कथा : मन परेको साथी

~सुबिन भट्टराई~Subin Bhattarai

तिमीसितको त्यो पहिलो भेट भएको दिन, मलाइ अहिले पनि याद छ । त्यो दिन हाम्रो जाँच रैछ । म सम्पुर्ण जाँच सिद्याएर कापी बुझाउने तरखरमा थिएँ । जाँच सकेर उक्त तरखरमा लाग्ने बेलामा, मैले अलिक ठुलै आवाजमा बोलेको रैछु—सकियो । तिमी त्यसबेला पूर्ण अपरिचित थियौ मेरा लागि । नजीकै कसैको उपस्थिति भएको मलाइ थाहै रैनछ । तिमीले मतिर हेरेर मुसुक्क हाँस्यौ र नचिनेकै भएपनि सोधेकी थियौ—सकियो ? मैले टाउको हल्लाएँ । तिमीले त मैलेभन्दा अगाडि नै सकेकी रैछौ, जाँच सकेको मान्छेको अगाडि आएर त्यसरी मैले सकियो भनेर फुर्ति नगरेको भएपनि त हुन्थ्यो । तर त्यहाँ तिम्रा अगाडि लज्जित हुनु शिवाय मेरा लागि अरु कुनै बिकल्प थिएन ।

तिमीले पनि हाँस्दै मलाई सोधेकी थियौ— अनि जाँच कस्तो भो त ?

मैले यत्ति मात्र भनें—राम्रो भो । तर कस्तो हुस्सु रैछु म तिम्रो कस्तो भो भनेर चैं सोधिनछु ।

त्यसपछि त के थियो र तिमी बारम्बार भेट्टिरह्यौ कलेजभरि । चिनेपछि र वास्ता भएपछि दुबैको उपस्थितिले एक—अर्कालाई सहजतापूर्वक भेट गराउँदोरैछ । नचिन्दा पो कसैको वास्ता हुँदोरहेनछ । तिमी बोलिराख्ने स्वभावकी, हाँसिरहनुपर्ने तिमीलाई, साथी पनि धेरै बनाएकी थियौ । म चुपचाप एकान्तमा बस्न रुचाउने बानी भएको, कम हाँस्ने र धेरै कम साथी भएको मान्छे । हाम्रो मित्रता संभव थिएन कमसेकम मेरो तर्फबाट चैं, तर तिमीले कति चाँडै, कत्ति सहजै मलाइ साथी बनाइहाल्यौ ।

त्यसबेला भरखर भरखर हाम्रो परिचय भएको बेला, म जहाँ एक्लै बसेको भएतापनि तिमी मलाई देख्दा मेरो छेवैमा आउँथ्यौ र मसित गफ गथ्र्यौ । म पटक्कै बोल्नै नजान्ने मान्छे, तिमीसित कस्तरी गफिन्थेँ, त्यस किसिमको उर्जा, म कसम खाएर भन्छु, त्यस अघि मभित्र कहिल्यै पलाएको थिएन । स्त्रीहरुसित दुई मिनेट कुरा गरेपछि मलाई कुरै सिद्दिएझैं लाग्थ्यो र त्यो शून्यताको अवस्थामा म त्यस स्त्रीसित छुट्टिएर आफ्नै बाटो तताउन मजबूर हुन्थेँ । तर तिमीसित बित्ने क्षणहरुमा कहिल्यै पनि त्यस अवस्थाको सिर्जना भएन, म चकित छु ।

त्यो अर्को दिनको कुरा भन्छु । त्यो दिन हामी सबैजना ल्याबमा थियौं । ल्याब अस्तव्यस्त थियो जहाँ काम कम र ओहोरदोहोर ज्यादा भइरहेको थियो । म अरु दुइजना केटाहरुको गफ सुनेर बसिरहेको थिएँ । तिमीपनि मैतिर आएर त्यस गफमा सहभागी भयौ र एकछिनपछि यौटा चिठ्ठाको प्याड झिकेर कुनै यौटा च्यारिटिमा सहयोग गर्न आग्रह ग¥यौ । मैले कति दिनु पर्ने भन्दा तिमीले ‘जति दिएपनि हुन्छ’ भनेकी थियौ । त्यसपछि मैले तिमीलाई रु १० को नोट झिकेर दिएको थिएँ । तिमीले रिसिप्टमा मेरो नाम थर अनि टेलिफोन नम्बर लेखेकी थियौ ।

तर मलाई अनुमान थिएन तिमीले त्यै रिसिप्टमा भरिएको टेलिफोन नम्बरका आधारमा मलाई फोन गर्छ्यौ भनेर ।

फोनमा कुरा गर्दा तिमीले मलाई कति लामो समयसम्म सस्पेन्समा राखेकी थियौ । मेरो हरेक ‘को हो’ भन्ने प्रश्नमा तिमी उसैगरी हरेकपल्ट ‘गेश गरन’ भन्थ्यौ । म पनि पैलोपल्ट तिम्रो आवाज फोनमा सुनिरहेको थिएँ के थाहा पाउन सक्थेँ र को हो भनेर ।

बल्ल तल्ल तिमीले आफ्नो परिचय दियौ । मैले सोध्न पुगेछु—किन फोन गरेकी ?

