~विमल निभा~
अब म कविता लेख्न
स्थगित गर्छु
र लुगा धुन थाल्छु
किनभने तमाम लुगाहरु
फोहोर भइसकेका छन्
कमिज, प्यान्ट, गन्जी
र मोजाहरु
फोहोरैफोहोरका बीचमा
कविता लेख्न बस्नु
कविताको विधान विपरीत छ
एउटा कविले यसबारे
सतर्क हुनैपर्छ
म मनमनै भन्छु
झ्याल खोलेर हेर्छु
फोहोरको थुप्रो छ बाहिर
मेरो कोठादेखि परको चोकसम्म
चारैतिर÷वरिपरि
मेरो कविता महसूस गर्छ
संसारको गोलो टाउको
फोहोर देखेर टनटन दुखिरहेछ
पच्चीस वर्षअघि
मेरो कविता जन्मेको थियो
त्यसबेलादेखि ऊ निरन्तर
फोहोरको विरोध गरिरहेछ
चाहे त्यो जस्तोसुकै फोहोर होस्
कविताहरु फोहोरका
एक नम्बरका दुश्मन हुन्छन्
कविताको परिभाषा यस्तै छ मेरो
कलमलाई टेबुलमा राखेर
विचार गर्छु म
म आफ्नो कविताको आत्मालाई
हत्या गर्न सक्दिनँ बन्धुहरु
कवितासँग प्रेम छ मलाई
त्यसैले अब म कविता लेख्न
स्थगित गर्छु
र लुगा धुन थाल्छु
(२०४६)