~प्रकाश सुनुवार ‘निराकार’~
पोहोर सालको शुभकामना
जस्ताको तस्तै चाँग लागेर वसेको छ
पुरा गर्नपर्ने कामहरु त्यसै उब्रिएर अधुरै छ
फेरि पनि पोहोर साल जस्तै
आज पनि
नयाँ वर्षको शुभकामना भिरेर आइपुग्यौ ।
उज्यालो वाटोहरु खन्ने योजनाहरु
विगतमा जसरी काजगमा मात्र सिमित रहेका छन्
वास्तविक समस्याहरु लुकाएर
कतिन्जेल तिम्रो सामु उज्यालो भएर
शुभकामनाहरु ग्रहण गरिरहुं ?
म यसपाली असहज महसुस गरिरहेको छु
किनकि यसपाली त झन
विगतको भन्दा नसोंकेका वित्ने भएको छ ।
नलेख्नुपर्ने लेखिएको छ
लेखिएका ति प्रत्येक हरफहरु
हामीलाई नसोधी लेखिएका छन्
हामीलाई झुक्याएर लेखिएका छन्
चराहरुको पखेटा काट्न छुट पाउने भएका छौ
खोलाको मुहानमा विष पोख्न पाउने भएका छौ
ताकि चराहरु उड्न नसकुन्
माछाहरु विष पिएर मरुन्
त्यसैले म यो बेला तिमीले दिने
फेरि अर्को खोक्रो शुभकामना स्विकार्दिन ।
(१३ अप्रिल २०१२, फार्नबोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)