~प्रमोद अधिकारी~
तिम्रो आलिंगनमा
कस्सिएर पनि
कठ्याङ्ग्रिएर कयौँ प्राण उडे
एकमुठ्ठी सास
थपिने आशमा
भोको पेट नाम जप्नेको
समय नपुगी सास खोसियो
तिम्रो,
न न्यानो दिने ताकत छ
न सास थप्ने
खाली मान्छेले रचेको
मान्छे नै भ्रमित बनाउने
योजना साकार पार्यौ ।
डाँडाकाँडा सजाउने
पहाड पखेरामा
चम्किरहने ढुङ्गाहरु
नदि किनारमा मुस्कुराउँदै
लडिबुडि गर्ने ढुङ्गाहरु
तिनका स्वतन्त्रता लुछेर
तिमीले बन्दी बनायौ
तिम्रा सिर्जनात्मक ढोँगहरुमा
पछि लगाउँदै
मान्छेसमेत बन्दी बनायौ
आशे मनहरुमा
त्रासदीले भरिदिने
तिम्रो नियत
तानाशाही रहरजस्ता छन्
निरासाले गल्र्याम्म
रहरहरु ढालेका दिन
सपनाहरु विलाएका क्षण
तिम्रा आफ्नै भक्तहरुले सराप्नेछन्
बन्दीहरुले बद्ला लिनेछन्
सारा जगतले खुच्चिङ् मान्ला
मलाई त डर छ
तिम्रो नियत र कर्म
सुध्रेन भने
मन्दिर, तिमीलाई पाप लाग्ला है ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)