~सुरेस खनाल~
सधैँ बिच बाटोमा,
ठिङ्ग उभिएर,
सँधैँ ‘उता’ र ‘यता’ को
कल्पना बुनेर,
सधैँ आउने जाने मोटरहरुलाई हेरेर,
सधैँ आउने जाने बटुवाहरुलाई हेरेर,
टाढा, टाढाको यात्रा पर्खँदै,
जमीनमुनि माटो भित्र कतै,
दर्शनढुङ्गामा जरा ठोक्छ;
यो चौबाटोको रुख, मेरो सफलता!!
सधैँ बिहानी सुर्यको किरणलाई,
बिहानभरि ढोग गरेर,
दिउँसोभरि घाममा जलेर,
सधैँ बेला बेलामा ठोक्किन आउने,
हावाका झोँकाहरुसंग,
एकछिन शीतल पैँचो मागेर,
हरिया पँहेला पात झार्दै,
बोक्रे हाँगा देखाउँदै ङिच्च हाँस्छ;
यो चौबाटोको रुख, मेरो सफलता!!
सधैँ सडकपारि बँगैचाको,
कपुरको तिखो गन्ध सुँघ्दै,
सधैँ पर्खाल पारि आँगनमा,
‘झारी’ र ‘झार’को प्रेम हेर्दै,
सधैँ शरद् र वसन्त हुने,
पल्लोपट्टीको बारि हेर्दै,
आफ्नो सुख्खा फेदमा,
धमिराको गोला नियाल्छ;
यो चौबाटोको रुख, मेरो सफलता!!
-यु एस् ए
November 07, 2006
(स्रोत : साझा डट कम)