तिमीले बिस्तारै भनेकी थियौ—रिसिप्टमा फर्जी नम्बर दियौ कि भनेर चेक गरेकी ।

त्यसपछि तिमीले पनि त्यसदिन आफ्नो नम्बर मलाइ टिपायौ र हामीबीच टेलिफोनमा कुराकानी हुन थाल्यो । वास्तवमा म ढाँट्दिन, मलाइ तिमीसित फोनमा कुरा गर्दाको अवस्था, अझै पनि ती वार्तालाप सम्झेर एकान्तमा मुस्कुराइरहेको हुन्छु ।

कलेजमापनि हामी प्रायः साथसाथै हुन्थ्यौं । तिम्रो रुपको चर्चा मेरा केटा साथीहरुबीच चल्ने गथ्र्यो । तिमीलाई सबैले राम्री भन्थे । विशेषगरी तिम्रो हाँसिरहने स्वभावको प्रशंशा धेरैले गर्दथे । म उनीहरुको ‘हा’े मा ‘हा’े मिलाउँथें । तिमी राम्री नै थियौ मलाई यस्तै लाग्थ्यो ।

हामी रुखमुनिको सानो चौतारीजस्तोमा बसेर कैंयौं बेरसमम गफ गथ्र्यौं । तिमीलाई बातैपिच्छे हाँसिरहनुपर्ने, त्योपनि ठुल्ठुलो आवाजका साथ । म त्यो बेला भने निकै लजाउँथें किनकि वरपरका मान्छेहरुले पनि तिमी त्यस्तरी हाँसेको देखेर हामीतिरै ध्यान दिएर हेरिरहेका हुन्थे । मैले एकदुइपटक तिमीलाई भनेको पनि थिएँ कि तिम्रो त्यस किसिमको हँसाइ अलिक भद्दा र लाजमर्दो भयो भनेर तर तिमीले मलाइ पटक्कै टेरिनौ । तिमीलाई फुक्का भएर उड्न मन पथ्र्यो, यौटा स्वच्छन्द र निष्फिक्रि चरीझैं भएर, म यै धरतीमा अनेक विवशताहरुबाट जेलिएको कठै तिम्रो उडानमा के साथ दिन सक्थें र तरपनि हामी उसैगरी बाँधिइ रह्यौं, मित्रताको डोरीले, जति संभव थियो त्यै कसाइ लिएर ।

अनि हाम्रो भेट कलेज बाहिरपनि उत्तिकै हुन्थ्यो । विशेष जाँचको बेलामा । फोन गर्ने तिमी नै हुन्थ्यौ—नोटहरु आदानप्रदान गर्नुप¥यो भनेर । म जहिलेपनि तिम्रै अनुकुलताका आधारमा तिमीले नै भनेको ठाउँमा आइपुग्थेँ । अनि चियापसलमा चियाको चुस्की लिँदै हामी नोट साट्ने र पढाइको कुरा गर्ने काम कम र अर्थोक नै अन्टनसन्टका गफ ज्यादा गथ्र्यौं । तिमी पढाइलाई चटक्कै पन्छाएर भनिरहेकी हुन्थ्यौ—जाँच सकिएपछि फलानो फिलिम हेर्न जानुपर्छ । म छक्क परिरहेको हुन्थेँ ।

एकदिन त्यसैगरि नोट साटासाट गर्न भनी हामी तिम्रो अनुकुल पर्ने ठाउँमा भेटिएका थियौं । तिमीले मेरो हात समाएर तानेर लग्यौ । मैले कँहा जाने भनी सोध्दा तिमीले शुरुमा केही जवाफ दिइनौ । धेरै बेरपछि लगभग गन्तव्यस्थान आइपुग्ने बेलामा यथार्थ कुरा बतायौ—कुर्ता शुरुवाल किन्न जान लाग्या भनेर । त्यतिबेला सायद तिमीलाई तिम्रो नातेदारको बिहेमा जानु रैछ । तिमीले अनेक कुर्ता छान्यौ, तर तिमीलाई कुनै मन परिरहेको थिएन । म सम्झिन्छु, तिमीले त्यसबेला भनिरहेकी थियौ—अलिक ‘कन्ट्रास्टिङ्ग कलर’ छान्नुप¥यो π मैले त्यतिबेला तिम्रो ‘कन्ट्रास्टिङ्ग कलर’ को अर्थ नबुझेर निकै बेरसम्म टाउको दुखाउनुप¥यो । बल्ल बल्ल तिमीले छानिसकेपछि मैले चाल पाएँ कन्ट्रास्टिङ्ग कलर कस्तो हुनुपर्छ भनेर ।

तिम्रो यौटा शौख थियो । तिमी बजारमा आएका हरेकजसो सिनेमा हेर्ने गथ्र्यौ । मलाई पनि कर गथ्र्यौ । तर मैले अधिकांश तिम्रो त्यस आग्रहप्रति आनाकानी नै गरिरहेँ । हामीले हाम्रो कलेज लाइफभरि मुश्किलले दुइवटा सिनेमा संगै बसेर हे¥यौं होला । किन किन यस सन्दर्भमा हाम्रो पारा अलिक मिलेन । मैले हेर्न चाहेको सिनेमा तिमीले पैल्यै हेरिसकेकी हुन्थ्यौ । त्यसैले म विवश हुन्थेँ अरुसितै गएर हेर्नलाई ।

