~भेषराज रिजाल~
कवितालाई भूमिगत राखेर शुरुमा जागिरे बाध्यतालाई आत्मसात गर्दै जन्मघर छाडेका वरिष्ठकवि सूर्यनाथ सापकोटा जीवनभर राष्ट्र सेवा र साहित्य सेवामा क्रियाशील हुनुहुन्छ । सम्बत् २००५ सालमा रातमाटा, बागलुङमा जन्मेका कविले आफ्नो पसिना पोखेर सिर्जनाको थलो बनाउन खोजे पनि दाङलाई बागलुङ बनाउन नसकेको पीरले विरक्तिनुभएको छ । कविताबाट उदाई कथा, निम्बन्ध, उपन्यास, गीत, यात्रा संस्मरण, आत्मवृतान्त, हास्य व्यङ्ग्य आदि नेपाली साहित्यका विविध विधामा सशक्तरूपमा कलम चलाउँदै आउनुभएका सापकोटाका पक्रैया (खण्डकाव्य), बिन्तिपत्र (व्यङ्ग्य), घायल मुटु (कथा सङ्ग्रह), रातमाटा कालापानी (गीति खण्डकाव्य), आगोभित्रको मान्छे (उपन्यास), झर्दै फुल्दै फुल्दै झर्दै (सूत्रकथा), श्रीलङ्का
यात्राका अनुभूतिहरू (यात्रा संस्मरण), सोमनाथलाई चिठ्ठी (पत्र गीतिकाव्य), जागिरभित्र (आत्मवृतान्त), मेरी आमा दिलभरि (गीत सङ्ग्रह), एक दृश्य मेरो झुपडीको (कविता सङ्ग्रह), महाकवि बन्नोस् (व्यङ्ग्य सङ्ग्रह) आदि कृतिहरू प्रकाशित भइसकेका छन् ।
राप्ती साहित्य पुरस्कार, २०५४, प्रगतिशील साहित्य पुरस्कार, २०६४, पद्याकुल हास्यव्यङ्ग्य पुरस्कार, २०७०, तोयाराम इश्वरादेवी कला तथा साहित्य पुरस्कार, २०७१ लगायतका पुरस्कारहरूबाट विभूषित व्यङ्ग्य चेतयुक्त
रचनाका साधक कवि सापकोटाको तीसको दशकमा लेखिएका कविताहरूको सङ्ग्रह हो ‘एक दृश्य मेरो झुपडीको’ । अग्रगमनका लागि सदा संघर्षरत व्यक्तिहरूलाई समर्पण गरी त्रिपन्नवटा कविता समाविष्ट रहेको प्रस्तुत कविता सङ्ग्रह राप्ती साहित्य परिषद्, दाङले
प्रकाशनमा ल्याएको हो । राप्ती साहित्य परिषद्, दाङका अध्यक्ष पुरुषोत्तम खनालको प्रकाशकीय र साहित्यकार गणेश विषमको भूमिकाले समेत कवि सापकोटाको बहुआमामिक साहित्यिक व्यक्तित्वका बारेमा प्रकाश पारेको छ । सामाजिक विकृति, विसङ्गति, अव्यवस्थाप्रति शून्य सहनशीलता भएका निर्भिक, स्वाभिमानी, स्पष्टवक्ता कविको सशक्त व्यङ्ग्य प्रहार, राष्ट्र प्रेम, प्रकृति प्रेम आदिको दस्तावेज हो प्रस्तुत कविता सङ्ग्रह । चारदशक पहिले लेखिएका कविताहरूले पनि वर्तमान सन्दर्भलाई उत्तिकै उजागर गर्नसक्नु कवि सापकोटाको विशेषता नै हो । नवीन विम्ब, उपमाको प्रयोग तथा अनुप्रास र गेयात्मकताले कविताहरू उत्कृष्ट बन्नपुगेका छन् ।
