~मणिराज सिंह~
थुप्रै जून र सपनाहरू
जीवनदेखि डराएर
मसानघाटको छेवैछेउ
मृत्युसँग लुकामारी खेल्दै
एक मुट्ठी खरानी
र एक अङ्गालो माटोमा
अटाउन नसक्दा जिन्दगी
आशा र उमङ्गको दीयो सल्काएर
बुद्धत्वको स्वागतमा
प्रेम र ममताको अराजक बन्धन चुडालेर
पीडा र विक्षोवका लयहरू नङ्याएर
मसान करिरहेको लाश
मृत्यु गनिरहेको माया
आँशु पिइरहेका आँखा
वरसातले रूझेको रात
सबै–सबै
म जस्तै – जस्तै लाग्छ मलाई ।
डिलमा झोक्रिरहेको बकुला
रानीपोखरी छेउको त्यो बूढो घण्टाघर
रत्नपार्क भित्रको त्यो सौन्दर्यहीन चौतारीहरू
सिंहदरवार भित्रको क्षमताहीन मन्त्रालयहरू
कहिले पनि नभरिने
मेरो खाली – खाली पेट जस्तै
नशाले लठ्ठिएको मेरो आवाज
रहरहीन बाध्यताले गर्भधारण गरेकी
लाचार कुमारी युवती
साहाराहीन बहानाले डो¥याइएका डुंगा
पानी विनाको माछा
सबै सबै
म जस्तै–जस्तै लाग्छ मलाई ।