अनि तिम्रो अर्को यौटा शौख थियो । तिमीलाई गीत गाउन मन पथ्र्यो । अनि तिम्रो स्वरपनि त राम्रै थियो । तर तिमी जब गीत गाउँथ्यौ, कसो कसो उठेर नाचिहाल्छ्यौ कि जस्तो लाग्थ्यो मलाई । पुरा शक्ति सोहोरेर गाउँथ्यौ, घाँटीका नशा फुलुन्जेलसम्म गाउँथ्यौ । म सुन्थेँ, तिम्रो आवाजमा मिठास थियो । अनि मलाई के पनि लाग्थ्यो भने तिमी गीतहरुको इन्साइक्लोपेडिया नै हौ । हजुरबाको पालादेखिका गीतहरु तिमी गाउँथ्यौ र बजारमा आएका सबै नयाँ गीतहरुको अपडेट पनि राखिरहन्थ्यौ । म कैलेकाँही तिमीलाई फर्माइस गर्थें । मलाई सेन्टी गीतहरु मनपर्ने भएकाले तिमीले ती मैले फर्माइस गरेका गीतहरु बडो फीलका साथ गाउँथ्यौ, म मन्त्र मुग्ध रहन्थेँ ।

ती दिनहरुमा मैले तीन चार दिन लगाएर यौटा लामो प्रेमपत्र लेखेर तयार पा।ेको थिएँ । १०, १२ पन्नाजति लामो थियो त्यो प्रेमपत्र । कलेजमा साथीहरुलाई देखाउनुप¥यो भनेर त्यो म आफ्नो साथै लिएर हिँड्थें । सबैलाई देखाएँ, त्यसपछि तिम्रो पालो आयो । तिमीले सम्पूर्ण पढिसकेपछि मलाइ सोधेकी थियौ त्यो पत्रभित्रकी महिला पात्रका बारेमा । तिनताक म क्लासकी यौटी केटीलाई प्रेम गर्थें । सो त्यो प्रेमपत्र उसैलाई सम्झेर लेखेको थिएँ । तर तिम्रो त्यसबखतको प्रश्नको उत्तर मैले सजिलै कहाँ दिन सकें र ? तर तिमीपनि के कम थियौ र ? त्यो दिनभरि तिमीले मलाइ कोट्याइ कोट्याइकन मभित्रको जवाफ उधिनेरै छाड्यौ, म हारें ।

त्यसपछिका दिनहरुमा तिमी मेरो छेउमा आउँदा हरेकपलट उसैका कुराहरु लिएर आउन थालेकी थियौ । बिस्तारै बिस्तारै तिमीले ऊसित पनि दोस्ती गरिसकेकी थियौ । तिमी भन्ने गथ्र्यैा—ऊसलाई यस्तो मन पर्छ, ऊसलाई उस्तो मन पर्दैन । फलानो ठाउँ उसको घर । घरमा आमाबाबु छन् । दाजुभाइ छैनन् । आदि आदि ।
कुनै कुनै बेला तिमी उसितै बसेर गफ गरिरहेकी हुन्थ्यौ । मलाई देख्नासाथ आफ्नो घोक्रो सुकुन्जेल चिच्याउँथ्यौ । तिम्रो चिच्याहट कलेज बाहिरका मान्छेले त सुन्थे होलान् म त्यहीँ नजीकै तिमीहरुकै अगाडि केही दुरीमा हिंडिरहेको मान्छे, के नसुनौला र ? म तिमीहरु नजीकै पुग्थेँ । मनमनै केही प्रफुल्लित पनि हुन्थेँ, केही भय, केही सङ्कोच, लाज सप्पै एकैसाथ मैमाथि आइपरिरहेका हुन्थे । कस्तो रियाक्ट गर्थेँ होला म त्यस क्षण, त्यो तिमीले मात्र राम्रोसित ख्याल गरेकी थियौ होला । मलाई लाग्छ उसले त मलाइ ठीकसित हेरिरहेकी पनि हुन्थिन ।

तर त्यहाँ हाम्रो त्यस किसिमको संयुक्त उपस्थितिलाई सहज बनाइदिन खोजिरहेकी हुन्थ्यौ तिमी—म बुझ्थेँ । मेरा केही तारिफहरुपनि गरिरहेकी हुन्थ्यौ । अनि त्यसदिन अनायासै उसैलाई सुनाउँदै भनिरहेकी थियौ—खै त्यो प्रेमपत्र देउ त सप्पैलाई पढ्न दिनुप¥यो ।

उसले अब आफ्ना ठुल्ठुला आँखा उघार्दै तिमीतिर हेर्दै भनेकी थिई—कस्तो प्रेमपत्र ?

त्यसपछि तिमीले उसलाई मैले लेखेको प्रेमपत्रको सम्पुर्ण यथार्थ विवरण सुनाइदिएकी थियौ शिवाय त्यसको महिला पात्रका बारे । तिमीलाई थाहा छैन म त्यस क्षण झण्डै झण्डै बेहोशै हुन आँट्या थिएँ ।

तिमीले त्यसरी तारीफ गरेको देखेर उसले तब मतिर ठाडो हेरेर मागेकी थिइ—खै देउ न त हामी पनि पढौँ । त्यसबेला मेरा गाला रातो पीरो भएको हुँदो हो । कान तातेर भत्भती पोलिरहेका थिए । मुटु छाती फोरेर बाहिरै निस्किन्छ कि जस्तो गरिरहेको थियो । मैले त्यो दिन ल्याउँदै नल्याएको भनी ढाँटे । पछि एकफेर लाग्यो—मैले त्यसरी नढाँटेकै भए पनि हुन्थ्यो ।

अन्तिममा तिमीले मसित पिउने पानी माग्यौ । तिमीलाई थाहा थियो म पानी बोकेर हिंड्थें । झन् त्यो पानी मेरो घर नजीकैको ढुङ्गेधाराको पानी थियो । तिमीले कलकल पिएको देखेर उसले पनि त्यो पानी मागी र घटघट खाइ । मलाइ लाग्यो त्यसदिन धन्य थियो मेरो लागि ।

त्यसपछिका फोनका वार्तालापमा तिमी र म मिलेर अधिकांश उसैको कुरा गथ्र्यौं । तिमी आफूलाई उसको जानकारी भएसम्मका कुराहरु मलाई सुनाउँथ्यौ । म मन्त्रमुग्ध भएर ती कुराहरु सुनिरहेको हुन्थेँ । हरेक पल्ट तिमी फोनमा कुरा उठाउँदा—अलिक पोजेटिभ कुरा छ भन्थ्यौ । साँच्चै तिमीसित फोनमा भएका ती कुराहरु पोजिटिभ नै हुन्थे, म फुर्किन्थेँ ।

त्यसपछि तिमी मलाई आवश्यक सरसल्लाह दिन्थ्यौ ‘अब यसो गर्नुपर्छ, अब उसो गर्नुपर्छ ।’ म बेला बेलामा उत्ताउलिएर भन्थेँ ‘यसो गर्दा हुन्छ ?’ तिमी मलाइ ठाडै भन्थ्यौ ‘हतार नगरन π’ म मूक भएर तिम्रा कुरा सुनिरहेको हुन्थेँ अनि तिमीले भनेजस्तै गरिरहन्थेँ ।

एकदिन म क्लासमा ध्यान दिएरै पढिरहेको थिएँ । त्यसदिन तिमी क्लासमा थिइनौ । बङ्क गरेर कता गएकी थियौ मैले खासै चासो पनि राखिराखेको थिइँनँ र मलाई त्यति वास्ता पनि लागिरहेको थिएन । तिमी क्लास हुँदा हुँदै बीचैमा छि¥यौ र मलाई खोज्दै सिधै मेरै छेउमा आएर बस्यौ । मलाई तिमी मेरो छेउमा आएर नबसुन्जेलसम्म तिम्रो त्यहाँ उपस्थिति भएको जानकारी थिएन । मैले पुलुक्क तिम्रो अनुहारमा हेरेँ । केही गम्भीर थियो तिम्रो अनुहार । तर म पढाइमा त्यसदिन यति तल्लीन रैछु कि मलाई तिम्रो मुहारको मलिनताका बारेमा स्पष्ट जानकारी समेत भएनछ । एकैपल्ट तिमीले ‘ब्याड न्युज’ छ भनेपछि पो सिरिङ्ग भएछुँ । मैले त्यो ब्याड न्युजको कुनै अड्कल काट्न पनि सकिनँ । भन्यौ—उसको बिहे हुने भएछ । मलाई तिम्रो कुराले क्षणभरका लागि निश्चेष्ट बनायो । ‘यो के ?’ यौटा बिचित्रको भाव मस्तिष्कमा आएकोे थियो । ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरु एकै पोको परेर यौटा सेतो डल्लो बनिरहेको देखेँ । अनि तिम्रो देब्रे हात आफ्नो दाहिने कुममा परेपछि मात्र पुनः चेत आएझैँ भयो । मस्तिष्कमा तिमीले केही बेर अघि भनेको ‘उसको बिहे हुने भएछ’ भन्ने संबाद पुनः दोहोरिन लाग्यो । ‘यस्तै हो’ तिमीले फेरि भन्यौ ‘उसले हामीलाई पनि गुमराहमा राखी ।’

म क्लासबाट जुरुक्क उठेर बाहिर निस्कें, तिमीपनि मेरो पछिपछि आइराखेकी थियौ । ‘म घर जान्छु’ मैले तिम्रा अघिल्तिर यति मात्र भन्न सकें र घरतिर लागें र करीब करीब १ महिनासम्म कलेजमा आफ्नो मुखै देखाइँन ।
एक महिना पुरा घरमा बितिसक्दा म यथास्थितिमै आइसकेको थिएँ । उसको याद आउन छाडिसकेको थियो । अब सम्पुर्ण ठीकठाक र तयारी अवस्थामा थिएँ, सो कलेज गएँ । तिमीले मेरो खुल्ला चित्तले स्वागत ग¥यौ । गलामा पोते र हातमा छमछम चुराहरु बजाउँदै आइरहेकी उसलाई परैबाट देखी तबसम्म हेरिरहें जबसम्म ऊ मेरो आँखाबाट ओझेल भैसकीन । अनि त्यसपछि भने उसलाई नदेखेझैं अभिनय गर्न खोजें । यो सब तिमीले मलाइ हेरेर बिचार गरिरहेकी रैछ्यौ । म आफ्नो झुठो अभिनय देखेर आफैंलाई मनमनै धिक्कारिरहेको थिएँ ।
त्यसपछि हाम्रो क्लासबाट चारदिने टुरको आयोजना बन्यो । २ दिन पोखरा अनि २ दिन बन्दीपुर । जाँदाखेरि होहल्ला मच्चाउँदै गीत गाउँदै रमाइलो गर्दै गयौं । म र अर्को यौटा मेरो साथी शुरुदेखि नै दुइवटा सिट ओगटेर बसिसकेका थियौँ । तिमीपनि आएर लगभग मेरो छेउतिर पर्ने सिटमा बस्यौ । अन्ताक्षरी चल्यो । तिमीलाई कसले पो भेट्टाउन सक्थ्यो होला र ? संयोगबस् तिमी र म यौटै गु्रपमा परेका थियौँ । जब हाम्रो पालोमा ‘र’बाट गीत गाउनुपर्ने बेला आउँथ्यो तब म ‘रातो र चन्द्र सुर्य’ गाउँन खोज्थेँ । तर हाम्रा गु्रपका साथीहरु कोहीपनि त्यो मैले गाएको गीतमा स्वरमा स्वर मिलाउन चाहेनन् र घटिया हिन्दी गीत गाएर बलपूर्वक मेरो आवाजलाई दमन गरिरहेका थिए । मैले धेरै नै पल्ट सो गीत गाउन खोजिरहेको थिएँ तर सबैजना पिटुँला झैँ गरि मलाई निषेध गरिरहेका थिए । धेरैबेरपछि तिमीले मेरो साथ दिंदै ठुल्ठुलो र सुरिलो आवाजमा जब त्यो गीत गायौ म धेरै नै खुशी भएको थिएँ । तिमीलाई थाहा पनि भो भोलिपल्ट देखि हामीसँगै जानुभएका सरहरुले मेरो नाउँ नै ‘रातो र चन्द्र सुर्य’ राखिदिनु भएको थियो ।

