~पूर्ण बन्धन~
फेसबुकको सदुपयोग, दुरुपयोग के गनें? यो प्रयोगकर्ताको नियतमा भर पर्ने कुरा हो । देशविदेशमा छरिएर रहेका आफन्त तथा मित्रजनहरुका साथ सापिप्यता बढाई सामाजिक सञ्जालको सदुपयोग गरेका उदाहरणहरु पनि छन् । अतिरञ्जित राजनैतिक गुटबन्दी र यौनजन्य अपराध बढाउने खालका खुराकहरु सम्प्रेषण गरेर दुरुपयोग गरेका उदाहरण अझ धेरै छन् । प्रयोगकर्ताले कस्ता सामग्रीलाई अंगाल्ने र कुन समुहमा आवद्ध रहने? यस क्रियाको छिनोफानो पनि स्वयम्ले गर्ने हो । मेरो फेसबुक सञ्जालका आधारमा भन्नु पर्दा, नेपाली फेसबुक प्रयोगकर्ताहरु मध्ये यी सदुपयोग र दुरुपयोगको परिधीका अतिरिक्त मनोरञ्जन र साहित्यका खुराकहरु पस्कने प्रयोगकर्ताहरुले नेपाली समुदायको बेग्लै पहिचान बनाएको मेरो अनुभव रहेको छ ।
साहित्य र समसामयिक समाचार विश्लेषणमा अभिरुची लिएर फेसबुकको प्रयोग गर्ने मेरो स्वभाव अनुरुप मेरा वरपर साहित्य अनुरागी र उपाषकहरुको ठूलै परिधी कायम भएर गएको छ । अर्थात मेरा रुची अनुरुपका विषयहरु खोज्न कतै जानु पर्दैन, फेसबुक खोलेर बसे पुग्छ, त्यसैले धन्यवाद छ फेसबुकलाई र मेरो परिधीमा रहेका ४०६४ मित्रहरुलाई ।
मेरो परिधीमा देखिने साहित्य विद्याका उपाषकहरुको प्रशंग जोड्दा जीवन कायस्थ, गोपाल मण्डाने, मोहन आचार्य जलद, शैलेन्द्र थापा, रवि प्राञ्जल, कोमल भट्ट, पोष्ट राज चापागाई, आचार्य प्रभा जस्ता सिर्जनाको क्षेत्रमा वयष्कहरु जोस र जांगर लिएर यूवाहरुका साथ फेसबुकमा समेत हातेमालो गर्दै गरेका पाईन्छन् ।
निरन्तर गजलहरू लिएर देखिने यूवा सर्जकहरुः वेद थापा, जीतु खड्का गाउले, कमल संघर्ष, राज अबिरल यात्री, जीवन सरोवर, लक्ष्मण मिलन बिष्ट, शान्ती अधिकारी, खकिन्द्र साउँद समर्पण, सूर्य खत्री, वासुदेव बुढाथोकी, दीर्गराज प्रीयसी, ईलामे तारा गुरुवाली, पूर्ण कान्छा गुरुंग, अस्मी जिएम, विवश ज्ञवाली असफल, वियोगी काईला लगायतका दर्जनौं छन् । यी श्रष्टाका रचना फेसबुक खोलेपिच्छे प्रायः देख्न पाईन्छन् ।
मोहन रावल अनमोल अस्तु, लोगराज रोदन ढकाल, कमल जलन आँसू, नरेश बिक अनुरागी, हिमाल उदासी, नरेश न्यौपाने, यूवराज खतिवडा, रोमन पिडा, बद्रि प्रशाद न्यौपाने, अजय प्रकाश, भोजराज तिमिल्सेना, साथी सुमन, दिपक थापा, शान्ती पाख्रिन, सजना गुरुंग, कृष्ण बस्नेत भाग्य, कृष्ण मानव खड्का, सुरेश प्रशाद अर्याल कान्छो, एचबि साउद हिमाल, मिशन अधिकारी, मैनास प्लास, किशन अन्जान, विनोद सेन पाल्पाली जस्ता यूवा जोसजांगरयूक्त गजलीय रचनाहरु पनि प्रायः जसो दिनहुँ पढ्न पाईन्छन् ।
मेरो फेसबुक पर्दामा कहिले गजल कहिले मुक्तक लेखनमा सक्रिय देखिने अन्य सर्जकहरुमा सुरेन्द्र सुमन, बिक्रम चिमरिया, दर्शन योङ्हाङ लिम्बु, सुरेन्द्र चापागाईं, लक्ष्मण भान्तना सिरिश, श्रेष्ट बसु, मिरामन थापा, सावित्रा लुईंटेल घिमिरे, सुन्दरनाथ भावुक सुनिल, मन गुरुंग माइला, सरिता आचार्य, सुचित्रा खनियाँ, राजन सिलवाल लगायतका हुन् ।
महादेव अधिकारी, सागर सिलवाल, नरेन्द्र घर्ती, दुर्गा प्रशाद पोखरेल, सन्तोष स्पन्दन, जीवराज बुढाथोकी, सुमित्रा पौडेल आँचल, हिरा भट्ट, शरद ओझा लगायतका श्रष्टाहरुका कथा, गजल, कविता, गीत, मुक्तक, निबन्ध जस्ता विविध सिर्जनाहरु पाएसम्म मैले समिपबाट नियाल्ने गरेको हुन्छु ।
समसामयिक विषय वस्तु समेटेर मनका वेगका माध्यमबाट फेसबुकका वालहरुमा वौद्धिक चेतना फैलाउन समय समयमा स्टाटस लेखिरहेने मित्रहरु गजेन्द्र बुढाथोकी, केदार शर्मा, देवेन्द्र कोइराला, डिपी अधिकारी, ददि सापकोटा, जनक रावल, पुष्प बरुवाल, डम्बर पौडेल, कर्ण कुंवर, स्वयम्भूनाथ कार्की, अधिकारी प्रकाश, दीर्घराज प्रशाई, चन्दा थापा, मिना शर्मा, पुरुषोत्तम भण्डारी, गणेश बस्नेत, भोजराज भाट, दुर्गा भण्डारी, शैलेश श्रेष्ट आदि हुन् ।
यतिबेला फेसबुकको माध्यमबाट सक्रिय रहेका कतिपय सर्जकहरुका नाम सम्झन कठिन भयो । साहित्य र साहित्यकारको जम्काभेट नामक साहित्यका लागि निकै चर्चित समूहमा धेरैजसो साहित्यकारहरुको जम्काभेट गराउने स्टारहांग वान्तोवा मित्र कतै ओझेलमा हुनुहुन्छ । सायद त्यसैले होला उक्त समूहमा अहिले साहित्यीक विशुद्धता पनि धुमिलिएको छ । साहित्यइतर पोष्टहरु अनन्त छन् । केहि महिना पहिले साहित्यमा वामे सर्दै गरेका र खारिएका सर्जकहरुको बारेमा अध्ययन गर्न सारै रमाईलो लाग्ने उक्त समूहको दैलो भित्र छिर्दा अर्कैको दैलोमा छिरेको अनुभूती हुन्छ । केहि महिना पहिले अध्ययन गरेको सामग्रीलाई पुनः रुजू गर्न भनी हिजो उक्त समूहमा पुगें । तर, त्यो विशाल समूह त अव्यस्थित शहर जस्तो भएछ । चाहेको र खोजेको कुरा भेटाउन नसकेर फर्किनु परेको दुःखेसो व्यक्त गरेर छुटेका साहित्य उपाषक मित्रहरुको नाम यहाँ चाहेर पनि उल्लेख गर्न सकिएन र क्षमा याचना गर्दछु ।
म लगायतका केही मित्रहरुलाई पनि सायद मन परेको एउटा सामान्य खेलाची लाग्ने तर नेपाली साहित्यमा हास्यकला भर्ने दुईजना ज्वाईंजेठानको पौठेजोरी, घम्साघम्सी, ठट्यौली अथवा “ख्यालठट्टा साहित्य”, ईत्यादि, जे नाम दिए पनि निकै उत्पादक लाग्छ । ती पात्रहरु हुन् जीतु खड्का गाउँले र श्यामजंग खत्री सानोजंगे । यी दुबै जनाका सामान्य ठट्यौली सरल अनि औधी मनोरञ्जक, विना कुनै रीसराग, विना कसैलाई व्यंग र झटारो, खेलाची गर्ने शैलीका हुन्छन् । पढ्दै जाँदा एकातिर समयको सदुपयोग हुन्छ भने अर्कोतिर दिनभरीको थकाई मेटाईदिने रिफ्रेसर टनिकको काम गर्दछन् उनीहरुका वार्तालापले । यो मेरो बुझाई मात्रै नहोला ? उनीहरुका टिप्पणीमा देखिने अन्य पाठकहरुले पनि ज्वाईंजेठानको वार्तामा रमाउने गरेका कैयौं उदाहरणहरु छन् । तसर्थ यहाँ एउटा कुरा उल्लेख गर्न मन लागेको केहो भने, हास्यव्यंग फरक कुरा हो । त्यसबाट व्यंग निकालेर मात्रै पनि साहित्यका माध्यमबाट पाठकहरुलाई हँसाएर मनोरञ्जन दिन सकिन्छ भन्ने कुरामा ज्वाईंजेठानको फेसबुके यात्रा सफल देखिन्छ ।
यसका अतिरिक्त साहित्यमा अनेकौं वादका कुरा गर्दै ढिकानो गजलको बाजे र फलानो गजलको पिता भनेर बेलाबेला सर्जकहरुमा अनावश्यक अहम छल्केको देखेर भने मन खिन्न हुन्छ । सर्जकहरु कसैको पनि पक्ष वा विपक्षमा नलागुन्, मात्र सिर्जनामा ध्यान दिउँन । लेखिएका कृतिहरु मध्ये कुन कृति वा रचना कस्तो खालको भनेर जाँच्ने, छुट्याउने र कसी लगाउने समालोचकहरु नेपाली साहित्य जगतमा विद्यमान छन्, त्यो उनीहरुको काम हो भन्ने कुरा बुझौं । फोहोरी राजनितीमा जस्तो गुटबन्दी गर्ने, चित्तबुझ्दो टिप्पणी लेखेन वा कुरामा समर्थन जनाएन भनेर कुन कुन ग्रुपबाट किकआउट गरेका गुनासाहरु पनि अब नदेखिए हुन्थ्यो भन्ने मेरो यो सदिच्छा हो । यस कुराले कसैको चित्त दुःखेमा पनि क्षमाप्रार्थी छु ।
यस वाहेक केही दर्जन गजल लेखेर फेसबुकमा केही टिप्पणी पाएको भरमा आफूलाई निकै ठूलो गजलकारको कोटीमा राख्ने आडम्बरी सर्जकहरुले अरुका गजलहरुमा यो मिलेन, ऊ मिलेन भनेर गजलका शुत्रहरुको खोक्रो ज्ञान छाँटेर स्वयम्ले भने शुद्धाशुद्धिमा ध्यान नदिएको पनि देखिन्छ । फूल लेख्ने कि फुल लेख्ने, पनि लेख्ने कि पनी लेख्ने लगायत नेपाली शब्दहरु मध्येको निकै प्रयोग हुने मेरो नाम पूर्ण समेत, पुर्ण लेखेर मेरो तारिफ गरेका टिप्पणी पढेर खुसी भन्दा बढी दुःख लाग्छ । भाषा हाम्रो पहिचान हो भने यसको शुद्धता कायम राख्नु हाम्रो दायित्व पनि हो । सामान्य ह्रस्वदीर्घ पनि नमिलाएर साहित्य लेख्दा भन्न खोजेको सुगन्धमय फूल चराचूरुंगीको फुल बुझ्न सक्छ पाठकले । अर्थात अर्थको अनर्थ पर्न सक्छ भन्ने कुरा बुझुन् मित्रहरुले ।
सुदूरपश्चिको विकट मानिने अछाम जिल्ला, मेरो पनि जन्मस्थल भएकोले त्यहाँका सर्जक यूवाहरुसंग मेरो विशेष अभिरुची र लगाव हुनु स्वभाविक हो । म अछामका श्रष्टाहरुका साथ मातृत्वका कारण सामिप्यता गाँस्न पुगेको छु । तसर्थ यहाँ एउटा कुरा उल्लेख गर्न रहर लागेर आयो कि अछाम जिल्ला गजलका ख्यातीप्राप्त सर्जक ललिजन रावलको पनि गृह जिल्ला हो । त्यहाँ यतिबेला ३०० भन्दा अधिक यूवायूवतीहरुले गजल साधना गरिरहेका रहेछन् भन्ने कुरा बुझियो । सारै खुसी लाग्यो । त्यसैले, एउटा सानो योगदान दिने अभिलाशा जाग्यो । गजलहरू प्रकाशित गर्न नसकेका, फेसबुक वा अन्य माध्यममा पहुँच नपुगेका अछामका श्रषटाहरूका लागि कमल संघर्ष र जीवन सरोवरहरूको सक्रियतामा सानो प्रयास हुँदैछ ।
टीकापुर कैलालीमा म संलग्न रहेको “नरनन्दा परोपकार केन्द्र”ले सुदूर पश्चिमका अनाथ बालबालिकाहरु तथा साहित्य र कला क्षेत्रका सर्जकहरुका लागि योगदान दिने उद्देश्य बोकेको हाम्रो पारिवारिक गुठी यद्यपी स्थापना रत छ । उक्त गुठीले निकट भविष्यमा सुदूर पश्चिम क्षेत्रबाट नेपाली साहित्य, संगित, कला तथा सँस्कृतिमा योगदान दिने कुनै एक व्यक्तिलाई हरेक वर्ष “जलूश्री सुदूर सम्मान” प्रदान गर्ने र सुदूर पश्चिमका अनाथ बालबालिकाहरुलाई छात्रवृति दिने दुई प्रमुख कार्यमा योगदान दिन चाहेको छ ।
तसर्थ फेसबुककै माध्यमबाट सम्पर्क स्थापना भएको भरमा कमल संघर्ष र जीवन सरोवर व्दय यूवा गजलकार भाईहरुको अगुवाईमा नरनन्दा परोपकार केन्द्रको पहिलो प्रयास स्वरुप “गजलभूमी अछामका श्रष्टाहरु” एउटा संयूक्त गजल संग्रहमा सहयोग गर्ने पहल गरिरहेको कुरा मेरा लागि फेसबुकले नै सिर्जना गरेको एक शुभ अवशर हो भने नेपाली साहित्यमा देखिने सायद एक पृथक योगदान हुनेछ ।
आशा छ, साहित्यमा अभिरुची राख्नेहरुले फेसबुकमा साहित्यको विशुद्धता कायम गर्दै आ-आफ्नो यात्रा जारी राख्नेछन् र परदेशमा बसेका म जस्ता लाखौं साहित्य उपाषकहरुलाई गहकिला सामग्री निरन्तर प्रदान गर्नेछन् ।
कोपेनहेगेन, डेनमार्क