~राजेन्द्र शलभ~
थाहा छैन
तिम्रा आँखाको सम्मोहनले
सम्मोहित छु म
या ओठको मुस्कानले ।
पहिले – पहिले त
तिमीलाई देख्दा मात्र
म सम्मोहित हुन्थेँ
आकर्षित हुन्थेँ
तर , अचेल त
तिमी नहुँदा पनि
तिम्रो सम्मोहनले
सम्मोहित बनाउँछ
तिम्रो आकर्षणले
आकर्षित बनाउँछ ।
मलाई त ,
यो पनि थाहा छैन
यो सम्मोहन
यो आकर्षण
माया हो वा स्नेह हो
मलाई त यत्ति मात्र थाहा छ
तिम्रा हातमा कुची
र छेउमा रंगहरू मलाई मन पर्छन्
तिमीले बनाएका
पेन्टिंगहरू मलाई मन पर्छन् ।
अनुहारभरि निराशा ओडेर
जब तिमी भन्छौ –
अब के पेन्टिग गर्नु र ?
त्यो चाहिँ मलाई पटक्कै मन पर्दैन
तिम्रो मनभरि
अहिले उदासी छ भने
तिमी त्यही निराशा र उदासीको
चित्र बनाऊ !
मेरो आग्रहमा कुनै स्वार्थ छैन
मेरो चाहना कतैबाट पनि विषाक्त छैन
कसैले लेखेको
कसैलाई मन पर्नसक्छ
कसैले बोलेको
कसैलाई मन पर्नसक्छ
त्यस्तै , तिम्रा हातहरूले
ब्रस चलाएका हेर्न
मलाई मन पर्छ ।
उमेरसँगै
धेरै जिम्मेवारी बढे होलान्
म तिमीलाई
ती जिम्मेवारीहरूबाट भाग
भनिरहेको छैन
समयसँगै
धेरै घाउहरू लागे
र खाटा परे होलान्
म तिनीहरूलाई
उप्काउन पनि भनिरहेको छैन
एकान्तमा आउने
अतीत र वर्तमानका
अनेकौँ सम्झनाहरू होलान्
बस् ! ती सम्झनाहरूलाई
केवल ती आनन्दी –पीडाहरूलाई
कुचीले क्यानभासमा कोर्ने गर
आफ्ना जिम्मेवारीहरूबाट
अलिकति समय उबारेर
भावनालाई रंगभर्ने गर ।
धेरै पछि ,
जब तिमी बूढो भइसक्ने छौ
तिम्रा हातहरूले राम्ररी
ब्रस पनि समाउन सक्ने छैनन्
त्यतिबेला
हो , त्यति बेला
तिमीलाई मेरा यी शब्दहरू
याद आउने छन् ।