वि.सं २००७ माघ १६ गते काठमाडांैको डिल्लीबजारमा पिता तथा साहित्यकार भीमनिधि तिवारी र माता भुवनेश्वरी तिवारीको सुपुत्रीको रूपमा जन्मनुभएकी सर्जक मञ्जु काँचुलीनेपाली साहित्यमा चिरपरिचित हुनुहुन्छ । साहित्य सिर्जना र लामो समय प्राध्यापन गर्नुभएकी काँचुलीका ‘किरणका छालहरू’, ‘मेरो जीवन मेरो जगत’ र अङ्ग्रेजीमा ‘टु सिस्टर्स’लगायतका कवितासङ्ग्रह प्रकाशित छन् । ‘केही माया, केही परिधि’, ‘मञ्जु काँचुलीका कथा’, ‘विश्वाभित्रको सुहागरात’लगायतका कथासङ्ग्रह, ‘आकाश विभाजित छ’ र ‘होम’ शीर्षकको अङ्ग्रेजी उपन्यास प्रकाशित छन् । देवकोटा काव्य पुरस्कार, पारिजात मितेरी साहित्य सम्मान, अन्तर्राष्ट्रिय लेखक सम्मान, अमेरिकालगायत दुई दर्जनभन्दा पुरस्कार तथा सम्मान प्राप्त
काँचुलीसँग गोरखापत्रका उपेश महर्जनले गर्नुभएको साहित्यिक कुराकानी :
० नेपाली साहित्यिक अवस्थालाई कसरी केलाउनुहुन्छ ?
– उर्वर र आशाजनक छ । लेखक, प्रकाशक र साहित्यिक संस्थाहरू वृद्धि भइरहेका छन् । केहीका निकै राम्रा रचनाहरू आइरहेका छन् । हाम्रा पूर्वज साहित्यकाहरू लेखनमा पूर्ण समर्पित भएर जिन्दगी बिताएका थिए तर आजको आर्थिक युगमा त्यस्तो गर्न त्यति सम्भव छैन । समर्पित लेखकहरूको अभाव नै छ जस्तो लाग्छ । नेपाली साहित्य अनुवाद भएर बाहिर पनि जानुपर्छ भन्ने मलाई लाग्छ ।
० यहाँले कविता र कथालाई नै मुख्य विधा बनाउनुका कारण के हो ?
– नाटक, निबन्ध र फाट्फुट्ट रूपमा समालोचनात्मक लेखहरू पनि लेख्छु । कविता र कथा लेख्दा आनन्द र राम्रो लाग्छ । अझ कवितामा धेरै रमाउँछु किनकी आफ्नो हृदयको नग्न सत्यता त्यहाँ हुन्छ । कथामा अर्ध सत्यता हुन्छ । कथा लेख्दा पनि अलि जाली काम गरियो कि जस्तो लाग्छ,हुन त ती पाठ समाजका हुन् । तारतम्य मिलाइरहनुपर्छ । कविता भने कथाभन्दा बढी स्वतःस्फूर्त हुने गरेको अनुभव गर्छु । कथामा पूर्ण हुन नसकेका कुरा म कवितामा लेख्ने गर्छु र त्यस्तै कवितामा पूर्ण अभिव्यक्ति हुन नसकेका कुरा कथामा अभिव्यक्ति दिने गर्छु । त्यसैले अहिलसम्म निरन्तर रूपमा लेखिरहेकी छु ।
० नेपाली र अङ्ग्रेजी साहित्य लेखनमा तपाईंले फरक र समानता के पाउनुभएको छ ?
– अङ्ग्रेजी साहित्य धेरै नै माथि छ । शिक्षाको स्तर र सुविधा त्यता भए पनि मलाई एसियाली साहित्य नै राम्रो लाग्छ । जहाँ रोग, भोक र शोक हुन्छ त्यहाँ हिलो हुने भएकाले सुगन्धित र सुन्दर कमल पनि फुल्छ । भीमनिधि तिवारी, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल आदि राम्रा कवि हुनुहुन्छ । नवोदित कविहरूका रचनाहरूमा पनि नयाँ नयाँ सुन्दर प्रयोगहरू भेटेकी छु । आजको भूमण्डलीय विश्वमा एउटा देशको प्रभाव अर्काेमा सजिलै पर्छ । जसरी अङ्ग्रेजी साहित्यमा विभिन्न युग र वादहरू आए । ती भारत हुँदै नेपालमा पनि भित्रिए, ती समानता भए । नेपाली साहित्यमा आफ्नो माटोको सुवास, संस्कृतिको झलक र अर्कै किसिमको दुःख सुख भेटिन्छ जुन पश्चिमी साहित्यमा हामी पाउन सक्दैनांै, ती भिन्नता भए । आफ्नो लेखन बारे मैले भन्नेभन्दा पनि अरूले भन्दा नै राम्रो होला ।
० विदेशी प्रभाव हुने नेपाली साहित्यको प्रभाव उता कस्तो छ ?