पोखरा पुगिसकेपछि तिमी आफ्नो गु्रपमा गयौ र म पनि आफ्नै गु्रपमा । त्यो होटलमा गरेको क्याम्प फायरको सम्झना अझैपनि मेरो मस्तिष्कमा ताजा बनेर बसेको छ । हामी सबै अन्तिममा रातको १,२ बजेसम्म नाचेका थियौं । यौटा हाम्रै साथी जो जतिखेरपनि गितार बजाइरहेको हुन्थ्यो, तिमी उसको धुनलाई पछ्याउँथ्यौ आफ्नो सुरिलो आवाजले । पछि सबैलाई थाहा भयो, त्यो केटा र तिमीबीच प्रेम भएछ । पोखरामा बसुन्जेलसम्म त्यसपछि दिनभरि तिमीहरु छुट्टिएनछौ रे । मलाइ थाहा छ, बन्दीपुर फर्कदापनि तिमी र त्यो केटो संगसंगै पछिल्तिरको दुइवटा सिट ओगटेर बसेका थियौ ।

तर बन्दीपुर पुगिसकेपछि भने कताबाट हो तिमी र म फेरि संगसंगै भएछौं । मलाइ थाहा छैन तिमी किन आफ्नो प्रेमीसित नहिंडेर म भए ठाउँमा आइपुग्यौ । सिद्धगुफा जाँदा आधा दिनसम्म तिमी हिंड्न नसकेकोले तिमी र म धेरै पछि थियौं । तिम्रो प्रेमी सायद सबभन्दा अगाडि नै थियो । म देखिरहेको थिएँ शुरुशुरुमा तिमी र ऊ संगसंगै थियौ तर पछि ऊ धेरै अगाडि पुगिसकेको थियो तिमीलाई एक्लै छाडेर । तिमी ओह्रालो झर्नपनि सकिरहेकी थिइनौ, ठाउँठाउँमा मेरो हात समाएर हिंड्थ्यौ । बन्दीपुरको खुल्ला टुँडिखेलमा पनि हिमाल देखिने भ्युप्वाइन्टमा तिमी र म छुट्टै थियौं । तिमी एकपल्ट त्यो भ्युप्वाइन्टमा तलतिरको भीर देखेर कहाल्लिए झैं थियौ । कति कमजोर हृदय भएकी रैछ्यौ तिमी—यस्तै लाग्यो मलाइ ।

त्यो साझँ दिनभरिको घुमाइको थकाइले सबै क्लान्त भएर आफ्नो रुममा पल्टिरहेका थिए । म त्यसै बाहिरपट्टि निस्केर बन्दीपुरलाई भक्तपुरसित तुलना गरिरहेको थिएँ । तिमीपनि त्यतिबेलै निस्केर मेरो छेवैमा आइपुग्यौ र मलाइ भनेकी थियौ—कति सफा छ हगि बन्दीपुर ?

म त्यसै तर्सिएछु । पछाडिबाट तिमी आइरहेको पनि ख्यालै भएनछ । भनेँ—हँ π अगाडि बाटोमा यौटा चाउचाउको खोल खसेको रैछ । यौटी स्थानीय महिलाले त्यो खोल टिपेर नजीकैको डस्बिनमा हालिन् । मैले भनें—वास्तवमै बन्दीपुर सफा छ ।

त्यसपछि तिमीले नै सम्पुर्ण बजार घुम्ने हठ ग¥यौ । मैले ‘थाक्या छु’ भन्दापनि टेरिनौ । दिउँसो तिमीलाई ओह्रालो झरेर सिद्धगुफासम्म पुग्दा हम्मे भएको पनि बिर्सिछौ क्यार । धन्न अरु साथीहरु पुनः फर्केकै बाटोबाट उकालो हिँड्दै बन्दीपुर बजार फर्किएका थिए । तिमीलाई मैले त्यो बिमलनगरबाट डुम्रे हुँदै गाडीमा नल्याएको भए तिम्रो कुन दुर्दशा हुने थियो । सायद त्यै हिँडाइ बचाएकाले होला तिमीले त्यो साँझ बजार परिक्रमा गर्ने हठ ग¥यौ । फेरि तिम्रा अगाडि हरेक कुरामा हार्ने पनि मेरो बानी परिसकेको थियो ।

बजार एकराउण्ड घुमेर आइयामात्र के थियो पुछारतिर यौटा क्याफे रैछ ‘के गर्ने क्याफे’ तिमीले फेरि मसित गएर कफी खाने आग्रह ग¥यौ । हामी दुबै गएर एकएक कप कफी खायौं । ‘अब सम्पुर्ण थकाइ म¥यो ।’ कफीको अन्तिम सर्को घुटुक्क निल्दै तिमीले भनेकी थियौ । मैले टाउको हल्लाएँ । तलतिर हरियो पहाड र कुहिरो डम्म देखिंदा तिमी कम्ती रमाएकी थिइनौ π