कविता सङ्ग्रहको पहिलो कविता हो ‘भरिया आफ्नो मर्न लागेकी श्रीमतीसँग’ । यस कवितामा श्रीमतीको मृत्युको क्षण भरियाले छोराछोरीको धुकधुकी रक्षार्थ बाँच्नु परेको र एकपल्ट दिन फर्काउने धोको रहेको बताएको छ श्रीमतीसँग । भोक, शोक र अभावग्रस्त भरियाको कारुणिक आलापले मानवीय समवेदनायुक्त मनहरूलाई हल्लाइदिएको छ बेस्सरी—
“विश्वास गरन
भारी ल्याउने भरियाले
एकपल्ट ल्याउने छ दिन पनि”
व्यङ्ग्य चेतयुक्त कविता हो ‘यो मेरो डोको’ । यसमा कविले भरियाको जीवनमा डोकोको सर्वोपरिता चित्रण गर्दै डोकोले भरियाको जीवनको आयु नापिरहेको सुन्दर अभिव्यक्ति गर्नुभएको छ ।
‘नदी एक विदेश पस्ने नेपाली’ कवितामा कविले सुन्दर मातृभूमि छोडेर बाध्यताले विदेशिएका नेपालीहरूको चित्कार अलाप्नुभएको छ । पानी र जवानी पहाडमा अडिनसक्दैन भन्दै निर्लज्ज हेप्ने परचक्री प्रवृत्तिलाई प्रहार गर्दै आफ्नै मुलुकको विकासको गतिमा समेटिन विदेशिएको नेपालीले घर फर्कने प्रण गर्दछ—
“फर्कन त एकदिन फर्कने छु
… महल गलहत्याएर
बुकुरा उठाउने प्रयत्नमा
धुकधुकीलाई साँचेको छु”
‘पर्खेको छु तिमी आउँछौ आउँछौ’ कवितामा कविले मुलुकमा अग्रगमनको क्रान्ति अवश्यम्भावी रहेको र त्यसबाट मुलुकमा विकास र समृद्धि आउने दृढविश्वास लिनुभएको छ । ‘म फेवाताल हूँ’ कवितामा वेदना, व्यथा, पीडा, क्रन्दनले आक्रान्त भएर फेवाताल हुनुपरे पनि हृदयमा गुराँस फुलाउने र संघर्षको भेलबाट नभाग्ने संकल्प लिनुभएको छ कविले ।
‘वैशाखको फाँट मेरो जिन्दगी’ कवितामा कविले अपार सम्पदाको धनी भएर पनि उपलब्धिहीन हुनुपरेको मुलुकको दुर्दशा चित्रण गर्नुभएको छ । दरिद्रता मासेर उज्याला दिन ल्याउँदै नेपाली बस्ती हराभरा बनाउन आव्हान छ कविको ।
‘रिक्सावाल दाजुको मृत्युमा भाइको चिठ्ठी आमालाई’ कवितामा निर्धाहरूको रोजगारी र पेशा त के जिउज्यान नै सुरक्षित नरहेको धारणा व्यक्त भएको छ । ‘हामी सुतेका छौँ लामो निद्रा’ कवितामा प्रगतिपथमा डट्न नसकेको लोसे प्रवृत्तिप्रति व्यङ्ग्य छ । यस कवितामा कविले एकदिन उठ्नलाई सुतिरहेको र विपना भोग्न सपनामा भुलेको भनी व्यङ्ग्य प्रहार गर्नुभएको छ ।
‘गाईजात्रा’ कवितामा मुलुकको पद्दतिबद्ध हुन नसकेको यावत् परिपाटीलाई गाईजात्रासँग तुलना गरिएको छ । मुलुकबासीको प्रयत्नले जनताको दिन ल्याउने दृढसंकल्प गर्दै हरेकवर्ष आउने गाईजात्राभन्दा नेपालीले ल्याएको जीवनयात्रा उल्लासमय हुने विश्वास गरिएको छ । कवितामा भनिएको छ—
“हामी तिमीलाई रातो डोलीमा
लिन आउने छौँ
त्यो बेला तिमी गाईजात्रा हुने छैनौ
तिमी हाम्रै खुसीको जीवनयात्रा हुनेछौ”
