कविता : युगसँग

~मणिराज सिंह~Maniraj Singh

कथाका पात्रहरूझैँ रूप फेरेर
माया लाउने
आँट त छ मभित्र
तर
अप्ठ्यारोमा, हलो अड्काएर
गोरु चुटेझैँ
म आफ्नै उडानहरू
निमोठ्दैछु पटकपटक ।

जताततै अभाव देख्ने
मेरा नयनहरूलाई
पूर्णताले मगमगाउने
एउटा योद्धा
जन्माउने चाहना
नभएको त होइन
तर डर लाग्छ
खरको झुपडीलाई
महल बनाउने सङ्कल्प स्याहार्दा
कतै सुकुम्बासी बनेर
सडकको किनारमा
उत्तानो पर्नुपर्ने त होइन!

कोलाहलपूर्ण वातावरणमा
शान्तिको सद्बीज छर्न सक्ने
क्रान्तिको ज्वालालाई
समुन्नतिमा परिवर्तन गर्न सक्ने
एउटा लायकको
सन्तान त चाहिएको थियो
तर भूलवश
तिथिमिति बिगि्रएर
मतिभ्रष्ट/पथभ्रष्ट
कुपुत्र जन्मियो भने!
नयाँ नेपाल बनाउने
शुभमूहर्त छोपेर
एउटी गुणवती, रूपवती, सीपवती
सुकन्या जन्मोस् भन्ने
चाहना पनि नभएको त होइन
तर
डर लाग्छ
समाजकै कलङ्क बनेर
कुलकै बदनाम गर्ने
कुलच्छिन भइन् भने!

-इमाडोल, ललितपुर

(स्रोत : मधुपर्क २०६६ असार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.