त्यो दिन फर्कने दिन थियो बन्दीपुरबाट । हामीले बन्दीपुरको संक्षिप्त नक्सा त्यहीँ अवस्थित मन्दिर छेउमा हे¥यौँ । ‘ला खानीमाइ त छुटेछ’ तिमीले केही आत्तिएको जस्तो स्वरमा भनेकी थियौ । हामीले पत्तो लगाउँदै लगाउँदै त्यो खानीमाइको उकालो चढ्यौँ । त्यहाँबाट बजार कति सुन्दर देखिदोरैछ । त्यतिबेला तिमीले खिचिदिएका तस्वीरहरुको यौटा सिडी मैले जतनसाथ सिडी ब्यागमा राखेको छु । तर अपशोच हामी दुबैजनाको संयुक्त फोटो खिचिदिने त्यहाँ तेस्रो व्यक्ति त्यहाँ कोही भएनछ । धेरै उकालो चडिसकेपछि तिमीले सक्तिन भन्यौ, त्यहीँ बसेर फेरि फोटो सेसन गरियो र फेरि तलतिर ओर्लियौँ ।

फर्कनु त अवस्य थियो । कुनैपनि कुराको शुरुवात हुन्छ भने त्यहाँ अन्त्य पनि निर्बाध छ । हाम्रो पनि त्यो भ्रमण अन्त्य हुँदै थियो । हाम्रो रिजर्भ गरिएको बस बन्दीपुरबाट डुम्रे जाने जीप लाग्ने ठाउँ नजीकै थियो । म चुपचाप गएर यौटा सिट ओगटेर बसेँ । सिट अगाडि तिरको थियो । बसमा जोजो चढ्यो त्यो लास्टतिर गएर बस्न रुचाउँथ्यो । मेरो छेउमा कोही बसिरहेको थिएन । तर कोही नआएपनि, सप्पैले लत्याएको सिट भएतापनि तिमी मेरो छेउमा आएर बस्यौ । तिम्रो प्रेमी पनि लास्ट सिटमा गएर बसेको थियो । फर्कँदा सबैजना थकित थकित भएर होला अन्ताक्षरीको खासै त्यस्तो माहौल जमेन । तिमीले मसित झ्यालपट्टि बस्नका लागि अनुरोध ग¥यौ । भित्रभित्रै दिन मन नलागेको भएतापनि मैले सहजै तिमीलाई त्यो सिट दिएँ । बन्दीपुरको अन्तिम यात्रा, जुन खानीमाइको उकालो थियो त्यो अझैपनि मेरो मस्तिष्कबाट उत्रिसकेको थिएन । तिमीलाई त्यस्तै अर्को डाँडाँ आउनासाथ म आफ्ना चोरी औंलाले देखाउँदै भन्थेँ—ऊ हेर त खानीमाइको उकालो । तिमीले शुरुमा त मलाइ ‘होइन’ भन्दै प्याट्ट पिट्यौ । फेरि उस्तै डाँडाँ दोहोरिएर आयो कि म उसैगरि देखाउँदै भन्थेँ—ऊ हेर त खानीमाइको उकालो । त्यसपछि पनि तिमीले मलाइ हरेकपल्ट आफ्नो अनुहार साबिकभन्दा उज्यालो बनाउँदै झर्केको अभिनय गर्दै उसैगरि प्याट्ट पिटिरहन छाडिनौ । मलाई भने हरेकपल्ट त्यसो भनेर तिम्रो पिटाइ खाइराख्न मन पथ्र्यो ।

हाम्रो ब्याचलर्ससम्मको पढाइ सकियो । बेलाबेलामा त्यो यात्राका तस्वीरहरु हेरेर आजपनि म मन बहलाउने गर्दछु । यौटा अपशोच त्यसबेला तिम्रो अमेरिकाका लागि भिजा लागेको थियो । तिमी जानुभन्दा एकदिन अघि हामी उही रुटिन चियापसलमा भेटिएका थियौँ, मन त्यसै त्यसै खिन्न थियो । तिम्रा अरुपनि साथीहरु थिए वरपर त्यसदिन । चियाको चुस्कीमा कुनै मिठास थिएन त्यसदिन । तिमी जाँदै थियौ, तिमीलाई त्यसदिन बिदाइका निम्ति तिमीले आग्रह गरे अनुरुप केही कविताहरु सुनाएको थिएँ । तिमीले पनि मीठो आवाजमा यौटा गीत गाएकी थियौ जुन अहिलेसम्म मेरो स्मृतीपटमा ताजा भएर बसेको छ । त्यो गीत थियो—म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु । कति समय सापेक्ष गीत गाएकी । मानौ तिमीले मेरै लागि गाएकी । तर त्यसो नहँुदो हो । तिम्रो प्रेमीलाई मैले नबिर्सेको भए । तिमी कसको शहर छाडेर जान लागेकी थियौ त्यो तिमीलाई नै राम्ररी थाहा हुँदो हो ।

तिमी गयौ म जहाँको त्यहीँ रहेँ । यसो सम्झना आयो कि मेल पठाइहाल्थेँ । शुरुको यौटा मेल थियो जसमा लेखेको थिएँ—हाइ π के छ ? कस्तो छ तिम्रो नौलो परिवेश ? भिज्न बाँकी छ या भिजिसक्यौ । तिम्रो खूब याद आइरहेछ । धेरै मिस गर्छु तिमीलाई । लभ यु ।

