~छविरमण सिलवाल~
असन्तोषको
ज्वारभाटामा
रुमल्लिरहेको
यो पापी मन
भो पुग्यो, चाहिँदैन
कहिल्यै भन्दैन
शरीरको भित्री कुनामा
लुकेर
मान्छेहरूलाई
जिउँदै डढाइरहन्छ
डढेलो सल्काइरहन्छ
मान्छे-मान्छेबीच
द्वन्द्वका पहाडहरू
उठाउने दुस्साहस गर्छ
अभाव र असुरक्षाका
पीडाहरू खसाल्दै
मान्छे-मान्छेबीच
युद्धका खाडलहरू
खनिरहेछ
सद्भाव र सहचारीको
भाषा बोल्न नसक्ने
यो मन
मान्छेभित्र नबसे
हुन्न र ?
कहिल्यै स्थिर रहन नसक्ने
दुराचारीहरूको पक्षमा मात्र रम्ने
यो मन
अब मान्छेभित्र नबसे
हुन्थ्यो ?
लोभी र पापीहरूको संसर्गबाट
छुट्टिए हुन्थ्यो मन
मान्छे-मान्छेबीचको तनाव
कम गर्ने पक्षमा हिँड्न
सक्ने भए हुन्थ्यो मन
मान्छे-मान्छेबीच
सद्भाव कायम गर्न
सक्ने भए हुन्थ्यो मन ।
काठमाडौं, नेपाल
(स्रोत : नेपाल साप्ताहिक)