~पूर्ण बन्धन~
भित्रभित्रै यो छाती जल्छ, अनि पिउन मन लाग्छ ।
वैरागी अनेक शूर चल्छ, अनि पिउन मन लाग्छ ।।
अग्रगमनको नाउँ दिएर गाउँसमाज विगारे अझै,
दिनहूँ उता लास ढल्छ, अनि पिउन मन लाग्छ ।।
आमाहरुले बाटो हेर्दै रुन्छन् रे भन्छ समाचारमा,
र त परेलीमा आँसू फल्छ, अनि पिउन मन लाग्छ ।।
यो परदेशको सास्तीसंगै त्यो कहाली लाग्दो खबर,
चिन्ताले पनि ज्यान गल्छ, अनि पिउन मन लाग्छ ।।
नयाँ नेपालको नारा लगाए चलाखहरुले वाहवाह,
अझै जाल झेल र छल्छ, अनि पिउन मन लाग्छ ।।
कारण सोधेको होईन त प्रिय आज सुन उसो भए,
यावत कुराले मुटू बल्छ, अनि पिउन मन लाग्छ ।।
कोपेनहेगेन, डेनमार्क