मेरो मेलको प्रत्युत्तर त्यसको ठीक दुइ दिनपछि तिमीले ग¥यौ । लेखेकी थियौ—आंशिक भिजेँ यहाँको माहौलमा । जाडो धेरै छ । शुरुवातमा होम सिक भयो । नून खाएको कुखुरा झैँ झोक्राइरहेँ । अहिले अलिक ठीक छु । म पनि तिमीलाई धेरै मिस गरिरहन्छु । लभ यु टु डियर π

यसको केही दिनहरु बितेपछि एकदिन यौटा साथी भेटियो । उसले तिम्रो प्रेमीलाई हाम्रो मेलमा भएका कुराहरु सप्पै थाहा भएको कुरा बतायो । तिमीले आफ्नो मेल आइडिको पासवर्ड जो उसलाई बताएकी रैछ्यौ । यो कुरा मलाइ पहिल्यै थाहा भएको भए म तिमीलाई त्यस किसिमको मेल कहिल्यै नपठाउँदो हुँ । त्यो साथी भन्दै थियो कि तिम्रो प्रेमी मलाइ भेटेर पिट्न चाहान्छ । तिम्रो प्रेमीले ऊसित मेरो फोन नंबर पनि मागिरहेको थियो रे ।
मैले थाहा पाएँ कि तिमीलाई यी सब कुराहरुको पत्तो भएछ । तिमीले त्यस्तै भाका उल्लेख गरेर धेरै लामो समयपछि मेल पठाएकी थियौ ।

लेखेकी थियौ—मेरो प्रिय साथी π तिमीलाई त्यहाँ केही नराम्रो हुन लागेको मैले यता बुझेँ । निष्फिक्री भएर मलाइ मेल पठाइरहनु, मैले आफ्नो मेल आइडिको पासवर्ड चेन्ज गरेँ । ऊसित पनि कुरा गरिसकेँ । आफ्नो स्वास्थको ख्याल गरे ।

धेरै दिनपछि तिम्रो प्रेमी एकपल्ट अकस्मात भेटियो । ‘तिमीसित केही जरुरी कुरा छ ।’ उसले भन्यो र नजीकैको यौटा चियापसलमा लिएर गयो । दुइकप चिया मगायो र आफैँ कुरा झिक्यो— के हो मेलमा त खुब लभ यु सभ यु चल्दो रैछनि π

मलाई थाहा थियो उसले सोध्ने प्रश्न यै हो भनेर । भनेँ—हाम्रो सम्बन्ध हिजो अस्तीको होइन र हाम्रो मित्रता के कस्तो हो भनेर तिमी आफ्नी प्रेमिकालाई नै सोध्न सक्छौ । र तिमीसित आफ्नी प्रेमिकाको विश्वाश गर्नुको कुनै विकल्प छैन ।

उसले भन्यो—ऊ मसित त्यै विषयलाई लिएर झगडा गर्दै थिई ।

‘झगडा गर्नु पनि त स्वाभाविक हो ।’ मैले भनें ‘तिम्रो बुझाइको स्तर हाम्रो सम्बन्धभन्दा धेरै भिन्न जो भैदियो π
‘म उसलाई धेरै माया गर्छु ।’ उसले भन्यो ‘यो सब मभित्रको डर हो । लोग्नेमान्छेलाई हुने स्त्रीप्रतिको अशक्तिले उब्जाउने स्वाभाविक डर । प्लिज यसलाई बुझिदेउ ।’

मैले पनि अब राम्रो मौका पाएँ किनकि ऊ मसित धम्कीको भाषा होइन अनुरोधको भाषामा जो कुरा गरिरहेको थियो । भनेँ—अब तिमी मलाइ उसितको मित्रतै तोडिदेउ भन्छौ भने त्यो भिन्न कुरा भयो । होइन भने तिमी निर्धक्क होउ, हामीबीच त्यस्तो शंकै गर्नुपर्ने सम्बन्ध आजका मितिसम्म स्थापित भैसकेको छैन ।

त्यसपछि उसले मसित अलिक घटिया कुरा ग¥यो । भन्यो—हेर यसअघि दशवटी केटीसित मैले प्रेम गरिसकेको छु र ती सबैसित शारीरिक सम्बन्धपनि गाँसिसकेको छु । तर ती सबै केटीहरुसित पछि मेरो मन उठ्ने गथ्र्यो । तर ऊ मात्र त्यस्ती केटी हो जोप्रति म अझै आसक्त छु । यसैले तिमीले बुझ्यौ होला म उप्रति कति आशक्त छु भनेर । मलाई लाग्छ तिमीले सबै बुझ्यौ होला अब हाम्रो सिन्दुर पोते मात्र हुन बाँकी छ ।

म अवाक् भएँ उसका कुरा सुनेर । उसको आशय के हो । त्यसरी गोप्य भनिने शारीरिक सम्बन्धका कुरा ऊ मसित खुलेआम गरिरहेछ । मलाइ त लागिरहेको थियो त्यो तिमीलाई बिटुल्याएको कुरा गरेर मेराप्रति तिम्रो घृणाभाव उत्पन्न गराउन चाहिरहेछ । तर लाग्यो तत्कालै कि ऊ जे भनिरहेको थियो सत्य पनि हुनसक्छ । खैर म उसित बिदावारी भएर त्यहाँबाट निस्कें । निस्कने बेलामा उसले मसित यौटा गीत लेखिदिन आग्रह पनि ग¥यो यो भन्दै कि ऊ शीघ्र यौटा एल्बम निकाल्दै थियो ।