– भारतको हिन्दी साहित्य र पश्चिमी (विशेष गरेर अनुदित र अङ्ग्रेजीमा प्रकाशित) साहित्यबाट नेपाली साहित्य प्रभावित छ । विश्व साहित्य पढ्नु र तीबाट प्रेरणा र उत्प्रेरण लिनु सकारात्मक र राम्रै कुरा हो तर नक्कल गर्न चाहिँ राम्रो कुरा होइन । नेपाल देश र विशेषता नै त्यति परिचित नभएको अवस्थामा हाम्रो जस्तो सानो देशको साहित्य बाहिर त्यति पढिदैनन् । हिन्दी साहित्यको प्रभाव कम भए पनि उर्दु साहित्य विकसित मुलुकमा पनि चलनचल्तीमा रहेका छन् । ती देशहरूका पुस्तकालयमा उर्दु साहित्य मेलै देखेकी छु । नेपाली साहित्य अन्तर्राष्ट्रिय भाषामा अनुवाद हुनु अत्यन्त जरुरी छ । केही नेपाली साहित्य अङ्ग्रेजीमा अनुवाद भएका छन् । विद्युतीय माध्यमबाट अङ्ग्रेजी पत्रिकाहरू आए पनि पर्याप्त छैनन् । पहिले विश्वले हामी र हाम्रो साहित्य पढ्ने अवसर पाउनुप¥यो अनि मात्र आउँछ प्रभाव ।
० विख्यात कवि इलियटले नक्कल गर्ने कवि नै उत्कृष्ट हुने तर्क राख्नुुहुन्छ नि ?
– उहाँले साहित्यिक प्रेरणा लिएर लेख्दा साहित्यकार उत्कृष्ट हुने तर्क गर्नुभएको जस्तो लाग्छ । साहित्यमा कला मात्र होइन शिल्प पनि चाहिन्छ । यो कुरालाई म पनि मान्दछु । कविता लेखन जे सीपको विकासका लागि अभ्यासको जरुरी पर्छ । प्रेरणा र उत्पे्ररणबाट अभ्यास पनि गर्नुपर्छ । अनि कविता उत्कृष्ट हुन्छ । अङ्गे्रजी कवितामा व्यक्त कतिपय अलङ्कारहरू नेपालीमा पाइँदैन । त्यस्ता अलङ्कारहरू बुझ्न अङ्ग्रेजीमा ती अलङ्कार पारेर कविता लेख्ने गर्थे । संस्कृतमा त अझ धेरै अलङ्कारहरू रहेछन् । ती पढ्दा स्वतः प्रभावित भएर आफ्ना रचनामा आउने गर्छन् । त्यो भनेको प्रभाव हो । ती कविले ‘नक्कलको अर्थ प्रभाव’ भनेको हुनुपर्छ ।
० कृति किनेर साहित्यकार बन्ने होड नेपालमा आएको छ रे, के भन्नुहुन्छ ?
– मैले पनि सुनेकी छु । साहित्य किनबेच गर्नु अनैतिक कार्य हो । अर्काका लागि लेख्नु लेखाउनु बौद्धिक शोषण हो । नेपालको प्रतिलिपि अधिकार ऐनमा यसबारे केही लेखिएको छैन होला । पद, पैसा र प्रतिष्ठाका लागि मरिमेट्नेले जे पनि गर्न तयार हुन्छन् ।
० सञ्चार माध्यमको काखापाखा लगाउने प्रवृत्तिले साहित्यिक विकृति आएको हो ?
– यहाँले भन्नुभएको कुरा धेरै हदसम्म सत्य छ । राम्रो मान्छेभन्दा हाम्रो मान्छेले नेपालमा ग्राह्यता पाउँदै आइरहेका छन् । सञ्चारमा कम आउन चाहने र बढी नै छाउने व्यवहार पनि साहित्यकारमा रहेको छ । प्रसिद्धि पाएपछि सञ्चार माध्यम आँफै आफूकहाँ आउँछ । कामभन्दा धेरै प्रचार चाहनेको पनि यहाँ कमी छैन । काम, योगदान र प्रचारप्रसारमा सन्तुलन भएको राम्रो लाग्छ ।
० साहित्यिक विकासका लागि के गर्नुपर्छ ?
– साहित्यकार, साहित्यिक संस्था, प्रकाशक र नेपाल सरकार मूल रूपमा लाग्नुपर्छ । राम्रा र उत्कृष्ट रचना लेख्न निरन्तर रूपमा सर्जकहरू लाग्नुपर्छ र प्रकाशकहरूले पनि यस्ता रचनालाई प्राथमिकता दिनुपर्छ । प्रतिलिपि अधिकार सबैले पढ्नुपर्छ र आवश्यक बुँदा थपघट गर्नुपर्छ । साहित्य र साहित्यकारलाई राज्यले महìव दिँदै स्थापितलाई उचित व्यवस्थापन, नयाँ पालुवालाई प्रोत्साहन दिनुपर्छ ।
० तपाका कुनै नयाँ कृति प्रकाशनमा आउँदै छन् कि ?
– मेरा अप्रकाशित कृति मात्र चौध पन्ध्र भइसकेका छन् । नेपालमा प्रकाशनको समस्या प्रायः धेरैजसो साहित्यकारले भागेको विषय हो । अब मेरा लागि त लेख्नेभन्दा पनि छपाउन मुस्किल भइसक्यो । बरु राज्यले नै साहित्यकारको पाण्डुलिपि सुरक्षित गरेर राखिदिने व्यवस्था गरिदिए पनि हुन्थ्यो जस्तो लाग्छ । गतवर्षको भुइँचालोमा आफ्नो र परिवारको जिउज्यान जत्तिकै आफ्ना कृतिको माया लाग्दो रहेछ भन्ने अनुभव गरें । हेर्दै जाऊँ, छोराहरूले मेरा कृतिहरू (कविता, कथा, उपन्यास, निबन्ध र नाटक) छापिदेलान् कि ।
(स्रोत : गोरखापत्र राष्ट्रिय दैनिक)