~हाङयुग अज्ञात~
जताबाट जसरी हेरे पनि
भैंसीहरू भैंसी जस्तै छन्
काठमाडौं जस्तो आहालमा डुबेर
कालो छालामा घाम ताप्छन्
जुवाले रगडेर
कसैको काँधको छाला मरेको छ
मधेसको गाडा तान्दातान्दा
कसैको मुखबाट फिंज निस्किरहेछ
संविधान जस्तो सिंग
उसलाई भारी छैन
यसकारण पनि
भैंसीहरू भैंसी जस्तै छन्
सेतै दिन्छन् दूध
तर उनीहरूको दूध चल्दैन
घाँस नै खान्छन्
हग्छ्न् गोबर तेस्तै
तर उनीहरूको गोबर चल्दैन
कुँडो नै खान्छन्
मुत्छ्न् पिसाब तेस्तै
तर उनीहरूको पिसाब चल्दैन
यसकारण पनि
भैंसीहरू भैंसी जस्तै छन्
अनि भैंसीहरू
कसैले देखाइदिएको ऐना हेर्छन्
आफैलाई गाई जस्तो देख्छन्
र गाई जस्तो “बाँ“ गर्न खोज्दा
“आँ“ हुन्छ
“आँ….इँ“ गरे पछि
ती जोसुकै किन नहुन्
ती आखिर भैंसी हुन्
र ती रङ्भेदका सिकार हुन्छन्
यस्ता कुरा भैंसीले नबुझ्दा पनि
भैंसीहरू भैंसी जस्तै छन्
आँखा फारेर हेर
आँखा बन्द गरेर हेर
अथवा
जुनसुकै चस्मा लाएर हेर
भैंसीहरू भैंसी जस्तै छन् ।
ृ चाउचाउ कविता