कथा : कलावती

~दिनेश कोइराला~

काठमाडौँ, श्रद्धेय पिताले जुराइदिएको त्यति प्यारो नाम कलावतीका टोल छिमेक कसैलाई थाहा छैन र कसैले सोध्दैनन् पनि । खासावाला चप्पल प्याट प्याट पड्काउँदै गलामा नक्कली सुन टल्काएर चोर बजारको आसपास बार्गेनिङ गर्दै सामान खरिद गर्ने अधबैँसे आइमाईलाई सबैले मास्टरकी स्वास्नी भनेरै चिन्दछन् ।

दश वर्षअगाडि मास्टरको जीवनमा एउटा परिवर्तनकारी घटना घट्यो । कहिल्यै विद्यार्थीलाई एक लौरो नपिट्ने मास्टरले एक दिन कक्षामा अपत्यारिलो लौरो आतङ्क मच्चाए । हातभर लौराका सुम्लै सुम्ला बोकेर पिल्पिलाउँदै विदार्थी घर फर्किएको भोलिपल्ट स्कूलको कम्पाउन्डमा अभिभावकको नाराबाजी चल्यो । जसोतसो अभिभावकलाई शान्त पारेर आएका प्रिन्सिपलले मास्टरलाई झपारे ।

मास्टरले प्रिन्सिपललाई झपारे । प्रिन्सिपल र मास्टरको दोहोरो सकिने बेलामा मास्टरले भने –

“जाबो २५ सयमा गधालाई जस्तै दलाउँछस् अझ तेरै ठूलो स्वर ???” कुन कुकुरले भोको पेटमा आएर भुक्दिन्छ तेरा विद्यार्थी अगाडि ल्याएर देखा !”

मास्टरको कन्सिरी परैबाट देखिने गरी भ्याटभ्याट पड्कियो । मास्टरले तुरुन्तै प्रशासनमा गएर जम्मा एक वाक्यको राजीनामा लेखेर बुझाए ।

बिचरा बोर्डिङ्ग स्कूलका मास्टर २५ सयमा सात पिरियड भट्याउँथे । होमवर्कको कपी घरैमा लगेर चेक गर्नुपर्ने । उनलाई न त खाजा खाने फुर्सद, न त खाना खाने

फुर्सद । दालमोठ चिउरा चपाउँदै उनको कपी काट्ने काम सुरु हुन्थ्यो । सकिँदा आठ साँढे आठ नभएको कुनै दिन थिएन । दिन भरको ‘ए फर एप्पल’, ‘बि फर बल’, भोकलाई थकानले जित्थ्यो । खाना चपाउने समेत जाँगर बच्दैनथ्यो । स्कुलमा राजीनामा ठोक्देको दिन उनले एक पाउ कुखुराको मासु किने । कहिल्यै चुरोट नखाने मास्टरलाई चुरोटको तलतल भो । दुई खिल्ली याक चुरोट पनि किनेर घर आए । त्यो दिन उनको जीवनको एउटा महत्वपूर्ण स्वतन्त्र दिन थियो । उनलाई कुनै हतारो थिएन । काट्नुपर्ने कपी थिएनन् । भर्नुपर्ने रिपोर्ट थिएन । कुनै टिचिङ प्लान बनाउनु थिएन । अर्काे दिन सखारै उठेर दाह्री फालेर स्कुल दर्गुनु थिएन ।

कराइमा मासु ओइरिएर मास्टरले चुरोट सल्काए । चुरोटको लामो सर्काे तानेर ट्युबलाइटतिर उडाइदिए । चुरोटको धूवाँ रँगमगिएको कोठाभित्रै उनलाई व्यापार गर्ने आइडिया फु¥यो । कुखुराको मासु कालिजको मासुझैं मीठो भो । मास्टर चप्प चप्प मासुको स्वादमा रमाए । व्यापार गर्ने आइडिया त फु¥यो तर पर्याप्त लगानी थिएन । विकल्प खोज्दा खोज्दै उनलाई गुरु विकासानन्दको प्रवचन याद आयो– “अङ्कको सुरुवात पनि शून्य (०) बाटै हुन्छ । क्यान भू इम्याजिन इट ?? हा ! हा ! हा ! हा !”

कन्जुस्याइँ गरी गरी जोगाएको पन्ध्र हजारमा एउटा पुरानो ठेला गाढा किने । अब जिरोबाट व्यापार सुरु हुनेवाला थियो । मास्टरले गाढामाथि चार पाँच दर्जन केरा पछारे । उनको कल्पनामा केराको व्यापार अपरम्पार भइसकेको थियो । उखानै छ नि बर्मा गए नि कर्मसँगै । मास्टरको कर्मै खोटो पो हो कि केरा व्यापारमा पनि उनलाई अनेक झञ्झट आइलागे । उनको गाडालाई प्रत्येक दिन महानगरको गाडीले लखेट्थ्यो । उनी थोत्रो गाडा गूटूटू पार्दै घरी गौशाला घरी पशुपति पूग्थे ।

कहिलेकाहीँ त मास्टरको केराजति सबै पुलिसले खाइदिन्थे अनि गाढा फुटपाथमा ढलाइदिन्थे । चोर पुलिसलाई के भन्नु ? नैतिकताले मुखैमा आएको गाली पनि आन्द्रैतिर फर्काइदिन्थ्यो । मास्टर चुपचाप घर फर्किन्थे । एक दिनको कुरा पशुपतिअगाडि मास्टर गाढा ठेल्दै थिए । एउटी काली काली पुटुक्क परेकी केटीअगाडि आएर भनी – “दाई ऊ त्यहाँ मेरो फूल पसल छ । मेरो सामान हटायो भने तपाईको गाढा अट्छ । आधा गाढामा तपार्इँको केरा राख्नु, आधिमा म मेरो फूल राखौँला ।”

मास्टरले पहिला ठाउँ हेरे त्यसपछि केटी हेरे । ठाउँ गज्जब थियो, केटी ठिकै थिई । जब केटी उनैलाई हेरेर मस्किई उनलाई केटीको प्रस्ताव पनि गज्जब लाग्यो । थोत्रो गाढामाथि डोरी झुण्डिए । डोरीमा केरा झुण्डिए । फूलको गुच्छा र मालाहरु गाढाभरि ढकमक्क फुले । विस्तारै विस्तारै केरा र फूलको गाढा पछाडि मास्टर र कलावतीको प्रेम पनि रसमय बन्दै गयो । जिन्दगी नै ढकमक्क भो ।

केरा र फूलको संयोजन पशुपतिनाथलाई असाध्यै मन परेछ क्यार व्यापार भ्याइनभ्याइ थियो । नाफा पनि राम्रै भएकोले मास्टर र कलावतीले राम्रै पैसा पनि जम्मा गरे र त्यही पैसाले भागी विवाहको भोज खुवाए । एक दिन कलावतीका मनमा के प¥यो कुन्नि ! भनी –“श्रीमान् श्रीमती रातमा सँगै तर दिनमा फरक भएकै राम्री भन्छन् । पसल म चलाउँछु, तपार्इँ फेरी मास्टरी नै गर्नुस् ।”

मास्टर अक्क न बक्क परे । श्रीमतीको कुरा उनलाई ठीकै लाग्यो । नयाँ स्कूल खोजे र मास्टर फेरि मास्टर बने । कलावती उसै दिनदेखि मास्टरकी स्वास्नी भई । प्रेगनेन्सी कलावतीको लागि अत्यन्तै कष्टकर भयो । पटक–पटक हस्पिटल धाउनुपर्नाले व्यापारमा उसले चमत्कार देखाउन सकिन । यता मास्टरको पुरानो जीवन फर्किएको थियो, फिटिक्कै फुर्सद थिएन । गाढा बेचेर केही समय सन्तान वृद्धिमा केन्द्रित हुनुको विकल्प देखिएन ।
कलावतीले छोरी पाई । कलकल बग्ने पानीझैं निश्चल भएकीले मास्टरले छोरीको नाम जलजला जुराए । च्याँ गरेर जब जलजला रुन्थी मास्टरलाई साक्षात् सरस्वतीले शास्त्रीय राग गाएझैँ लाग्थ्यो ।

साउँभन्दा ब्याजको माया बढी भन्थे बूढापाका तर मास्टरको प्रेम इति पनि घटेन । कलावतीलाई मास्टरले खुट्टीको रस र भालेको साप्रो खुवाएकै थिए । ढोका थुनेर तेल मसाज पनि गरिदिएकै थिए । प्रेम दोब्बर भएको थियो । कलावतीले छोरी छाडेर व्यापार गर्ने समय निकाल्न सकिनँ । मास्टर पनि त्यो चाहँदैनथे । छोरी बढ्दै जाँदा कलावती पूर्णरुपले गृहलक्ष्मी मात्रै बनिन् । खर्च उफ्रिँदै बढ्यो तर मास्टरको तलब घिसिँ्रदै बढ्यो । आवश्यकताहरु असरल्ती हुनथाले पछि मास्टरको जिन्दगीमा नसोचेको तनाव पनि बढ्यो ।