तिम्रो बारेमा तिम्रो प्रेमीले जेजस्तो कुरा ग¥यो त्यो तिमीलाई मैले आजसम्मपनि भनेको छैन र सायद कुनै पनि दिन भन्ने छैन ।

पछि मैले थाहा पाएँ कि तिम्रो र उसको सम्पुर्ण ब्रेकअप भएछ ।

एकपटक तिमीलाई भृकुटीमण्डपको क्यान इन्फोटेकमा परैबाट देखेको कुरा मलाइ मेरो यौटा साथीले सुनायो । मलाई भित्रभित्रै त्यसै नरमाइलो लागिरह्यो । तिमी आएको जानकारीसम्म मैले पाउन सकिनँ । त्यसै दिक्क लागिरह्यो । पछि त्यै कुरा मैले मेलमा पठाएँ । तिमीले त्यसको जवाफ यसरी दियौ—मलाइ माफ गर । त्यो बेला मेरो हजुरबुवाको मृत्यु भएकाले एक्कासी आउनुप¥यो । म हजुरबुवाको मन परेकी नातिनी, मैले उपस्थिति भैदिन पथ्र्यो । वहाँको काजकृया भरि बसें । कतै जान पाइँन । त्यसको लगत्तै म फर्किहालें । यता पढाइ छुटे फेरि नराम्रो रेकर्ड हुन्थ्यो । अर्कोचोटी आउँदा अवश्य भेट्नेछु । सरी ।

मलाइ त्यसै ग्लानी भयो तिम्रो मेल पढेर । मैले नराम्रो सोचेछु । तत्काल खेदले भरिएका केही लाइनहरु लेखेर रिप्लाइ गरें—मेरो मन परेको साथी । मैले नराम्रो सोचेछु यसर्थ माफीको याचना गर्छु । तिमीले माफ माग्नु पर्दैन । अर्कोचोटी नेपाल भ्रमण हुँदा भेट हुने आशा राख्दछु । म प्रतीक्षा गर्छु ।

तिमी दोस्रोपल्ट नेपाल आयौ ठीक एक डेढ बर्षपछि जब पैलोपल्ट आएकी थियौ । तर अपशोच म भ्यालीभित्र नभएकाले त्यसबेलापनि हाम्रो भेट हुन सकेन । र तिमीपनि ८, १० दिन भन्दा बसिनौ । फर्किहाल्यौ ।

तर तिमी मेल पठाइराख्थ्यौ । लेखेकी थियौ—हेर न स्वाइन फ्लुको जग्जगी छ । बाहिरफेर निस्किने माहौल छैन । धेरै समय भित्रै बसिराख्छु । पढ्न पनि उत्ति मन लाग्दैन । काम गर्नेपनि जाँगर उस्तो छैन । जिन्दगी त उही राम्रो थियो कलेज लाइफको । कुनै कुराप्रति सिरियस होइन्न थियो । यहाँ त हरेक कुरामा सिरियसनेस चाहिने । म एक्ली छु यहाँ । मेरो कलेजमा नेपालीहरुपनि त्यति छैनन् । तिमी यतातिर आउने प्रयास किन गर्दैनौ ?
यसको जवाफमा मैले लेखेर पठाएको थिएँ—स्वाइन फ्लुबाट बचेर काम गर्नु । यो त मभन्दापनि तिमीलाई नै ज्यादा थाहा होला । के हो आजकाल निकै नोस्टाल्जिया हुन्छ कि के हो । मेरो हालसाललाई त्यस्तो कुनै सोच छैन । पछि के होला त्यो पछि नै थाहा होला । बाइ ।

त्यतिबेला भरखर भरखर फेसबुकको पनि प्रचलन आएको थियो । हामी एकआपसका स्ट्याटसहरुमा खुब कमेन्ट गथ्र्यों । कैले अनलाइन भेटिन्थ्यौं । एकदिन तिमी त्यसैगरी अनलाइन भेटिएकी थियौ । केही औपचारिक कुराहरुको साटासाट भइसकेपछि तिमीले मलाइ सोधेकी थियौ—अनि जीवनमा कोही गर्लफ्रेण्ड बनायौ त ?

मैले भनें—छैन ।

मैले पनि त्यही प्रश्न सोध्न जरुरी ठानेर तिमीलाई सोधेँ—अनि तिम्रो नि ?

तिमीले उत्तर दियौ—अँह

मैले जिस्किने मुडमा टाइप गरें—यौटा कुइरे छाने हुन्छ नि त ।

‘त्यस्तो हुन्न’

‘किन ?’

‘मेरो मन त्यतैतिर अडेको छ ।’

‘कसमा ? ’

‘अहिलेसम्म अन्जानै छ ।’

‘मलाइ किन भन्दिनौ’

‘भएपो भन्नु ।’

‘म खोजिदिउँ त ?’

‘हुन्छ ।’

‘कस्तो चाहिने ?’

‘जस्तो होस् मेरो बिगतको ब्वाइफ्रेण्डजस्तो चैँ नहोस् ।’

‘त्यसोभए को जस्तै त ?’

‘केही तिमीजस्तै’

‘हा हा हा हा………’

‘ ल त म सुत्न जाँदैछु , बाइ’

‘ओके बाइ’

त्यसपछि तिमी अफलाइन भयौ । अब मैले तिमीलाई आफुजस्तै केटो खोजिदिनुछ, जान्दिनँ त्यो सजिलै उपलब्ध हुने हो कि होइन ।

(स्रोत : रचनाकारको पहिलो पुस्तक कथाकी पात्रबाट साभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.