~किरण दाहाल~
पछिल्लो समय नेपाली साहित्य संसारमा फरक–फरक शैलीका पुस्तकहरुले अबतरण गर्न थालेका छन् । त्यसै पङ्क्तिमा नयाँ पुस्तक थपिएको छ– राजमाया । दुर्गाबिनयको यस कथा सङ्ग्रहमा पाठकले परम्परागत भन्दा केहि भिन्न शैलीका कथाहरु पाउनेछन् । सङ्ग्रहका एकपछि अर्को कथा पढ्दै जाँदा पात्रहरु उहि भेटिनु, घटनाका रहस्यहरु पछिल्ला कथामा खुल्दै जानु यस सङ्ग्रहका मुलभुत बिशेषता हुन् । कथाका संरचना पनि नितान्त बेग्लै किसिमको छ । यसकारण केहि कथाहरु पढ्ने बित्तिकै पाठकलाई कथा सङ्ग्रह होईन की उपन्यास पढ्दै छु भन्ने भान पर्न सक्छ ।
कथा सङ्ग्रहको पहिलो कथा हो, ‘दोभानेको कछुवा’ । मुख्य पात्र छिन्– राजमाया । उनैको मृत्युपछिको घटना कथामा छ । अत्याधिक मातृप्रेम प्रस्तुत गरिएको यस कथामा राजमायाको छोरो बिगत र बर्तमानमा ओहोरदोहोर गरिरहन्छ । ऊ मरेकी आमाको सामुन्ने बसेर कहिले सम्झनामा आमासँगै लुटपुटिन्छ भने कहिले यथार्थमा आँशु तप्काउँछ । ‘मेरी आमा बुटन’मा राजमाया कमजोर पात्रको रुपमा छे । उसको पढाई प्रतिको मोह अचाक्ली छ । ऊ आफ्नी आमालाई ‘पढ्न जान्छु’ भन्ने हैसियत समेत राख्दिन । बिरामीबाट भर्खरै तङ्ग्रीदा ‘आराम चाहिन्छ’ भन्न सक्दिन । तर, शसक्त पक्ष कहाँ छ भने त्यहि राजमाया अन्तिममा बिद्रोही बनेर प्रस्तुत हुन्छे । राजमायाको बिद्रोह देखिने अर्को कथा ‘राजमाया मरेकी छैनन्’ हो । सङ्ग्रहकै सबैभन्दा लामो र शसक्त कथा हो, यो । पितृसत्ताले एक छत्र राज गरिरहेको समाजमा महिलाहरुले आफ्नो अस्तित्व देखाउन पुरुषहरुमा निर्भर रहनुपर्ने बाध्यता यद्यपी चलिरहेको छ । नारीको समग्रता नै पुरुषको परिचयमा झुण्डिने गर्छ । तर, यस कथामा चिन्तामणिलाई चिनाउन ‘राजमायाको श्रीमान्’ शब्द प्रयोग गरिएको छ, बारम्बार । यस किसिमको ‘विद्रोही शब्द’ले राजमायालाई केन्द्रमा राखेको मात्र नभई नायक समेत बनाएको छ । तर, कथाभरी राजमायाको जीवन नायकको जस्तो छैन । चिन्तामणिबाट राजमायाले कहिल्यै सुखद अनुभुती गर्न पाईन । त्यसो त पश्चतापमा रुमल्लिंदा चिन्तामणिले एकपटक भन्छ, ‘मेरै कारणले यसले(राजमायाले) कहिल्यै आनन्दले निदाउन पाइन, एक झप्को सपना देख्न पाइन ।’ यहि पश्चतापबाट थाहा हुन्छ, राजमायाले जीबनमा के–के पाउन सकिनन् र त्यसको अन्तर्य कारणमा कुन पात्रको प्रबल भूमिका थियो । तीनै राजमाया, जो बर्षौदेखि श्रीमान्को यातना खपेर दिनहरु काटिरहेकी हुन्छे, उसैले श्रीमानलाई आँगनमा पुग्नेगरी घचेटिदिन्छे र दुईचार झापट बजाइदिन्छे । ‘सहनेहरुको दुःख माटोमा मिल्छ, नसहनेहरुको जुर्मुराउँछ’ भन्ने भनाई यहाँ सार्थक हुन्छ । ‘राजमायाले चुर चोरिन््’ कथामा वैवाहिक छनौटको बिषयले स्थान पाएको छ । केहि अघिसम्म(यदाकदा अहिले पनि) स्थिति यस्तो थियो की महिलाले वैवाहिक निर्णयमा कुनै अधिकार राख्दैनथे । आमाबाबुले जुन घरको बाटो देखाईदिए, त्यहि बाटो हिड्नुपर्ने बाध्यता थियो । यस प्रकृयामा आफुले ‘मन पराएको’ वा ‘मन नपर्ने’ शब्दको कुनै व्यबहारिक राजमाया पनि यिनै मान्यताहरुको शिकार भएकी छिन् । वास्तवमा यहींबाट उनको जीबनले जीबनजस्तै फुल्ने अधिकार गुमाउँछ । किनकी चिन्तामणिले बाध्यतामा परेर उनीसँग विवाह गरेको हुन्छ । जुन अनेकौ दुःखको कारण बन्छ ।