कहिल्यै चुरोट नखाने मास्टरलाई चुरोटको तलतल भो । दुई खिल्ली याक चुरोट पनि किनेर घर आए । त्यो दिन उनको जीवनको एउटा महत्वपूर्ण स्वतन्त्र दिन थियो । उनलाई कुनै हतारो थिएन । काट्नुपर्ने कपी थिएनन् । भर्नुपर्ने रिपोर्ट थिएन । कुनै टिचिङ प्लान बनाउनु थिएन । अर्काे दिन सखारै उठेर दाह्री फालेर स्कुल दगुर्नु थिएन ।
छोरीको मीठो मसिनो खाने रहर समेत उनले पूरा गर्न सक्दैनथे । मास्टर घर फर्किँदा एक पाउ भिण्डी र एक मुठा साग बोकेर फर्किन्थे प्रायःजसो । त्यही भिण्डी बरु घाँटीबाट सुलुत्त चिप्लिन्थ्यो । छोरी भाग हेर्थी र पिल्पिलाउँथी । “जाऊ छोरी कार्टून हेर्दै खाना खाऊ । ”कलावती छोरीलाई अर्काे कोठामा पठाउँथी र भिण्डीको रसमा चिप्लिएको आँशु बगाउँथी ।

कलावतीको गहना लगाउने रहर बुझेर मास्टरले एक सेट नक्कली सुनका गहना पनि किनिदिए । नक्कली गहनाको रहस्य सोझी कलावतीले लुकाउन नसकेकाले गाउँलेका श्रीमतीलाई खिसिट्यूरी गर्ने बाटो खुल्यो । जे भए नि नक्कली गहनाले आफ्नो धर्म छाडेन । कलावतीको शरीरमा ती टल्किएकै थिए । कलावतीलाई सुहाएकै थियो ।

कलावतीलाई छोरी राम्रो स्कूलमा पढाउने रहर थियो । छोरीले सेन्ट मेरिजमा नाम पनि निकालेकी थिइन् । तर त्यहाँको खर्च धान्न नसकिने देखिएपछि कलावतीको मन कुँडिएर आयो । मास्टरले छोरीको हात समातेर आफैँले पढाउने स्कूल लैजाने दुर्भाग्य गूमाएनन् ।

मास्टर दुब्लाउँदै गएकाले उनको आँखामाथिको चस्मा समेत सुहाउन छाड्यो । “अलि खानुस् न तपार्ईं मर्न लागिसक्नु भो ।” यसो भन्दै कलावती डाडुभरको भिण्डीको रस मास्टरको थालमा खन्याइदिन्थी । उसको मायाले मास्टरको श्वास जसोतसो चलेजस्तो लाग्थ्यो । तर मोटाउने, मसल बन्ने शक्ति न त उसको मायामा थियो न त भिण्डीको रसमा ।

मास्टर कामैले लखतरान बन्थे । चाङका चाङ कापी चेक गर्दै गरेको मास्टर कति खेर सङ्गै सुत्न आउँथे कलावतीले थाहा पाउँनै छाडी । कलावतीका रातहरु पनि भिण्डीको रसजस्तै बेस्वादको हुनथाले । मास्टर बेला बखत झनक्क रिसाउँथे । कहिलेकाहीँ त कलावतीलाई कुटौंलाजस्तो गर्थै । मास्टरलाई मनोरोग पो लाग्यो कि ? कतै मास्टरको स्कूलका तरुनी मिसहरुसँग लसपस पो सुरु भो कि ? शङ्का उपशङ्कासँगै कलावती पीरै पीरमा डुबी पीरेलै गली ।

सम्बन्धमा बनेको दरारले दुवै जना बेकरार भए । चित्त त्यतिकै दुख्यो दुवैको । त्यस्तो दिन पनि आयो यदि जलजला थिइन भन्ने शङ्काले लङ्का जलाउने निश्चित थियो । के गर्नु तनले मास्टरको माया पाउन छाडे नि, मनले मास्टरको आत्मीयता महसुस नगरे पनि कलावती बाँचेकी नै छे । उसको गलामा नक्कली सुन टल्किन्छ । उसको लवाइखवाइमा सरलता झल्किन्छ ।

त्यसैले उसलाई कसैले घुस्याहाकी स्वास्नी भन्दैन । चोर नेता, कालो बजारिया आदि सँग उसको नाम जोडिँदैन । उसलाई चिन्नेजतिले मास्टरकी स्वास्नी भनेरै चिन्दछन् । उनको श्रीमान् त्यही टोलको बोर्डिङ्ग स्कूलमा पढाउँछ ।  ख्याउटे ज्यानकी अधबैंसे आइमाई प्रायः जो पुरानो पुरानो कुर्तासलवारमा देखिन्छे, उही त हो नि कलावती । मास्टरकी स्वास्नी !

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.