‘आजका कवि र कविता’ मा बौद्धिक वर्ग आडम्बरी हुँदै आफ्नो सभ्यता बिर्सेको व्यङ्ग्य छ । ‘माग्नेबाट टिपिएको गन्थन’ कविता राष्ट्रप्रेमप्रतिको लयात्मक अनुरागले भरिएको छ । आयातित माग्नेले बोलेको आवाज सराहनीय छ—
“… मेरो शरीर नेपाली माटोले बनेन
मैले माटो दल्नुपर्छ पूरा शरीरमा
म नेपालको माटो बन्छु”
हरेक नेपालीलाई अधिकारसम्पन्न तथा कर्तव्यपरायण देख्न चाहँदै यस कविताको अन्त्यमा कवि भन्नुहुन्छ—
“नेपालमा बनेको सडकले नेपालसँगै हाँस्नुपर्छ
नेपालमा जन्मेको मान्छे नेपालीसरहै बाँच्नुपर्छ ।”
‘वार’ कवितामा जिन्दगीलाई अनेक वारले घेरेको संसार भएको विचार व्यक्त गरिएको छ । ‘भाका नमिलेर रोकिएको नौलो गीत’ कवितामा किसान, मजदूर, गोठाला, खेतालालगायत श्रमजिवीहरूको जीवनको सुमधुर गीत गुञ्जन नसकेको धारणा राख्नुहुन्छ कवि । सुमधुर भाका नभई कसरी जीवन गीत राम्ररी धन्किन्छ भन्ने रन्कोले पिरोलेको छ कविलाई ।
‘म भैरहवा’ कवितामा भैरहवालाई हावा उत्पादन केन्द्र मान्दै तौलीहवा, पक्लीहवा भन्दा फरक रहेको र लाहुरेको गाउँ हुँदा बाँच्न सहज भएको व्यङ्ग्य गरिएको छ । मुलुकका शहर र नाकाहरू व्यवस्थित हुनुपर्ने व्यङ्ग्योक्ति छ यस कवितामा ।
‘एक दृश्य मेरो झुपडीको’ कविता सङ्ग्रहको शीर्षक कविता पनि हो । यस कवितामा गरिबी, अभाव, समस्यामा पिल्सिएको हरेक नेपालीको झुपडीको कथा व्यथा उनिएको छ । दाजुभाइ मिली पद्दतिबद्ध हुन नसकेको राजनीतिलाई सुधारेर मुलुक बनाउन सकिन्छ भन्ने गहिरो सन्देश छ प्रस्तुत कवितामा । यस कवितामा तिखो व्यङ्ग्य छ—
““म वीर
सधैँ सधैँ हिमालको हिउँ खाएर
विदेशीको जिउ पाल्छु
आफ्ना शहिदको बीउ राख्छु”
कवितामा आशाको मधुरो स्वर पनि गुञ्जिएको छ—
““ए छोरी नराई दे
तेरो पेट भर्ने अगेनो
भोलि पुत्त्ताउँछ
तेरो भोकले पल्टेको ताप्के
भोलि तेरै हातमा हल्लन्छ””
‘छोरा पाउने आशामा मेरी आमा’ कवितामा मुलुकलाई अग्रगमनतर्फ लैजाने सपुतको आगमनको अपेक्षा गरिएको छ । ‘मृत भैंसीको अनुहारबाट’ कवितामा नेपाली जीवनका सङ्ला जिजीविषाउपर परचक्री आतङ्कको कालो छायाँ नपरोस् भन्ने शुभेक्षा छ । ‘त्यो कुकुर’ कवितामा परदेशलाई माया गर्नेहरूप्रति व्यङ्ग्य प्रहार छ । कवितामा चित्रित मुलुकको हीत नसोच्ने पराइ मन भएको त्यो कुकुर पात्र अति घृणित छ— कलो र थलोले घमण्डी भएको, मालिक नियन्त्रित दिमाग भएको, पराधिन बुद्धि र सुद्धि भएको, घुम्रिएको पुच्छर भएको दुच्छर प्राणी । शायद त्यो कुकुर पात्र असाध्यै कृतध्न हुनाले उसप्रति कटु घृणा पोख्नुहुन्छ कवि ।
‘रातामाटा’ कवितामा आँगनमै ठूल्ठूला घरहरू भएको बागलुङ बजार अगाडि झुप्राझुप्रीयुक्त बस्ती देखेर रातामाटा विष्मित बन्नपुगेको चित्रण गरिएको छ । यस कवितामा आफ्नो जन्मगाउँ रातामाटाप्रति कविको असीम माया छचल्किएको छ । शायद यसैले सम्पन्न र विपन्नका बीचको न्यायकर्ता भए पनि परिपाटीमा खोट हुनगई मुकदर्शक बन्नुपर्दा रातामाटा भावोत्तेजनाले छटपटिएको धारणा राख्नुहुन्छ कवि ।
‘म र मेरो कविता’ मा कविले मुलुक विकसित भए मुलुकबासी समृद्ध हुने धारणा राख्नुभएको छ भने ‘मेरो अन्तिम इच्छा’ कवितामा देशको सार्वभौम स्वाधिनतालाई कवि आफ्नो प्राणभन्दा प्रिय ठान्नुहुन्छ र भन्नुहुन्छ—
“शरदको आकास उठाएर
धर्तीमा एकनास छर्न मन लाग्छ
अझै नपुगे
… मेरो प्राण दिन मन लाग्छ”
‘मेरो जीवन भट्टीभित्र’ कवितामा कविले परचक्रीहरूकै कालो छायाँ सल्बलाइरहेको देख्नुहुन्छ । नशाका आडमा रन्किएका सन्कीहरूसँग देशको कुनै योजना नभएको देखेर विरक्तिनुभएको छ कवि । र त, सिर्जनाको नौलो याम ल्याउन विषाक्त भट्टीहरू कसिङ्गरझैँ बढार्नुपर्ने ठहर छ कविको ।
‘एक दृश्य मञ्चभित्र’ कवितामा मान्छेका विधि, व्यवहार, संस्कार र संस्कृति धमिलिनथाल्दा कविसमेत धरमराउनुभएको छ भने ‘युद्धभूमिबाट पत्र’ कवितामा युद्धले संत्रस्त भूमिमा छटपटिनुभएको छ कवि । कविको एउटा सन्देश सुनेर भने राहत मिल्छ पाठकलाई पनि—
“मसँग
मृत्युसित लड्ने हतियार छ
… मसँग सगरमाथाको शीर छ”
‘आँसु उठेका भावनाहरू’ मा नयनमा आँसु भए पनि मन बलियो हुनुपर्ने तर्क राख्दै मानवीयताप्रति पनि कवि उत्तिकै सचेत देखिनुहुन्छ—
“टुट्छ मान्छे आँसु मरेपछि
यसैले त आँसु बुझ्नुपर्छ”
‘कुमारी चोकमा’ विकृतिको पराकाष्टा छ भने ‘वसन्तबाट झरेकी पतकर’ मा दुर्दिनले घेरिएको गाउँको कोलाहल छ । त्यस्तो गाउँका उदासी चेहरा देख्दा कसको मन भक्कानिँदैन र ?—
“ओठमा न स्वर्गको छ मुस्कानको
गालामा न आलुवखडा छन् पाकेको
न छन् आँखामा परी नाचेको
न छ पिठ्युँमा कोख हाँसेको
छ त यौटै सर्लक्कको अनुहारमा
मृत्युले जिउँदै गोरेटो पारेको”
‘मादल गायकसँग’ कवितामा आँसु र वेदना बुझ्नुपर्ने तर्क राख्दै जीवनप्रति तिखो व्यङ्ग्य गर्नुहुन्छ कवि—
“म रित्तो छु
यसैले म बज्छु
तिम्रो गीत पनि
मै जस्तो छ
यसैले म ताल दिन्छु
एकदिन टुट्ला खरी र देखौला
हामीभित्रको रिक्तता र तिक्तता ”
‘हाम्रा जिन्दगी गीत’ मा मान्छेको मनोबल र विश्वास रुख, पहाड, खोला र सूर्य जत्तिकै दृढ हुनुपर्ने भावना वेगिएको छ—
“रोक्न को सक्छ ?
खोलाहरूको यौटै जमघट भइदिए
हेप्न को सक्छ ?
तिम्रो र हाम्रो मधुर मिलन भइदिए”
‘मभित्रको मान्छे बोल्छ’ कवितामा कविको आवाज सशक्त सुनिन्छ—
“भोको पेटको ज्वाला निभाउन
के यहाँ दमकलले सक्छ ?
के मान्छे भोकै सुताउने
यहाँ कुनै ओच्छ्यान हुन्छ ?”
‘मैले तरबारको गर्भ बोकेको छु’ कवितामा सुन्दर भविष्यको योजना कुनै षड्यन्त्रले तुहाउन नसक्ने विश्वासमा अडिग हुनुहुन्छ कवि । ‘काफल पाके चराहरूसँग’ कवितामा काम एकातिर पन्छाएर हरेक कुरामा पञ्चायत जोड्दै केबल नारामा जनता भुलाउन खोज्ने पञ्चायतकालीन प्रकृत्तिलाई व्यङ्ग्य गरिएको छ । यस कवितामा बिनारुख, बिनामौसम काफल नपाक्ने भन्दै काफल पाके चरा अर्थात् पञ्चायती व्यवस्थासँग प्रतिवाद गर्नुहुन्छ कवि-
“काफल पाक्यो भनेर
यहाँ सधैँ विभ्रान्त नपार”
‘हामी खेताला’ कवितामा आफ्नो पसिनाको मालिक अरू हुनसक्दैन भन्ने युगीन चेत छर्न चाहनुहुन्छ कवि । ‘एक बन्द कोठामा’ कवितामा आपसमा लडेर बाबुसाहेबको आशिर्वादको ओच्छ्यानमा थाकेर सुत्ने लम्फुहरूको चित्रण छ । ती लम्फुहरू पहिचान्न खोज्दा शर्मनाक लाजले आफै खुम्चिनुपर्ने अवस्थाको दृश्य उद्घाटन गरिदिनुभएको छ कविले । त्यसैगरी ‘रात बित्दैछ प्रात: आउँदैछ’ कवितामा कुनै एकदिन बाबुसाहेबका खुट्टाका छाप र हातका धापसँगै महापाप पखालिएर नयाँ बिहानी झुल्किनेमा आशावादी हुनुहुन्छ कवि ।
कुर्सीको दूध दुहुने, कागजपत्रको बाली खाने, रक्सिले हिँड्ने, जुवाले थन्किने, मुसल पचाउने आदि हुलियामा वर्णित छन् ‘हाकिम साहेब’ कवितामा हाकिमका । ‘पेपरवेट’ कवितामा अनेक आदेश र निर्देशन अँठ्याएर राख्नसक्ने बलवान औजार पेपरवेटको आत्मप्रशंसा प्रस्तुत छ । हरेक मुलुकी प्रक्रिया पेपरवेटमुन्तिर थिचिएको सुन्दर विम्बात्मक चित्रण छ यस कवितामा—
“अविवेकीले राखेर हुन्छ रेट
तलदेखि माथिसम्म
मेरो छ दर्शनभेट”
कविता सङ्ग्रहका प्रायशः कविताहरूमा कविले विकृति, विसङ्गति बोकेको युगीन कलंक मेटाएर नयाँ बिहान ल्याउन व्यङ्ग्य चेतको प्रसार गर्न चाहनुहुन्छ । कविता सङ्ग्रहमा व्यक्त कविका विचारहरू जति हृदयस्पर्शी, मार्मिक र यथार्थ छन् त्यति नै बोधगम्य, सरल र मिठासपूर्ण पनि छन् । अधिकांश कवितामा भावको गहनता छ ।
आफ्नो गाउँसमाज, राष्ट्र र जनताको सेवामा समर्पित कविले हरेक दुर्गम गाउँको झुपडीलाई समृद्ध सुन्दर देख्न चाहनुभएकोले पुस्तकको शीर्षकसमेत सार्थक देखिन्छ । राजनीतिक, आर्थिक, सामाजिक हिसाबले बन्द तत्कालीन समाजमा उन्मुक्तिको उद्घोष गर्नुभएको छ कविले । समग्रमा, प्रस्तुत कविता सङ्ग्रह सङ्ग्रहणीय एवं पठनीय बन्न पुगेको छ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )