कविता : अात्मा को खण्डहर

~विमल निभा~Bimal Niva

एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ

म इतिहास लेखिरहेछु
यो मिस्र देशको उपाधिकारी राजा ‘फराओन’ र उसको
देउता ‘प्ताह’ र ‘ओसिरिस’को सहस्रौं वर्ष
पुरानो इतिहास होइन
न क्यालिफोर्नियाको भयङ्कर दानव ‘गोबिला’को
प्राचीन अमेरिकन इतिहास हो
र इङ्गल्यान्डको जैरो मठमा रहने ‘बिड’को मध्ययुगको धार्मिक इतिहास
Historia Ecclesiastica पनि होइन
हामी यस विश्वकै मानव हौं
र यहाँको मानव इतिहासमा हाम्रो पनि स्थान हुनुपर्छ
त्यसैले यस विश्व इतिहासको कुनाकाप्चामा
जहाँ करुण क्रन्दन छ
जहाँ लामो सुस्केरा छ
जहाँ ठूलो पुकार छ
त्यसैको एउटा सानो सँगालो हाम्रो देशको यो इतिहास हो
यो इतिहासको प्रथम अध्याय मेरा बाजेदेखि शुरु हुन्छ

प्रथम अध्याय

…उहिले–उहिले एउटा गाउँमा मेरा बाजे हुनुहुन्थ्यो
उहाँले आफ्ना खेल्ने दिनहरु ढुङ्गा बोक्नसँग
साट्नुभएको थियो
जवानीको जीवन खेतको माटाका डल्लासँग
तौलनुभएको थियो
र बुढेसकालको आयु जमिन्दारको हन्टरसँग नाप्नुभएको थियो
अनि एकदिन भनेजत्तिकै बाली तिर्न नसकेकाले
उहाँको सानो छाप्रामा जमिन्दारका
गाई, बाख्रा र भेंडाहरु कराइरहेका थिए
र उहाँको लाचार परिवार पानी परिरहेको रात
घाँसको चौरमा मौन थियो
(साँच्चै, यस्तै छ एउटा किसानको इतिहास
एउटा बाजेको इतिहास)
जति दिन उपवास बसेर गान्धीको नाउँ अखबारमा
कोरिएको थियो
त्यसभन्दा धेरै दिन उपवास बस्नु परेर
मेरा बाजेको नाउँ यमराजको अखबारमा कोरिएको थियो
(यत्ति हो मेरा बाजेको इतिहास
र हाम्रो इतिहासको एक अध्याय
जुन मेरा बुबाको जन्मिँदाखेरीको रुवाइमा
करुण क्रन्दनको रुप लिएर
दोस्रो अध्याय थप्न जन्मिन्छ)

दोस्रो अध्याय

…दुःख भरिएको भाका बोकेर
मेरा बुबाको जन्म भएको थियो
(र मानव इतिहासको दुःखको पोकामा एउटा दुःख
थपिएको थियो)
उहाँले मातृत्वको छाया त्यसबखत
पाउनुभएको थियो
जब दूध सुकेर मेरी बजैले उहाँलाई
औंला चुसाउनुभएको थियो
र पिताको प्यार त्यसबखत
पाउनुभएको थियो
जब छाप्राको सानो संसार छाड्नुपरेर
बाजेले चौरमा शरण लिनुपरेको थियो
उहाँले घाँस खाएर आफ्नो वीर्यका थोपाहरु
जम्मा गर्नुभएको थियो
त्यसैले आज उहाँको छोरो पशुझैं हाड घोटिरहेछ
अनि एकदिन बिरामी भएर काम गर्न नसक्दा
जमिन्दारको जति हन्टरका दागहरु
उहाँका जीउमा थिए
आज त्यही नै मेरा नीला–नीला नसाहरुमा
परिणत भएको छ
बरखोयांस्कको झैं जाडोमा एउटा सानो लँगौटीमा
जाडोलाई पोको पारी उहाँले न्यानो बटुल्नुभएको थियो
र सहाराको झैं गर्मीमा पसिनाको खोलामा नुहाई
उहाँले शीतलता प्राप्त गर्नुभएको थियो
चन्दनको धुवाँले नेहरुको लास सिंगारिएको दिन
उहाँको चुलो चिसै थियो
र यसैगरी फेरि एउटा किसानको आयु रित्तिन्छ
मेरो बुबाको जीवन टुङ्गिन्छ
हाम्रो इतिहासको दोस्रो अध्याय सिद्धिन्छ

तेस्रो अध्याय

…अहिले वर्तमान जिन्दगीमा म छु
समुद्रमा फ्याँकिएको गहुँझैं निरर्थक जिन्दगी बोकेर
म चामल भरिएको बोरा लाद्छु
खाली बोरा भएर
दस दिनसम्म भोको बसेर एक दिन
रु. १० को सिक्का कमाएको थिएँ
जसमा अङ्कित थियो…
‘सबैका लागि खाद्य’
एकदिन ज्वरोले पीडित भएर
अस्पताल गएको थिएँ
तर अस्पतालका ढोका बन्द थिए
किनभने त्यो दिन थियो ‘विश्व स्वास्थ्य दिवस’
रकेटमा बसेर अमेरिकनहरु
चन्द्रमाका लागि उडेको दिन
मेरो छाप्रो पनि हुरीको रकेटमा बसेर
उडेको थियो
मैले पसिना ओछ्याएर बनाएको सडकमा
अस्ति मेरो वीर्यका जीवित थोपाहरु
मोटरको पाङ्ग्रातल छ्यालब्यालिएका थिए
र आजभोलि त्यही मन्दिरका खुला ढोकाहरु
मेरा लागि बन्द छन्
जसलाई बनाउन मेरो रगत बलिदान
भएको थियो
किनभने म तल्लो जातको छु रे
(साँच्चै, यस्तै छ एउटा तल्लो जातको इतिहास
एउटा मान्छेको इतिहास
एउटा मजदुरको इतिहास)
शीर्षकविहीन मेरो वंशको यो अधुरो इतिहास
म समर्पण गरिरहेछु आफ्नो छोरालाई
किनभने मेरो प्यारो छोराले
यसमा अरु अध्याय थप्नेछ
रिक्सा चलाएर
पसिना ओछ्याएर
रगत सिध्याएर

टिप्पणी

ए, मेरा बाजे र बुबा हो !
मलाई ईष्र्या छ तिमीहरुदेखि
तिमीहरुले छुट्कारा पाएर भेट्टाएका छौ
एक टुक्रा चिहानको भूमि
र कात्रोको लुगा
तर मलाई हेर
तिम्रो त्यही प्यारो आफ्नो अंशलाई हेर
मैले त एक इन्च भूमि पनि भेट्टाउन सकेको छैनँ
र अहिलेसम्म नाङ्गै नै छु

पुनश्च

ए, मरिसकेकाहरुका चिहान पल्टाउने पुरातत्वका
अन्वेषकहरु हो !
हाम्रो आत्माको खण्डहरमा केलाएर हेर त
यहाँको ताम्रपत्रमा तिमीहरु लेखेको हेर्नेछौ ः
हामीहरु पनि कसैका सिन्दुर हौं
कुनै बुढाको लौरो हौं
र केटाकेटीहरुका सहारा हौं

(२०२६)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.