र विपक्षीहरुले यसलाई चुनाबमा प्रचारको विषय बनाइहाल्छन्।’
हेडसरले सारा राजनीति बुझेझैं गरी सम्झायो। तर उसलाई राजनीतिभन्दा पनि पञ्चायती शब्दले बढी नै आतङ्कित गरायो। विभिन्न सम्भावनाहरुले ऊ घोरिन थाल्यो। लाटीको पेट उसको हो भन्ने थाहा पाउने बित्तिकै पञ्चायतीले उसलाई लाटीसँग विवाह गर्न बाध्य पार्थ्यो। त्यसको कल्पनाले समेत उसको शरीरमा काँडाझैं उम्रन थाल्यो।
सर भनेर कत्रो प्रतिष्ठा छ उसको? अझ बिसनाथ बाबुसँगको सम्बन्धले त सुन्दर बजारमा उसको शान नै बेग्लै थियो। घरबाट पनि बिहा गर, केटी खोज्दिन्छु भनेकै हो। उसैले हो नमानेको। सुन्दर बजारमा कम्तीमा पनि एउटा घर बनाएर मात्र बिहा गर्ने रहर थियो उसको। सारा भविष्य अन्धकार देख्न थाल्यो उसले।
‘तपाईं हामीले बिसनाथ बाबुको चिन्ता के लिनु हुन्छ? ऊ जतिको खुराफाती दिमाग भएको मानिस पूरै जिल्लामा कोही छैन। चाल चाल्नमा त ऊ शकुनीको पनि मामा हो।’
बडो अनुभवी शैलीमा संस्कृत सर बोल्न थाल्यो।
‘यदि त्यो पेट बिसनाथ बाबुकै हो भने पनि अरूलाई जिम्मा लगाउन सक्ने खुबी छ उसमा, कि कसो शर्मा सर?’
ऊ झस्क्यो। संस्कृत सरले बोलेको सम्झ्यो र अनायासै मुस्कायो। त्यसरी निकै दिनपछि मुस्काएको थियो ऊ। मनमनै आफुसँग भन्यो, ‘आज जसरी पनि बिसनाथ बाबुसँग गफ गर्छु।’
बिसनाथ बाबु
त्यो दिन झरी परिरहेको थियो। जब बिसनाथ बाबुले पहिलो पटक लाटीलाई देखेको थियो। झरीमा रुझिरहेकी लाटीले ऊभित्र यस्तो आगो बालिदियो कि उसले त्यसलाई जति निभाउन खोज्थ्यो त्यो त्यति नै सल्कन थाल्यो।
लाटी फोहोरी थिई। झुम्री थिई। सायद कति दिनदेखि नुहाएकी पनि थिइन। धुलो र मयलले तिनको शरीर तथा कपालको रङसमेत थाहा हुन्थेन। तर लाटी तरुनी थिई, जुन ऊ वर्षाको पानीमा रुझेको बेला सबैभन्दा बढी थाहा हुन्थ्यो।
उसको शरीरको बनावटले बिसनाथको मनिस्थितिलाई कसरी खलबल्याइदियो भने उसले त्यस दिन आफ्नी स्वास्नीलाई सबैभन्दा नराम्री देख्यो। झोल्लिएको छाती, निस्केको पेट, चाउरिएको छाला, नाभीभन्दा तल अनगिन्ती सेता धर्साहरु, मानौं ती कुनै धारिलो चक्कुले चिरिएर बनेका घाउका डामहरु हुन्। राम्ररी नकोरिएको कपाल सबै एकै पटक ख्याल गर्यो उसले।
पहिले त ऊ स्वास्नीबाट नै सन्तुष्ट थियो। तर लाटीलाई देखेको दिनदेखि स्वास्नीतिर फर्केर सुत्न छोडेको थियो। पछि त छोराछोरीको कारण देखाई ओछ्यान पनि फेर्यो। तर आफ्नो राजनीतिक जीवनको लागि निकै सजग थियो ऊ। सुन्दर बजारको एक किसिमले राजा नै थियो। पार्टीभित्र पनि उसको पकड राम्रै थियो। त्यसैले आउँदो संसदीय निर्वाचनमा उसले टिकट पाउने कुरा पक्का थियो।
दिनभर पार्टीको कार्यक्रममा व्यस्त भए पनि राति भने लाटीतिरै एकोहोरिन्थ्यो। जति बिर्सन खोज्दा पनि सकेन। जसले उसको छटपटीलाई झन् बढायो। अन्तमा लाटीकोमा जाने निश्चय गर्यो। त्यसका लागि व्यापक तयारी पनि गर्यो उसले।
एड्सको रोकथामका निम्ति जनचेतना जगाउने अभियान चलाउँदा उसले निकै नै कन्डम जम्मा पारेको थियो। लाटीलाई फकाउन गाह्रो नहोस् भनेर भियाग्राको औषधी पनि किन्यो। राति अजीब किसिमका लुगामा निस्कन लाग्दा उसकी स्वास्नीले नसोधेकी पनि होइन तर पार्टीको कार्यक्रममा जान लागेको भनेर ढाँट्यो उसले। चिनेपछि लाटीले अप्ठ्यारोमा पार्न सक्छे कि भनेर मास्क पनि लगायो।
एक्कासि त्यस्तो अचम्म लाग्दो मानिस देखेपछि लाटी आत्तिएर चिच्याई। तर मध्यरातमा लाटीको चिच्याइसँग कसको वास्ता? लगत्तै उसले ल्याएको खानेकुरा देखेपछि लाटी लोभिई पनि। उसले त्यससँगै भियाग्राको औषधी पनि मिसायो। केही क्षणमै लाटी उत्तेजनामा छटपटिन थाली। लाटीको उत्तेजनालाई थेग्न उसले पनि त्यो औषधी खायो। त्यसपछि बडो सहज र सजगताका साथ उसले लाटीसँग सम्भोग गर्यो। त्यसपछि पनि ऊ पटकपटक त्यहाँ गएको थियो।
लाटीको पेट देखिन थालेपछि निकै तनावमा थियो ऊ। सबैभन्दा तनाव त उसलाई त्यस कुराले गरायो– सारा साधन अपनाउँदा पनि लाटीले पेट कसरी बोकी? एक वर्षभित्र चुनाव हुँदै थियो। त्यतिबेलासम्म त लाटीले बच्चा पनि जन्माइसक्ली। त्यसभन्दा अगाडि नै उसले केही गर्न चाहन्थ्यो। तर गर्ने के? उसले अझैसम्म केही निश्चय गर्न सकेको थिएन। यो त्यस्तो काम थियो जुन उसले कसैलाई नभनीकन आफै गर्नुपर्थ्यो। तर जब उसले आफूलाई एक्लो ठान्थ्यो, आफैलाई सबैभन्दा निरीह पनि पाउँथ्यो।
त्यस दिन बिहानै सई प्रेमबहादुर थापालाई एक्कासी आफ्नो बैठक कोठामा देखेपछि ऊ चिसो भएको थियो। सई पनि तनावमै देखिन्थ्यो। लाटीकै विषयमा कुरा गर्न आएको त होइन? कहीँ ऊमाथि नै शङ्का गरिएको त छैन? बिहानको फक्रिँदो उज्यालोमा पनि अँध्यारिँदै गइरहेको थियो।
‘बिसनाथ बाबु, केही जरुरी गफ गर्नु थियो।’
सईले अप्ठ्यारोसँग बोलेको मात्र सुन्यो उसले। ऊ आफै पनि आफूभित्रको तनाव लुकाउन सङ्घर्षरत देखिन्थ्यो। उसले केही बोलेन। भन्नका लागि इसारा मात्र गर्यो।
जब सई बोल्न थाल्यो, उसको अनुहारको भाव परिवर्तन हुन थाल्यो। कहिलेदेखि मुर्झाएको अनुहार एक्कासL फक्रिन थाल्यो।
‘तब त…’
उसले आवेशमा टेबल ठोक्यो। काम गर्नेले भर्खरै राखेर गएको दुई वटा चियाको गिलासमध्ये एउटा घोप्टियो। लगत्तै उसले आफूलाई सम्हाल्यो।
सई भने उसको प्रतिक्रिया देखेर अलमलियो। जसले उसको तनावलाई झनै बढायो। तर बिसनाथ बाबुले भने उत्साहित हुँदै काम गर्नेलाई बोलायो। टेबल सफा गर्न लगायो र अर्को कप चिया पनि मगायो।
‘अरे सई साहब, चाय लिनुस्।’
तर सईको भने ओठ मुख सुकिसकेको थियो। बिसनाथ बाबुको अप्रत्यासित व्यहवार देखेर ऊ झन् आत्तिएको थियो।
‘म धेरै तनावमा छु बिसनाथ बाबु। कति रातदेखि राम्ररी सुत्न सकेको छैन। तपाईंसँग ठूलो आश गरेर आएको छु।’
‘अरे चिन्ता–सिन्ता छोड्नुस्,’ बिसनाथ बाबुले उसलाई रोक्दै भन्यो।
‘तपाईंलाई हामी चाहिन्छ अनि हामीलाई तपाईं। म जाबो त्यति काम पनि नगरौं ला त। …आखिर निवेदन तपाईंको थानामा परेकै छ। सोच्ने म छँदैछु। कुनै उपाय निस्केपछि कुराकानी अगाडि बढाउँला। यसमा तनावको के कुरा छ र?’
बिसनाथ बाबुले त्यति भने पछि सईले चैनको सास फेर्यो।
‘तर तपाईं जत्तिको मान्छेले यस्तो गर्नु हुँदैनथ्यो। गर्दा पनि बजारमा यतिका धेरै साधनहरु…।’
त्यसपछि बिसनाथ बाबुले सईलाई नैतिकतादेखि कन्डम प्रयोगसम्मको लम्बेतान व्याख्यान दियो। सई भने टाउको निहुर्याएर सुनी मात्र रह्यो। जबसम्म बिसनाथ बाबुले जान भनेन, तबसम्म ऊ त्यहाँबाट गएन।
अर्को दिन सर रामप्रसाद शर्मा आयो। अब भने उसलाई अचम्म लाग्न छोडिसकेको थियो। किनकी सुरुमा लाटीलाई भोग्ने ऊ आफू एक्लो हुँ भन्ने ठान्थ्यो। तर, जब सई प्रेमबहादुर थापा आयो, त्यतिबेलै अरू पनि आउन सक्ने अनुमान उसले गरेको थियो। तर उसले रामप्रसाद सरको अपेक्षा भने गरेको थिएन। ऊ त त्यस्तो मानिसको खोजीमा थियो, जसलाई लाटीको पेट जिम्मा लगाउन सकियोस्।
त्यसको केही दिनपछि सुन्दर बजारकै सबैभन्दा ठूलो व्यापारी सीताराम अग्रवाल आयो। तर ऊ आनो लागि नभएर छोराको लागि आएको थियो। जो एक रात त्यहाँको नामी रेस्टुरेन्टबाट रक्सी खाएर फर्किंदा लाटीकोमा पसेको थियो।
सबैभन्दा अन्तिममा आएको थियो पण्डित चन्द्रकान्त झा। ऊ पुरै सुन्दर बजारमा एक मात्र पुरोहित थियो। त्यसले बिसनाथ बाबुलाई रिस र अचम्म दुवै एकै पटक पार्यो। वर्ष दिनअगाडि मात्र तिनै चन्द्रकान्त झाले उसको आमाको क्रिया गरेको थियो। एक रात ढिलो गरी जजमानीबाट फर्किंदा लाटीसँग रात बिताएको थियो।
त्यसरी बिसनाथ बाबुकोमा आउने प्रायः एक किसिमले साँठगाँठ राख्नेहरु नै थिए। त्यसैले लाटीको पेटको जिम्मा लगाउन मिल्ने एक जना मानिस पनि उसले पाएन। त्यो पेट तिनीहरुमध्ये जो कसैको पनि हुन सक्थ्यो। समय जति बित्न थाल्यो, तिनीहरु पनि त्यति नै आत्तिन थाले। अन्तमा उसले सई प्रेमबहादुर थापासँग सल्लाह गरेर पञ्चायतीको मितिको घोषणा गर्यो।
सुर्जा चमार
‘ए हजुर! सुन्ने कोही हुनुहुन्छ? लाटीको पेट मेरै हो। म जहाँ पनि कबोल्न तयार छु। लाटीको पेट मेरै हो।’
त्यसपछि ऊ जोडले रुन थाल्यो। मध्य रातमा उसको रुवाइको आवाज चर्को भयो।
‘माचि… यति राति कराउँछ।’
हवल्दार आँखा मिच्तै उठ्यो र छेवैमा सुतिरहेको सिपाहीलाई एक लात्ती दियो। सायद कुनै सपना देखिरहेको थियो उसले। तर्सिँदै उठ्यो।
‘जा! तेरो बाऊलाई गएर हेर! के भयो?’
सिपाही गयो। उसले ढोका खोल्यो। कोठाको ठिक्क बिचमा एउटा ट्रकको टायर झुन्डिएको थियो र टायरको बिचमा झुण्डिएको थियो सुर्जा चमार। पूरा नाम सुरज कुमार मोची ‘चमार’। हात र खुट्टा दुवै बाँधिएका थिए उसका। केवल मुख र आँखा खुला थिए। जहाँबाट क्रमशः र्याल र आँसु निरन्तर बगिरहेको थियो।
‘ए हजुर, लाटीको पेट मेरै हो। म जहाँ पनि भन्न तयार छु। तर मलाई यहाँबाट झार्नुस्।’
तर सिपाही उसको नजिक पनि गएन।
‘भो भो नकरा! मैले खोल्न मिल्दैन। हल्दार सापलाई बोलाएर आउँछु।’
त्यसपछि ऊ कराएन। तर उसका आँखाबाट आँसु र मुखबाट र्याल भने बग्न छोडेन।
सबै कुरा यो एक दिनमै कसरी भयो? यति अचानक कसरी भयो? कहाँ बिरायो उसले? अहँ उसको दिमागले उसलाई कुनै कुराको उत्तर दिएन। उसले सबै कुराहरु बिस्तारैै सम्झन थाल्यो। बिहानसम्म पनि उसलाई त्यसको पूर्वानुमान समेत थिएन। उसका आना बाआमा थिएनन्। काकाको घरमा बस्थ्यो। एकाबिहानै ऊ आनो काकासँग घर बनाउनका लागि चाहिने करनी, हथौडा, छेनी र तेगारहरु बोकेर सुन्दर बजार आएको थियो।
उसको काकाले अर्को मजदुरलाई पर्खाल पानीले भिजाउन लगाउँदै थियो। ऊ भने बालुवा र सिमेन्ट मिसाउँदै थियो। त्यही बेला बिसनाथ बाबुको कान्छो भाइ शिवनाथ उसलाई खोज्दै त्यहाँ आयो। काम सकेर साँझ आउँछु भन्दा पनि मानेन उसले। बिसनाथ बाबुले उनीहरु जस्तो मानिसलाई विरलै बोलाउने गर्थ्यो। उसको मुटुको गति त्यसबेलादेखि नै बढ्न थालेको थियो।
‘जा न त! मालिकले केही काम परेर नै त बोलाउनु भएको होला नि?’ काकाले समेत यसो भनेपछि ऊ गएको थियो। ऊ पुग्दा त्यहाँ अलि भिडभाड नै थियो। नजिकै एउटा प्रहरीको गाडी थियो। उसलाई सिधै बैठक कक्षमा लगियो। ऊ पुग्ने बित्तिकै बिसनाथ बाबुले सई प्रेमबहादुर थापाबाहेक अरू सबैलाई त्यहाँबाट जान भन्यो।
‘कि रे सुर्जा अचेल तँ पगल्नीसँग बहुत छेडखानी गर्छस् रे?’ सबै त्यहाँबाट निस्केपछि बिसनाथ बाबुले उसँग जिस्कँदै सोध्यो। अघिसम्म ऊ अन्योलमा थियो। बिसनाथ बाबु त्यसरी जिस्केको देखेर अचम्ममा पर्यो।
‘कहाँ मालिक, हामीसँग फुर्सत कहाँ छ र जिस्किनु? …यसो अगाडि परेको बेला एक दुई बात भनेर लाटीलाई चिढाउनु अलग कुरा हो।’
‘अनि तेरो एक दुई बातले नै लाटीले पेट बोकी त?’
अब भने ऊ नराम्ररी झस्क्यो। कस्तो मजाक हो यो? उसले चारैतिर अँध्यारो देख्न थाल्यो। बिसनाथ बाबु अझै हाँसिरहेको थियो। उसको निलो आँखामा षडयन्त्रको ठूलै खाडल देख्यो सुर्जाले, जहाँ ऊ भाँसिदै थियो। उसको ओठमुख सुकिसकेको थियो। उसले दुवै हात जोडेर भक्भकाउँदै बिन्ती गर्न थाल्यो।
‘के भन्दै हुनुहुन्छ मालिक? लाटीको पेट? मैले सपनामा समेत लाटीलाई त्यो नियतले देखेको छैन।’
‘ढाँटेर कति जनालाई बेबकूफ बनाउँछस् हँ तै“ले?’
