~किरण दहाल~
धेरै पहिले सोधेकी थिई उसले–
पाईलटको अर्थ
नर्सको जिन्दगी
कसरी लेखिन्छ कबिता ?
जतिबेला ऊ कोपिला नै थिई
बेला–बेला सोधिरहन्थी ऊ
‘पजल गेम’जस्ता प्रश्नहरु
अन्तिम पटक सोधेकी थिई उसले
चुडिएको चङ्गाको गन्तब्य !
देखिरहेछु आजकाल उसलाई
जेलिएको
अनेकौ ‘पजल गेम’हरुमा
झोक्रिरहन्छे
तत्वज्ञानको खोजीमा साधु झोक्रिएजस्तो
र, सम्झन खोज्छे–
अन्तिम पटक खुशी कुल्चिएको पाईतालाको डोब
घरमा आएका नयाँ पाहुनालाई
साना नानीले लुकेर हेरेजस्तो
लुकेर हेर्छे कहिले काहिँ
छेउ चोईटिएको ऐना
प्रश्न गर्छे आफैँलाई
के–के चोईटिन्छन् ऐना सँगसँगै
के–के सम्झिन्छे ऊ –
ब्वाईफ्रेण्डले दिएको धोका !
आमाका अस्वभाबिक गालीहरु !
मास्टरका एक डोज अर्तिहरु !
र, उडाउँछे उदासीका बादलहरु
आफ्नै अनुहारलाई आकाश बनाएर
म चाहन्छु
फेरी सोधोस् उसले–
पाईलटको अर्थ
नर्सको जिन्दगी
तर, बिन्ती नफसोस् ऊ
आकांक्षाको भड्खालोमा
(स्रोत : साहित्यिक पत्रिका ‘पाण्डुलिपि’को अङक ३)