~गोपीकृष्ण ढुंगाना ‘पथिक’~
अधरमा प्रकृति मुस्कान साचेर
टाइगर हिलबाट सूर्योदय स्वागतमा रम्दै,
अंगप्रत्यंगमा चियाका बुट्यानहरुमा
अनि शान्त अनुहारमा निर्दोषपन बटुल्दै
नेपाल चिहाइरहेछ दार्जिलिङ ।
देखिन्न दाग कतै, संवेदनशील तर स्नीग्ध
मुटुभरि आत्मविश्वासको पहाड बोकेर,
बिरानो भूमिमा आफ्नै संस्कृतिको दियो बाली
सन्तानका खुसी र सुखलाई काखी च्याप्दै
नेपाल चिहाइरहेछ दार्जिलिङ ।
मातृत्व र भातृत्वमा संसार देख्ने
घोत्लिएर हरपल भाषा र साहित्यमा भुल्दै,
सगरमाथाबाट कोसौं टाढा रहेर पनि
तेञ्जिङ र हिलारीलाई मुटुमा टास्दै
नेपाल चिहाइरहेछ दार्जिलिङ ।
झस्किन्छ, चस्किन्छ अनि पुःन व्युतिन्छ
लाखौंपटक मरिसकेको छ स्वतन्त्रताका लागि,
परम्परा र पहिचानको प्रमाणका लागि
रातदिन अनि दिनरात बर्बराउदै
नेपाल चिहाइरहेछ दार्जिलिङ ।
दुई प्राण एउटै श्वास बाच्ने प्रयासमा
नदीका दुई किनार भए पनि,
पागलपनबाट बौरिदै र भक्कानिदै
अन्ततः क्षितिजमा मिलनको संभावना बोकेर
नेपाल चिहाइरहेछ दार्जिलिङ ।
gopiji2065@gmail.com
काव्यकुञ्ज, गठ्ठाघर, भक्तपुर
(स्रोत : काव्यकुञ्ज डट कम)