~नरबहादुर घिमिरे~
एउटा पुरानो
पाठशालाको सानो कक्षा कोठामा
युग युगदेखि
बदलिँदै न बदलिएको
हजारौं जीवनमा व्यप्त
थोत्रो परम्पराहरू मेटाउन
आज तपाईको पर्खाइमा छ
एउटा ब्ल्याकबोर्ड।
एक ब्ल्याकबोर्ड
तपाईकै पर्खाइमा छ
जहाँ
नयाँ युगका
सेता सेता बिरुवाहरू
तपाईले उमार्नु छ।
जहाँ क्रान्तिका कविताहरू
बोल्ड अक्षरमा तपाईले लेख्नु छ
र सुनाउनुछ
बढदै नबढेका पाइलाहरूलाई।
एउटा कथा लेख्नुछ तपाईले
जसले तमाम
कलिला पाइतालाहरूलाई
गन्तव्यको चुचुरो देखाउन सफल बनोस्।
समाज परिवर्तनको बाटो लेख्नुछ तपाईले।
भविष्यको माटो देखाउनुछ तपाईले।
आउनुस् सर,
तपाईकै पर्खाइमा छ
एउटा चर्किएको ब्ल्याकबोर्ड
जहा तपाईले हजार सपना जोडिदिनुछ।
तपाईले ब्ल्याकबोर्ड कोरेर
घाम जून बचाउने
एक हुल सेना तयार पार्नुछ।
खोला/नाला/
झार र झंगल।
पृथ्वी / शनि/ मंगल
यी सबैलाई लामो सास दिने
लाखौं रुख-पात फलाउनु/फुलाउनुछ।
समयले छाडेर गइसकेपछि पनि
तातिनै नसकेका चिसो चुल्होहरूमा
सुर्यका ताप फर्काउन सक्ने
बिज्ञानको कन्टेन्ट
तपाईले तयार पार्नुछ
र म अनि मेरा
तमाम बिद्यार्थी साथीहरूलाई
सुम्पिनु छ।
आउनुस् सर,
भाच्चिएर टुक्रा टुक्रा भएका
चकहरू
तपाईकै इन्ताजारमा छन्
जसलाई कोरेर तपाईले
हजारौंको वर्तमान अनि भविष्यलाई जोड्नुछ।
हेर्नुस् सर,
पछिल्लो बेन्चका सृजनशीलताहरू
त्यै ब्ल्याकबोर्डमा रिफ्लेक्ट हुदैछ
जसलाई तपाईले संसार अघि
प्रदर्शित गर्नुछ।
उठ्नुस् सर,
एउटा मैलो ब्ल्याकबोर्ड
तपाईकै पर्खाइमा छ
जहाँ तपाईले,
यस ब्राह्मण्डको स्वच्छ भविष्य कोर्नुछ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)