~किरण दहाल~
फिँजाएर ओछ्यानभरी
हेरिरहेछ ऊ–
विश्वविद्यालयले दिएका प्रमाणपत्रहरु
र, सम्झन्छ बाबाको अर्ती–
धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ
अनि आक्रोस पोख्छ–
‘पढिगुनी के काम
हलोजोती खाए माम’
एउटा प्रचलीत नेपाली उखान
बरालिएर हुदैन भन्दै
छिमेकीको उदाहरण दिएर
आमाले भनेकै हुन्–
पैसा कमाएर नयाँ घर बनाउनु पर्छ
फिलिममा जस्तो
छिनभरमै जिन्दगी परिवर्तन हुँदैन
सपनामा सोचेजस्तो
अवसर हात पर्दैन
बाबालाइ कसरी भन्ने–
पैसा सकियो भनेर
आमालाइ कसरी सुनाउने–
बिनाकारण घरबेटि भट्याउँछिन् भनेर
थोरै रनमा समेटिएर
पेबेलियन फर्किदै गरेको
क्रिकेट खेलाडी झँै
निराशा बोकेर मनभरी
भुल्न खोज्दै पीडालाई
घोरिएर एउटा कुनामा
चलाईरहन्छ ‘मोबाईल सेट’
र, खेल्नथाल्छ–
कलब्रेक
(स्रोत : रचनाकारको ब्लगबाट सभार)