~कमल कुमार~
बस छुटिसकेको बसपार्कमा
मलाई लिएर जाने बस
फेरि फर्केर आए जस्तो
नसोचेको आयौ तिमी
एक बस
खचाखच सम्झना बिउँताइदियौ
मनमनै बोलिरहेँ म
मौन डुलिरहेँ
बसपार्क छेउका टुङ्गो नभएका गल्लीहरु जस्तै
अतीतका केही नागबेली बाटाहरुमा
निथ्रुक्कै भिजेँ
तिम्रो हेराइको वर्षात्मा,
चप्पलले माथि-माथि सम्म
हिलो छ्यापिरह्यो
सम्झनाको
गन्तब्यहीन अँध्यारा गल्लीहरुमा
बेफिक्री फर्किएर
हराएँ एकछिन
रमाएँ एकछिन
जसरि आयौ
त्यसरी गयौ तिमी
बिस्तारै गयौ
तर एक्कासी गयौ
म अझै मनमनै बोलिरहेको थिएँ
आज कतै जाने रुट नभएको
रित्तो बस भएर ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)