~त्रिभुवनचन्द्र वाग्ले~
सुत्केरीले ज्वानोको झोल
र लाज ढाक्ने खोल पाइन् वा पाइनन्
बिरामीले नुनपानी पायो कि पाएन
अथवा
मृत्युशय्यामा सुत्नेले सुनपानी पायो कि पाएन
यी अखबर घटनाहरू
अखबारहरूले किन पाउँछन् ?
डोल्पामा अहिले नुनको सङ्घर्ष छ
काठमाडौंमा उहिल्यैदेखि सुनको सङ्घर्ष छ
नुन र सुनमा नेपाल टुक्रिदा
मलाई क्याराभान स्वादिलो लाग्छ
किनभने त्यसमा नुनको कथा छ ।
नयाँ शताब्दीको पहिलो किरण
कुन्नी डोल्पामा न्यानो घाम लाग्छ कि लाग्दैन
डोल्पामा सूर्य उदाएन भने
उज्यालो खोज्न कहाँ जाने
एरिक भ्यालीको क्यामराले
डोल्पालाई घाम दिन सक्छ, सक्दैन
घाम र माममा नेपाल चिन्नुपर्दा
मलाई घाम न्यानो लाग्छ
किनभने त्यसमा चेतनाको किरण छ ।
नानीलाई छाती किन चुसाउनु
पास्चराइज्ड् दधूका पोकामा आमा किन्न सकिन्छ – काठमाडांै
डोल्पाली विधवा पेम्बाको मिठो मातृत्व
स्निग्ध हिउँ पग्लन्छ – डोल्पा !
चौबन्दी पाखी भिज्छ
काठमाडौंमा मम्मीका जामामा
सुत्केरी मेथी, ज्वानो बसाउँछ\बसाउन्न
जामा लगाउने आमाहरू
र पाखी लगाउने पेम्बाहरू
अथवा
जामा र पाखीको चित्र कोर्नुपर्दा
मलाई पाखी शिष्ट लाग्छ
किनभने जामामा आमाको सर्वस्व लुक्दैन
डोल्पामा रहर भन्नु नै के छ र
छ केवल चौंरीको लहर
लहर बिर्सिएर अरबतिर रहर गर्नेहरू
डोल्पातिर बगर सिँचाइ भा’छैन ।
चौंरीका बहर नार्न पा’छैन
सुनिँदै छ–अरबतिर रोजगारीमा पठाउने रे डोल्पालीलाई
सुनै सुनको सुनौलो ब्रिफकेसमा
सुन फलाउने सुर्तामा ।
फर्कँदा अलिकति नुन पनि ल्याउनू है
त्यतिबेलासम्म थिन्लेको जुठो फुक्छ, नुन चल्छ
नुन र सुनमा नेपाल जान्नुपर्दा
मलाई नुन टकिलो लाग्छ
किनभने त्यसमा डोल्पाको कथा छ ।
रचनाः २०५६–८–२६ (१९९९ डिसेम्बर १२) (शताब्दीको अन्तिम कविता)
(प्रकाशितः २०५६ माघ २६, घटना र विचार
सन्दर्भः डोल्पा र एरिक भ्यालेको क्याराभान चलचित्र )
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )