~प्रमोद अधिकारी~
तिमी पारी थियौ
धेरै टाढा ।
कहाली लाग्दो भेल
मैलो र घिनाउने
षडयन्त्र र सन्त्रासको
नदीरुपी समाज तरेर
तिमीलाई भेट्ने
विकल्प एउटै थियो – पुल ।
यो मायाको पुल
सम्मोहनको पुल
तृष्णाको पुल ।
हरेक साँझ
तिमी भेट्न आउँदा
अघात प्रेमले
बलियो पारेको ठानी
उफ्रिउफ्रि तर्थेँ ।
पुल मुनिको कुसंस्कार
तरेको सम्झी
रोमान्चित हुन्थेँ ।
तिमीले आज पनि
बाटो हेर्यौ होला
त्यही पुल टेकेर
आउने आशमा ।
गएकै त हो नी
म पनि ।
पुल भत्किएछ ।
उहि दुषित संस्कार
सडिएका रिती
अनि साघुँरो मानसिकता
हरे ! यो समाज
तर्नै सकिन ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)