~निश्चल काउचा~
तन्त्र फेरियो
श्रीपेच फालियो
ढाका टोपी ढल्काउने थुप्रै राजा जन्मिए
सुनौलो बिहानीको आगमन भएन
कन्दरा र पखेरीहरुमा
ओलाङ्चुङ गोलाको लुङ्गालाई
आफू नेपाली भएको प्रमाणित गर्न आउन
हप्ता दिन लाग्छ
रोल्पाका मगर दाई अझै ढाकरे नै छन्
दाङकी बादी दिदी आफ्नै शरीर बेच्दै छिन
हलिया प्रथा अन्त्य भएको घोषणामा हर्षित जय नारायण
बर्ष दिनसम्म पनि गास-बासको ठेगान नभए पछि
पूर्व हलिया मालिकसँग सय कडा पाँचमा ऋण काढेर अरब भासियो
उस्ले सोच्यो मुक्ति भनेको यहि होला
कमैया प्रथाको अन्त्यमा खुसियाली मनाउदै केशरीदेवी
अधिकार माग्न सिहदरवार पुग्दा छातीमै लात्ती बर्सियो
सिराहाका मुसहर दाई मुटु ठिउराउने जाडोमा खास्तो ओढेर
सरकारले कहिले कम्बल बाडछ भन्दै रात कटाउदै छन ।
न्युरोड गल्लीमा भारी बोक्ने रामेछापका छेत्री दाई भन्दै थिए
अब त भारी बोकेर यो महंगीमा जिन्दगीको गर्जो नटर्ने भो
अझै कुर्लदै छौ?
बालुवाटार र कर्णालीको दुरी घटयो भनेर
बर्षौ देखि असनको गल्लीमा
खर्पनमा तरकारी बेच्ने ज्यापु दाईले भन्दै थिए
नेताहरूले देशलाई बुख्याचा भनाए
-निश्चल काउचा
चौराह – १ – बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)