~गोविन्ददेव आचार्य~
छन्द : भुजङ्गप्रयात
तिमी बिघ्न काली म उस्तै छु काले
सबै “ट्याक्क जोडी मिल्यो” भन्न थाले ।।
“बतासे कुरामा नअल्झौँ” म भन्छु
तिमी भुर्र उड्छ्यौ कसैले उचाले ।।
कहाँबाट तिम्रो मिलाऊँ सुरक्षा ?
छ जो देहभोगी उही बस्छ पाले ।।
तिमी पार्वती झैँ मिलोस् पुत्र भन्छ्यौ
कहाँ लाग्छ हाँगो जरा नै नहाले ??
बन्यो राष्ट्र थोत्रो भकुन्डो गुडे झैँ
ढले थाम ! सिन्का बने “उच्च खाले” ।।
हिँडे हिस्स पर्दै यताका बिराला
चुलो घेर्न थाले विकासे मुसाले ।।
कुनै गर्छ गिल्ला कतै मिल्छ ताली
म लेख्दै र टाँस्दै छु आफ्नै मजाले ।।
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)