कविता : हिउँदको गीत

~तारा पराजुली~

हावाका भित्ताहरुमा
चिसो बिज्ञापन टाँसेर
भर्खरै गएको छ एउटा बालक।

यसबेला ओसिएको छ जीवनको किताब
डायरीमा शीर्षक मात्र टिपेर
थन्क्याएको छ कविले कविता
घुम ओढेर बसेका असारका खेताला जस्तै
हिउँ र तुसारोको घरभित्र छन् लेकमा गुराँसहरु
अटेरी भएर बसेको छ मधेसमा हुस्सु
लोसे पाराले आउँछ आउँदा
र बिस्तारै सुम्सुम्याउँदै
शरीरभरि टेकेर जान्छ
भुइँ कुहिरोले मलाई ।

निदाउरो छ दिन
चिर निन्द्राबाट जुरुक्क उठेको छ जाडो
गर्हुगा छन् फूलका पत्रहरु
निश्चित अवधिका लागि
बसाइँ सर्दै छन् हिमाली घामहरु
पुरानो कन्तुर खोलेर झिक्दै छिन् हजुरआमा
पोहोर साल थन्क्याएका जाडाका ओखतीहरु
आफ्नै अनुहारको फोटोकपी जस्तै
खुम्चिएका छन् हजुरबाका कोट र गलबन्दी
खडेरीको बेँसी खेत जस्तै
चर्किएका छन् हत्केला पैलाला र कुर्कुचा ।

जीवनलाई सहजै सहने यी केटाकेटीहरु
अलिकति फुर्सद भयो कि
आँखा छलेर निस्किहालछन्
उत्ताउलो सिरेटोसँग जिस्कन।

हावाका आँगनतिर फर्किएका छन्
जीवनका झ्यालहरु
झनै कोलाहल छ बाहिर
यो बाक्लो उपस्थितिलाई के भनौँ ?
बजार कि सम्मेलनरु
गोष्टि कि सेमिनाररु
जहाँ न कसैलाई छुट छ
न आरक्षण ।

ठ्याक्कै यही सिजनमा
बर्सौँदेखि उस्तै रुप र
पराजित अनुहार लिएर
केही जित्नका लागि
न्यायको अँगेना वारिपारी
धर्ना दिइरहे छौँ हामी
तर कहिल्यै साटिेएन सपनाको रङ्ग।

बर्सौँ पछि यस्तो लाग्न थालेको छ
यसरी न्यायको आगो ताप्ने निहुँमा
दाउरा थप्दैछौँ कि,
आफ्नै अनाम आयु थप्दै छौँ हामी !!

तारा पराजुली,मोरङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.