कविता : देशका दुस्मनहरू

~कमला अत्री~

प्रेमका नाममा पीडा दिनेहरू
सुखका नाममा दुःख थोपर्नेहरू
शान्तिका नाममा क्रान्ति जन्माउनेहरू
अर्थात् धर्मका नाममा पाप गर्नेहरू

आखिर के चाहन्छौं तिमीहरू ?
किन चिमोट्छौं तिमीहरू ?
किन चिथोर्छौ तिमीहरू ?
किन जलाउँछौं तिमीहरू ?
अनि किन मार्छौ जिउँदै तिमीहरू ?

हामी सबै नभएको भए
हामी सबैले नगरेको भए
हामी सबै नहोमिएको भए
तिमीहरू तिमीहरू हुने थिएनौ
र पुग्ने थिएनौ त्यहाँसम्म
र गर्ने थिएनौ सुकामको बदला कुकाम
र दिने थिएनौ पीडाका पहाडहरू
र रोप्ने थिएनौ दुःखका दुबोहरू
र हुडल्ने थिएनौ क्रान्तिहरू

पापैपापको पर्खालभित्र
तिमीहरू सुखको महल ठड्याउँदैछौ
सत्ता त सिढीमात्र बन्यो तिम्रा लागि
सिढी उक्लनमात्र जान्यौ तिमीहरूले
तर कहिल्यै जानेनौ उक्लेको सिढीबाट ओर्लन
ओर्लिनु अवन्नती थिएन
सायद ओर्लाईमा सुख, प्रेम र शान्ति भेट्थ्यौ तिमीहरूले
अनि भेट्थ्यौ, जनता
अर्थात् तिमीहरूको प्यारो मुटु
जीवन धान्ने प्राण…।

तर सत्ताको शिखरमा पुगेपछि
तिमीहरूले देख्यौ मज्जैमज्जा
ए देशका दुस्मनहरू ?
तिमीहरूले देख्यौ मज्जैमज्जा
चिमोट्नुमा
चिथोर्नुमा
जलाउनुमा
र जिउँदै मार्नुमा… ।

– गठ्ठाघर, भक्तपुर ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.