~प्रणिका कोयु~
“आमा भएर हेर् अनि कुरा गर्”
कति सुनें मैले यस्ता कुरा
ए घरिघरि त तह लगाउन तिम्रा नानी भन्दा
ए त्यसो नभन न, बुझ्छन् त तिनले पछि भन्दा
प्रतिउत्तरमा मैले कहिले आमा त कहिले नानीलाई तह लगाएँ
हिजोआज अखबारमा जति पढ्छु नानीहरूको कथा
जति सुन्छु उनीहरूका आपतविपत
अनि देख्छु राज्यको उदासिनता
सम्बन्धितको लाचारि
असम्बन्धितको व्यापार
त्यत्तिनै म दुखी मनले
आमा नहुने प्रण मेरो सही हो भन्छु
कसैलाई कहिल्यै विवाह र सन्तान
विमति नजनाउने म आज भन्छु
“विहा गर्छौ भने गर तर बच्चा नजन्माउ”
जन्माउँछौ नै भने भ्रूण हेर – छोरा कि छोरी
छोरी हो भने हत्या गर त्यसको
तुहाउ त्यो गर्भ छोरीको
तुहाउ गर्भ छोरीको भन्दैछु म
छाती ठोकेर भन्दैछु
पुरा होशहवाशमा भन्दैछु
तुहाउ त्यो गर्भ
जन्मन नदेउ सन्तान – अर्थात छोरी
व्यर्थ छ व्यर्थ जन्माउन ति
तिम्री छोरी,
दाउरा जस्तो जलाइन्छिन् भने
पशु जस्तो काटिन्छिन् भने
सामान जस्तो बेचिन्छिन् भने
किन जन्माउने?
मार, मार, मार
अरूले तिम्रो अगाडी मारिदिंदा लडिहिंड्नुभन्दा
मुटु अहिले नै दरो बनाउ र तुहाउ त्यो गर्भ!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)