~बिपना ढुङ्गाना~
आमा भन्ने गर्थिन्:
छोरा मलाई धेरै नसताउनु
घाम अस्ताउनु अघि नै तिमी घर आउनु,
उनको कुरा सुनेको नसुनेझैँ गरी
रमाएर घरबाट फुत्त निस्कन्थे म,
त्यो बेला बाहिरी दुनियाँ नै
रंगमञ्च जस्तो लाग्थ्यो ।
घडीको सुइरो,
र सुइरोको टिक -टिक आवाजको रफ्तारसँगै
थाहै नपाई समय बित्दै गएछ,
आज तिम्रो त्यो सानो छोरो
तिमीबाट कोसौं टाढा,
मरुभूमिमा आइपुगेको छ ।
बाल्यकालको झल्को आउने गरी,
म परदेशिएको क्षण,
घर चाँडै फर्कनु है बाबु,
भनेकी थियौ नि आमा ।
धेरै याद आउछ तिम्रो,
याद आउँछन् म सँगको बिछोडमा,
आँसुले टिलपिल भरिएका तिम्रा आँखाहरु,
अनि मलाई धेरै नसताउनु छोरा भनेका
ती तिम्रा शब्दहरु,
शब्द र यादले पिरोलिरहन्छ आमा ।
सानोछँदा मैले रंगमञ्च सम्झेको,
यही दुनिया आज
मसानघाट जस्तो लाग्छ,
रंगीन त संसार हैन,
तिम्रो सारीको फेर अनि पछ्यौरी रैछ आमा
जसमा लुटपुटिएर,
मैले बाल्यकाल बिताएको थिएँ ।
मरुभूमिमा दिनरात पसिना बगाइरहदा
पटकपटक तिम्रो मात्र याद आइरहन्छ,
कहिलेकाहीँ भक्कानिएर रुन मन लाग्दा
भागेर तिमी सँगै आउँझै लाग्छ ।
तिम्लाई सुखमा राख्ने सपना लिएर,
परदेशीएको तिम्रो छोरो कुनै दिन
फर्किउँला या नफर्किउँला,
यो त म भन्न सक्दिन आमा
मनलाई सधैं थामेर राख्नु,
बिन्ती छ, तिम्रो छोराको
बाँचेर आएछु भने बाँकी जिन्दगी,
तिम्रै सामिप्यतामा बिताउनेछु ।
हुने हार दैव नटार
कालैले थिच्यो भने त,
मेरो केही चल्दैन आमा
तिम्रै काखमा मर्न नपाए पनि,
अर्को जुनी तिम्रै छोरा भएर जन्मिनेछु,
बिदा पाउँ आमा ।
बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )