~सुशान्त घिमिरे~
घडीमा घुमिरहेको सुईहरु ट्क्क रोक्किएर
समय सोध्यो भने,
-के मैले समय बताईदिनु?
एकोहोरो बगिरहेको बतासले पछाडी फर्किएर
प्रेमिल नजरले हेर्यो भने,
-के म त्यसको यात्री बनिदिनु?
निरन्तर अगाडि बढिरहेको बाटो अलमलिएर
एक तमासले उभियो भने,
-के मैले गन्तव्य देखाईदिनु?
अपरिचित डराईरहेका मनहरु एकछिन सँगै धड्किएर
नामहरु परिचित भयो भने,
-के म उसको प्रेमी भईदिनु?
समयलाई समय भन्दाभन्दै
वर्तमान बिर्सिएको म,
त्यसैले मलाई नसोध्नु
हिजो आज के भइरहेको छ भनेर।
बतासले यात्रीलाई छोडेपछि
मरेको मृत्युलाई देखेको म,
त्यसैले मलाई नबुझाउनु
धोका के हो भनेर।
बाटोको गन्तव्यले हरेकलाई गन्तव्यविहीन
यात्री बनाएको देखेको म,
त्यसैले मलाई नदेखाउनु
तेरो लक्ष्य यो हो भनेर।
अपरिचित मनहरुले झुटा कसमहरुसँग
प्रेमको खेल देखेको म,
त्यसैले मलाई नबुझाउनु
प्रेमसँगका नियमहरु यी हुन भनेर।
बिर्सिएको छैन मैले,
समयसँग बिर्सिएको अतीत
र बताससँग यात्रीको कथा।
र यो पनि बिर्सिएको छैन,
बाटो र गन्तव्यको परिभाषा
अनि
रोमियो जुलेटका प्रेमलिला
र मुनामदनका प्रेमकथाहरु………..
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )