~भेषराज रिजाल~
तिमीले दिएको अभिशप्त जीवनले
मलाई जतिसुकै पछार्न खोजे पनि
त्यही अभिशापलाई वरदान ठानेर
युगौँयुगसम्म बाँचिदिन सक्छु
तिमीले आँखाभरि आँसु दिएर
मलाई जतिसुकै रुवाउन खोज
सबै आँसु तनतनी पिएर
तिमीभन्दा बढी हाँसिदिन सक्छु
उकाली र ओराली
अनगिन्ति पहाड
कहिल्यै नथाक्ने अनन्त यात्रा
हिमाल त हेर्नलाई मात्र हो
पहाडदेखि मधेशसम्म
जीवनपथ बिच्छ्याएर
तिमीले कहिल्यै चढ्न नसकेको
जिन्दगीको सगरमाथा चढिदिन सक्छु
रुझिरहेछ आँखा भिजिरहेछ जीवन
दर्किरहेछ बलेनी तप्किरहेछ मन
सल्काएर सबै खाक पारेर
चितामा पुग्नुपहिल्यै राख पारेर
सबै सिर्जना मेटाउन खोज
म त्यही दावानल लिएर
तिमीभित्रको कालोमैलो खरानी पार्दै
बाहिर सल्किए पनि
भित्रभित्र सुसाउँदै
कलकल झर्ना भई बगिदिन सक्छु
जीवन त मर्नलाई हो केही गरेर
महाभारत नै मच्चाउनु पनि पर्दैन
जीवन त बाँच्नलाई हो केही गरेर
सापट लिएर उधारो बाँच्नु पनि पर्दैन
आफ्नो लागि त अलिकति हो
अरुकै लागि सधैँ बाँच्नु छ
तिम्रा लागि बाँच्दा मरिएछ भने
फूल भएर हाँस्दा झरिएछ भने
तिम्रा लागि मर्दा बाँचिएछ भने
चोइटिएर जीवन अझै साँचिएछ भने
मैले जीवन यही सम्झिदिन सक्छु
बाँच्नु त थोरै छ दुईचार दिन बाँचेर
मर्नु त छँदैछ एकदिन मरौँला
मैले जीवन यही सम्झिदिन सक्छु
जीवनकै वलिवेदी चढिदिन सक्छु ।
रचना समय र स्थान : २०५८/०५/१४, बागलुङ
प्रकाशित : देश सधैँ रुने छैन, कविता सङ्ग्रह, २०५९
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )