~योगेन पौडेल~
हिजो सपनामा तिमि आयौ
र, फेरी एकपटक त्यसरी नै मुस्कायौ,
म उडेँ आकाशमा त्यसरी नै
चँगा उडे जसरी।
ठुल्ठुला आँखाले निश्चलता त्यसरी नै पोख्यौ,
अनी, म फैलिएँ समुन्द्रमा त्यसरी नै
छाल फैले जसरी,
हो, हिजो सपनामा तिमी मुस्कायौ।
भर्खर कोपिला फक्रिएको थ्यो सँकोचको,
भर्खर लालीमा चढेको थ्यो लज्जाको,
भर्खर फूल फुलेको थ्यो मनमा प्रेमको।
गोधुली साँझको बेला थ्यो,
चराहरु चिर्बिर चिर्बिर प्रेम- गीत गाँउदैथे,
बतास सुस्त बग्दैथ्यो तिम्रो सुबास बोकेर।
त्यस्तै बेला तिम्रो आभा पोखियो,
मीठो मुस्कान बनेर।
अनी, म फैलीएँ पश्चीम सगरमा त्यसरी नै
राताम्य बादलका टुक्रा फैले जसरी,
हिजो सपनामा तिमि मुस्कायौ।
साँझमा छायाँले साथ छोड्यो,
तर तिम्रो साथले साथ छोडेन,
हो तिम्रो त्यो मातले साथ छोडेन।
मोति टल्कन्थ्यो? वा तिमी हाँस्थ्यौ?
मयुर थियो त्यो? वा तिमि नाच्थ्यौ?
त्यसै त्यसै लठ्ठ-लठ्ठ, त्यसै मस्त- मस्त म,
पागल-पागल कताकता, त्यसै उन्मुक्त म।
पागल म बिलाएँ तीमीमा त्यसरी नै
साँझ अँध्यारोमा बिलाए जसरी,
हिजो सपनामा तिमि मुस्कायौ।
ब्युँझदा,
कोपिला र फूलका सुबास थिएनन्,
लालीमा र लज्जा थिएनन्,
छाल र समुन्द्र थीएनन्।
सुनसान अत्यासलाग्दो कोठामा,
बिरक्तिएका भित्ताहरु माझ
एउटा झीनो आवाज झैँ गुन्जियो,
के हिजो सपनामा सुस्केरा हालेकी थ्यौ?!!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)