~रुमानी राई~
हो छोरा…..
तिमिले पनि जीवन पढ्नु पर्छ
र,यो जिवनलाई बुझ्नु पर्छ
किनकी,
म पनि त निरन्तर
यहि जीवन पढिरहेछु
र,बुझ्ने प्रयास गरिरहेछु ।
हिजो,
तिमी र म जस्तै
जीवन पढेर जानेहरुले
जिवनलाई नजिकैबाट बुझ्नेहरुले
जिवनलाई परिभाषित गरेर
जिवनका परिभाषाहरु छोडेर गएका छन्
जस्तो कि,
जीवन यात्रा हो
र,जीवन संघर्ष पनि हो
अथवा,पृथ्वी एउटा सुन्दर रंगमञ्च हो
र,हामी सबै कलाकार हौं ।
त्यस्तै,
सृष्टिको अमूल्य उपहार हो जीवन
र,जीवन फूल जस्तै हो जो एकदिन वैलेर झर्छ
अथवा,क्रियाशिल नदी पनि हो जीवन
जो बगिरहन्छ निरन्तर समुंद्रलाई भेट्न ।
यति मात्र होइन,
जीवन दु:खसुखको भूमरी हो
र,आँसु र हाँसोको संगम पनि हो जीवन
जीवन जन्म र मृत्युबिचको एउटा नाम हो
अथवा,घामछाँया हो जीवन ।
तर छोरा !
जीवन पढ्न जति सजिलो छ
उति नै गाह्रो छ जीवन बुझ्न ।
जिवनलाई भोग्दै जाँदा
यो जीवन-जगतलाई नबुझेसम्म
तिमिलाई जीवन निरर्थक लाग्न सक्छ
हिंड्दै जाँदा यात्रामा
जीवन अर्थहिन,उजाड-उदास र निरस लाग्न सक्छ
जब,जिवनलाई नजिकैबाट बुझ्नेछौ
तब,रहस्यमय गुफा बन्ने छ जीवन
र,उत्साहित हुनेछौ तिमी
जिवनका परिभाषाहरु केलाउन ।
कहिले जित हुन सक्छ
कहिले हार हुन सक्छ
हाँस्दाहाँस्दै रुनु पर्छ कहिले
कहिले रुँदारुँदै पनि हाँस्नु पर्छ
र, वसन्त वहार मात्र होइन जीवन
शिशिर पनि हो जीवन ।
अत:
बाँच्नको लागि जीवन पापड झैं बेल्दै गर्दा
दु:खका सुनामिहरु झेल्दै गर्दा
जिवनदेखी कहिल्यै हतास नहुनु तिमी
भूकम्पले पनि नछुने धैर्यको पहाड उभ्नु तिमी ।
तिमिले पढेको जीवन र मैले पढेको जीवनमा
तिमिले बुझेको जीवन र मैले बुझेको जीवनमा
केही फरक हुने छैन समय अन्तराल सिवाय
रहस्यमय गुफा जस्तो जीवन-कविता सिवाय ।
र……
यतिखेरसम्म यो मेरो कविता
तिमिमा हस्तान्तरण भइसकेको हुनेछ
र,दोहोर्याइरहेको हुनेछौ
हो छोरा !
तिमिले पनि जीवन पढ्नु पर्छ
र,यो जिवनलाई बुझ्नु पर्छ
किनकी,
म पनि त निरन्तर
यहि जीवन पढिरहेछु
र,बुझ्ने प्रयास गरिरहेछु ।
[ १७ मार्छ २०१४ ]
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)