~प्रणिका कोयु~
योशा, श्रृंखु, मेधु
तिमीहरूका फेसबुक बन्द गर
कसले-कसले रेखी गर्दैछ तिमीहरूलाई
म कस-कसलाई बुझ्न जाअौं?
अँ हो म भन्दैछु यो कुरा
तिमीहरूकी आमाले जस्तै
तिम्री नाना, तिम्रा छेमाले भन्दैछु यी सब
तिमीहरूलाई धेरै नकराओ
यसो गर र उसो नगर नभन
तिमीहरूले बुझ्छौ सबै कुरा समयसँगै
यही भन्थें र अँगालोमा बाँध्थे
तर त्यही हातलाई जोडी दुई करजोर बिन्ती मेरा नानीहरू
तिमीहरू साथीकोमा बस्ने कुरा नगर
घाम डुब्नु अगावै घर आउ
म अब तिमीहरूको आमाको लाईनमा उभेको छु
बुझिदेउ न नानीहरू, मेरो करजोरी बिन्ती छ
आज बिहान त्यो फोहोरा छेउ ईन्द्रेणी देखें र सम्झें
निनिषा, सेन्मी, सोना, अानवी, अमानी
मेरा जिवनका इन्द्रेणी रंग
कसरी मैले भर्ने तिमीहरूका जिवनमा यि रंग सब
जब सँसारनै तिमीहरूको लागि कालो बन्दैछ
जब हाँसोनै मेरो सुक्दै जाँदैछ
जब तिमीहरू उड्ने आकाश फैलाउने यी हातहरू गल्दैछन्
चिन्ता नगर न नानीहरू
तिमीहरू प्रत्येकको लागि हनुमान म खोज्दैछु
जसले
चट्ट तिमीहरूलाई अंगाल्नेछ र भन्नेछ
“म त त्यस्तो होइन”
अनि तिमीहरूका हात समाई लानेछ त्यो सुनौलो वा सुनको घरमा
र मुस्काउँदै मुसार्दै तिमीहरूका गाला
घरको चाबी राख्नेछ आफ्नो खल्तीमा
हो, म आजैदेखी नानीहरू,
तिमीहरूका लागि
एउटा हनुमान खोज्नेछु
उसले नै तिमीहरूको हिफाजत गर्नेछ!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)