~रमेशचन्द्र घिमिरे ~
झिकौं कापी, झिकौं कलम, झिकौं इरेजर
हातमा छडी घुमाउँदै आउनु भयो सर
“दायाँ-बायाँ नफर्कनू, मुन्टो तल झार्नू
हिजो सार्न नभ्याएको पाठ आजै सार्नू”
यति भन्दै कुर्ची तानी बस्ने खराखर
पढाउन अल्लि अल्छी मान्नु हुन्छ सर
हामीले आफै बुझ्ने भए शिक्षक चाहिन्थेन
घरमै बसी पढिन्थ्यो, स्कूल आइन्थेन
नबुझेको सोध्न पनि लाग्छ साह्रै डर
माया गर्न, मीठो बोल्न जान्नु हुन्न सर
“किताब-कापी छुटेको हो त्यै भएर ल्याइनँ
गृहकार्य धेरै थियो, गर्दै जाँदा भ्याइनँ”
माफी माग्दा भन्नु हुन्छ, “धेरै हल्ला नगर्”
चर्को डाँको लगाएर बोल्नु हुन्छ सर ।
मन फुकाई रमाई-रमाई बोल्न अनि हाँस्न
बेला मौका कथा सुन्न, गीत गाउन र नाच्न
पाएदेखि स्कुललाई नि ठान्नु हुन्थ्यो घर
यस्तो रहर कहिले पुग्ला भन्दिनुस् न सर
मध्यनेपाल नगरपालिका – ६,
भोर्लेटार, लमजुङ ।
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )