कविता : राष्ट्रिय धून

~प्रणिका कोयु~pranika-koyu

चटकेको चटक कत्ति मनपर्दैन
मदारीको बाँदर हैन म
मेरो सोचमा दासता छैन
मेरो आकाश निर्भिक छ
प्रत्येक धडकनमा
प्रत्येक नशामा
देश, देश, देश गुञ्जिरहन्छ,
र त म
उज्यालोको चमकमा
सपना बाँच्ने मृगतृष्णामा
कागजको बिटो हुन्डी गर्छु
गुनासाका चिठ्ठी पठाउँछु
रीस सर्वत्र छताछुल्ल पोख्छु
तर, सँगालेर यी सब
बनेर एक ढिक्का उर्जाको
म आउँदिन देश!

उता देशमा तिमी
एक लिटर तेल भर्न सधैं आतुर
एक सिलिण्डर ग्याँसमा अड्केको तिम्रो भोक
बन्छन् जोशिला भेडा तुक्के गोठालाहरूको
तिमी र म नाच्छौ तिनीहरूकै धुनमा
तिमी र म एक सिक्काका दुई पाटा
राष्ट्रवादी हुट्टिट्याँउ

देश, देश, देश
गुञ्जिरहन्थ्यो
देश, देश, देश
गुञ्जिरहन्छ
देश, देश, देश
गुञ्जिरहनेछ
तर कहाँ?

अलग अभियानको वार्षिक विशेष शृंखला-२ मा २६ असोज २०७२ का दिन वाचन गरिएको कविता।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.