~मणिराज सिंह~
तिम्रो आँखाको डिलमा
टलपलाएका ती आँसुले
बगाएर
कति खेर मेरा रहरहरू
वाफझैँ उडेर अनन्त समयसँगै विलाए
मलाई
पत्तै भएन ।
तिमीले मन खोलेर
दुःख साटेको बेला
मरूभूमिमा लाम लागेर उभिएका सिउँडीका फूलझैँ
धपक्क बलेका मेरा चाहनाहरू
तिम्रो स्नेहको न्यानोपनमा
पग्लेर
कति खेर
बालुवामा हराइसकेछ
मलाई
पत्तै भएन ।