सुर्जाको बिन्तीले उसलाई कुनै प्रभाव पारेन।
‘उहाँ सई साहब आफैंले गस्तीबाट फर्किंदा तँलाई लाटीकोमा जाँदै गरेको देख्नु भएकै हो, कि कसो सई साहब?’
बिसनाथ बाबुले एक्कासि बोलाएपछि सई प्रेमबहादुर थापा झस्कियो। अनि कपाल कन्याउँदै भन्यो, ‘हो, बिल्कुल हो।’
‘अरे उहाँ मात्रै किन? रामप्रसाद सर चिन्छौ? उहाँले पनि यहाँबाट टिउसन पढाएर फर्किदाँ तँलाई लाटीकोमा देख्नु भएको रहेछ। अग्रवालजीको छोरा…, पण्डित चन्द्रकान्त झा…।’
अब भने उसलाई फँसाइँदैछ भन्ने बुझ्न गाह्रो भएन। अगाडि बिसनाथ बाबु धाराप्रवाह बोलिरहेको थियो। उसलाई भने आफू कुनै विराट अन्धकारमा भासिइरहेको अनुभव भइरहेको थियो।
‘अब तँ आफै भन्, यतिका मानिसहरुले देखेको पनि झुटो भयो?’ बिसनाथ बाबुले उसलाई गहिरिएर हेर्दै सोध्यो। तर उसको भने बक नै फुटेन।
‘अरे चिन्ता किन गर्छस्? जवानीमा गल्ती त जसको पनि हुन्छ। आखिर लाटी नराम्री पनि त छैन। त्यतिको राम्री केटी त तैँले आफ्नो चमारमा डिबिया बालेर खोज्दा पनि पाँउदैनस्। मेरो कुरा मान्। पञ्चायतीमा लाटीको पेट कबोल गर। त्यहाँबाट केही पैसा पनि उठाइदिँउला। अनि कहीँ टाढा गएर घरजम गरेर बस्।’
‘ना, मालिक ना। म अर्काको पेटको जिम्मा लिँदिन।’
उसले बिस्तारै तर ठाडो स्वरमा भन्यो। अनि सिधै बिसनाथ बाबुको अनुहारमा हेर्यो। उसको मुस्कान गायब भएको थियो। उसका निला आँखा झन् बल्न थाल्यो। रिसले उसको ओठ फर्फराउन थाल्यो। तर उसले आफूलाई सम्हाल्यो र सुर्जाको काँधमा हात राख्दै भन्यो, ‘मैले तेरै लागि हो भनेको। थानामा तेरोविरुद्ध उजुरी परेको थियो। सई साहबले त सिधै समातेर लान्छु भनेको थियो। मैले हो रोकेको। अब मेरै कुरा मान्दैनस् भने त म के गरुँ? लानुस् सई साहब।’
यति भन्दा सईले उसको कठालो समातिसकेको थियो। ऊ हल्लिन मात्र के खोजेको थियो, सईले उसको ढाड नै भाँचिने गरी एक लात्ती दियो। ऊ पीडाले चिच्यायो। उसको चिच्याइसँगै अरू प्रहरीसमेत भित्र पसे। उसलाई कुट्दै भ्यानमा हाले। उसको चिच्याइसँगै कुटाइ पनि तीव्र हुन थाल्यो। उसको होस रहुञ्जेलसम्म कुटाइ खाएको थाहा थियो उसलाई। उसका आँखाअगाडि बिस्तारै अँध्यारो छाएको थियो। दिमाग फनफनी घुमेको थियो। रिङ्गटाले बान्ता आउलाजस्तो भएको थियो। त्यतिबेलासम्म पनि उसको शरीरमा लात र मुक्का बज्रेकै थियो।
होसमा आएपछि उसले आफूलाई त्यस टायरमा झुन्डिएको पायो। उसको पेट नराम्ररी दुखेको थियो। एकपटक त रगतको बान्ता पनि गर्यो। त्यसपछि ऊ नराम्ररी झस्क्यो। अनि चिच्याउन थाल्यो। त्यसको निकै बेरपछि सई र हवल्दार दुवै आए। सईको हातमा एउटा सेतो कागज पनि थियो।
‘भनेपछि लाटीको पेट तेरै हो। होइन त?’
हवल्दारले उसको पेटमा लठ्ठीले घोच्दै सोध्यो। ऊ पीडाले फेरि चिच्यायो।
‘ए छोड्दे!’ सईले उसलाई रोक्यो।
‘चाँडो यो कागजको बेहोरा सुनाएर औंठाछाप लगाइहाल्।’
‘हजुर सुन्नु छैन मलाई। जहाँ भन्नुहुन्छ म त्यहीँ औंठाछाप लगाउँछु। पहिले मलाई यहाँबाट झार्नुस्।’
सुर्जाले रुँदै भन्यो। सईले आदेश दिएपछि तिनीहरुले उसलाई झार्यो। उसका हात र खुट्टाहरु खोलिए। ऊ उभिन खोज्यो। तर उसका खुट्टाहरु थर्रर कामे। ऊ भुइँमा ढल्यो। प्रहरीहरुले उसलाई त्यहाँ भएको ओछ्यानमा राखे। सईले दिएको कागजमा औ“ठाछाप लगाए र उसलाई त्यत्तिकै छाडेर हिडे।
०००
त्यसको केही दिनपछि स्कुलको चौरमा पञ्चायती बस्यो। विषय अलि अनौठो भएकोले वरपरका गाउँबाट समेत मानिसहरु आएका थिए। यति धेरै मानिसका बीचमा लाटी भयभित देखिन्थी। अझ उसलाई समातेर ल्याइएको हुनाले बेलाबेला ऊ चिच्याउँथी पनि। सुर्जालाई भने एउटा कुनामा बाँधेर राखिएको थियो। त्यहाँ अरू बेलाको पञ्चायती जस्तो वादी र प्रतिवादी कोही थिएन। बिसनाथ बाबुले सुर्जाले औंठाछाप लगाएको कागजको बेहोरा पढेर सुनायो। अनि सबैलाई सुनिने गरी कबोल्न पनि लगायो।
त्यसपछि लाटी र सुर्जालाई के गर्ने विषयमा छलफल हुन थाल्यो। प्रस्ताव बिसनाथ बाबुले नै ल्यायो। उसैले लाटी र सुर्जाको विवाह गरिदिने र सुन्दर बजारबाट टाढा छाडेर आउने प्रस्ताव ल्यायो। विवाहका लागि चाहिने खर्चका लागि त्यहाँका प्रत्येक घरबाट चन्दा उठाउने प्रस्ताव पनि ल्यायो। त्यसमा सबै सहमत भए।
सुन्दर बजारमै सबैभन्दा बढी चन्दा सीताराम अग्रवालले दियो। लाटी र सुर्जाको विवाह त्यहाँको राम मन्दिरमा धुमधामसँग भयो। तिनीहरुको विवाह पण्डित चन्द्रकान्त झाले गरायो। तिनीहरुलाई सुन्दर बजारबाट टाढा छोड्ने जिम्मा सई प्रेमबहादुर थापाले लियो। उसले तिनीहरुलाई बोर्डर कटाएर फर्क्यो।
सुन्दर बजार फेरि शान्त भयो। केही दिनसम्म त्यहाँका मानिसहरुले लाटी र सुर्जाको कुरा गरे। तर चाँडै सबैले बिर्से। कतिसम्म भने उसको काकाले समेत ऊ कहाँ गयो? के गर्यो? केही सोधखोज गरेन। बजारबासीले दुवैलाई यसरी बिर्से, मानौं तिनीहरु त्यहाँ कहिल्यै थिएनन्।
लगत्तै २०५६ सालको आमनिर्वाचन भयो। सई प्रेमबहादुर थापाले बिसनाथ बाबुलाई युद्धस्तरमा सघायो। उसले सजिलै चुनाब जित्यो। पार्टी बहुमतमा थियो। ऊ राज्यमन्त्री पनि भयो।
सई प्रेमबहादुर थापाले बिसनाथ बाबुको मद्दतले आफ्नै जिल्लामा सरुवा मिलायो। सर रामप्रसाद शर्मा चाँडै नै हेडसर भयो। सीताराम अग्रवालले सबैभन्दा पहिले छोराको विवाह गरिदियो र आफूसँगै व्यापारमा लगाउन थाल्यो। चन्द्रकान्त झाले भने जजमानी गर्नै छोड्यो।
त्यसपछि पनि देशमा ठूलाठूला परिवर्तनहरु भए। २०५८ सालमा राजदरबार हत्याकाण्ड भयो। त्यही साल माओवादीसँगको वार्ता असफल भएपछि देशमा सङ्कटकाल लागू भयो। ०५९ असोज १८ र २०६१ माघ १९ जस्ता दरबारिया ‘कु’का घटनाहरु पनि घटे। २०६२—६३ को आन्दोलनले राजसंस्थाको अन्त्य गर्यो। तर ती कुनै पनि घटनाहरुले सुन्दर बजारलाई असर गरेन।
जब मधेस आन्दोलन उत्कर्षमा पुग्यो र तराईका राजमार्ग ठप्प भए। सबैलाई अचम्ममा पार्दै लाटी सुन्दर बजारमा देखा परी। तर ऊसँग सुर्जा भने थिएन। एउटा सात आठ वर्षको केटो थियो। त्यहाँका प्रायजसो सबै मानिसहरु लाटी र तिनको छोरा हेर्न पुगे। छोराको अनुहारमा सुर्जाको कुनै नामोनिशान नै थिएन। जब मानिसहरु उसको आँखा नियाल्थे, सबै झसङ्ग हुन्थे। सायद भयले होला, कसैको मुखबाट एक शब्द पनि निस्केन। किनकि त्यस्ता आँखा सुन्दर बजारमा बिसनाथ बाबुबाहेक अरू कसैका थिएनन्।
संविधान सभाको चुनाबमा बिसनाथ बाबुले फेरि त्यही क्षेत्र रोज्यो। चुनाब प्रचारको क्रममा भोट माग्दै जाँदा लाटीको छोरो खुर्रर दौडेर आयो र उसको गोडा समातेर ‘बुवा…, बुवा…’ भनेर कराउन थाल्यो। दुवैका आँखा जुधे। बिसनाथ बाबु नराम्ररी झस्क्यो। छेवैमा उभिएको उसको एउटा कार्यकर्ताले त्यो केटोलाई समात्यो र जोडले दुई लात्ती दियो।
‘भाग माधर… पागल!’
त्यो केटो त्यहाँबाट भाग्यो। उसले यो स्थितिको कल्पना समेत गरेको थिएन।
‘यो त्यही लाटीको छोरा हो हजुर। कोही नयाँ मानिस देख्नै हुँदैन, बुबा भनेर कराउन थालिहाल्छ।’
त्यो कुराले उसलाई केही सान्त्वना दिए पनि चैन भने दिन सकेन। एक्लो पर्नासाथ …बुबा… बुबा…’ भनेर कराउँदै गरेको त्यो केटोको झल्को आइहाल्थ्यो। उसका आँखा हेर्दा त्यो उसकै छोरो हो भन्नेमा कुनै शङ्का थिएन। त्यतिबेला सम्म त पुरै सुन्दर बजारले नै थाहा पाइसक्नु पर्ने हो। तर किन कसैले केही भनेन। सायद डरले होला। उसले त्यस्तै ठान्यो।
उसले तत्कालै केही गर्न नखोजेको पनि होइन। तर चुनाबलाई असर गर्न सक्छ भनेर केही गरेन। त्यसपछि ऊ सुन्दर बजारबाहिर भोट माग्न निस्के पनि भित्र कहिल्यै निस्केन। उसलाई त्यसको खासै आवश्यकता पनि थिएन।
चुनाव शान्तिपूर्ण तरिकाले नै सम्पन्न भयो। भोलिपल्ट यता बिसनाथ बाबुले चुनाब जितेको घोषणा भयो, उता लाटीको छोरो गायब भयो। जुन मानिसहरु उसको जितको र्यालीमा सहभागी थिए तिनै मानिसहरु छोराका लागि चिच्याउँदै गरेकी लाटीको रमितामा पनि सहभागी भए।
बिसनाथ बाबु चुनाव जितेर गएपछि फेरि कहिल्यै फर्केन। त्यहाँका मानिसहरुलाई थाहा थियो। लाटीको छोरोलाई बिसनाथ बाबुले नै हो गायब गराएको। तर सबै मौन थिए। त्यसैले सुन्दर बजार शान्त पनि थियो। एक जना लाटी मात्र थिई, जो बेलाबेलामा आफ्नो छोराका लागि चिच्याइरहन्थी।
(स्रोत : फिनिक्स बुक्सबाट प्रकाशित कथाकारको कथासंग्रह ‘अब्बा’बाट सभार)