सङ्ग्रहका अन्य कथाहरु कुनै भूतप्रेतसँग सम्बन्धित छन्, कुनै जातिय विभेदसँग सम्बन्धित छन् । तर, केन्द्रमा छिन्, राजमाया । ‘हरिकृष्णको सपना’ उनै राजमायाले आफ्नो परिचय र अस्तित्व खोज्न गरेको प्रयास हो । केहि कथामा नारीमा रहेको यौन उकुसमुकुसलाई छताछुल्ल पारिएको छ । महिला पात्रले बोलेका वाक्यले उनीहरुमा रहेको यौन प्रतिको त्यहि उकुसमुकुसलाई ब्यक्त गर्छन् । राजमायाको मृत्युको वरिपरि घुम्दाघुम्दै फरक–फरक समयमा बिगत र वर्तमानको वास्तविकतालाई अनुभुति गर्दागर्दै कथाहरु सकिन्छ ।
कथाकारले कुनै जटिल बिषयमा कलम चलाएका छैनन् र त्यो नयाँ बिषय पनि होईन । तर, कथाको प्रस्तुती जटिल छ । एउटा सडकमा धेरै गाडीहरु एकैपटक कुदेजस्तो कथाभित्रका कथाहरु सँगसँगै कुद्छन् । पाठकलाई यस्तो अप्ठ्यारो आईपर्ला कि ऊ ‘होलोग्राम’ भित्रका अनेक दृश्यहरु हेरिरहेछ । सम्पूर्ण कथामा राजमायालाई फरक–फरक अक्षहरु(डाइमेन्सन)बाट हेरिएको छ ।
महिलाको परिचय पुरुषसँग गएर जोडिने उपक्रम लामो समयदेखिको नेपाली समाजको चरित्र हो । महिलामाथि हुने सामाजिक बिभेद र शिक्षाबाट बञ्चित गराईने प्रवृति केहि समय अघिसम्म ब्याप्त थियो । अहिले कम भएको छ । कथासङ्ग्रहका हाँगा जराले यिनै बिषयलाई सम्बोधन गर्छ तर मुल काण्ड भने राजमायाको मृत्युको वरिपरि घुमिरहन्छ । कथासङ्ग्रह भएको हुनाले प्रत्येक कथाको छुट्टाछुट्टै अस्तित्व हुने र त्यसलाई सोही रुपमा ग्रहण गरिनुपर्ने हो । तर, यस सङ्ग्रहभित्रका कथाहरुलाई छुट्याएर हेर्नै सकिन्न । प्रायः कथामा राजमाया छिन् । उनी कतै कारण, कतै घटना र कतै प्रभाव बनेर उपस्थिति भईरहन्छिन् । प्रत्येक पछिल्ला कथाहरु राजमायालाई थप बुझ्न मद्दम पु¥याउने ‘क्लु प्वाईन्ट्स’ जस्ता छन्, जसले राजमायालाई फरक–फरक कोण र रङबाट प्रस्तुत गर्छन् । १२ वटा कथाहरु रहेको यस कथासङ्ग्रहका प्रायः सबै पात्रहरु दुःखी छन्, राजमायाको मृत्युले । कथा सङ्ग्रह उत्कृष्ट बनेको छ ।
सामान्य किसिमको असाबधानी जताततै भेट्न सकिन्छ । ‘राजमायाले चुर चोरिन्’ कथामा एउटा वाक्य लेखिएको छ, ‘आफ्नो इच्छा विपरित हुन लागेको विवाहमा अबस्य पनि उनी खुशी थिइन् ।’(पेज नं.८३) त्यहाँ ‘थिइनन्’ हुनुपर्ने । यस्ता असाबधानी धेरै छन् कथामा । कतै समान्य असर पार्ने, कतै फरक अर्थ दिने । ‘तापौं एकछिन घाम सियाँलमै बसेर’ कथामा एक ठाउँमा ‘उनको पसलमा उधारो कारोबार हुँदैन’(पेज नं. ३८) लेखिएको छ । फेरी एकै छिनमा उदारो दिईएको प्रसङ्ग छ । कमजोरी अरु पनि छन् तर, कथाको फरक किसिमको प्रभावले गर्दा ती छोपिन्छन् यद्यपी मेटिदैनन् । यस्ता सामान्य कमजोरी आगामी संस्करणमा सच्याउन जरुरी छ ।
शनिबार, २२ चैत्र २०७०
(स्रोत : नागरिक – शनिबार)