~लक्ष्मी प्रसाद देवकोटा~
क.
पलक निमीलित आज निशि,
प्रार्थना छन् सलिलदृशी !
ख.
दुइटा उडुकण ढुल्कन्छन्
बादलपरेला छिचली !
ग.
निश्चल, निस्पन्द !
श्वासबन्द !
घ.
क्षणकन पार्छिन् अनन्त–दर्पण !
अर्पण !
ङ.
निभिरहेछ संसार उनको !
उडिरहेछ नीरव,
दुइटा पखेटा क्रन्दनको !
च.
बज्दछ अश्रुतबीच मसिनो
मनको तार !
अन्तर–श्वसनकनको परी प्रहार !
“ए ! सुन्दर !
एक किरण !
अमृत मुहार ! ……….”
छ.
जीवन घडीजस्तो छ !
व्यष्टि, समष्टि !
घडीका सूईका दुई हात
जोर्छिन् शिरमा, रात !
आँखा मुदी,
माग्छिन् प्रभात !