~डा. दुबसु क्षेत्री~
उज्यालोका फूलहरू कहीँ–कहीँ फुल्दा रहेछन्
अँध्यारामा, औँसीमा र जङ्गलमा
शासनका निस्पट्ट काला रातमा
एउटा सानो जूनकीरीले पनि
अन्धकार चिर्न सक्ने रहेछ
त्यति हो
जूनकीरीको पखेटा लाग्नुपर्छ
जूनकीरी उडुन्जेल पर्खनुपर्छ,
उज्यालोका लाभाहरू जहाँतहीँ सल्किँदा रहेछन्
एसियामा, अमेरिकामा, नेपाल वा दक्षिण अफ्रिकामा
एउटा सानो किरणले पनि
अन्धकारको कसिँगर बढार्न सक्ने रहेछ
त्यति हो
दियालो बाल्नुपर्छ
दियालो बलुन्जेल पर्खनुपर्छ,
उज्यालोको प्रवाह जहिल्यै पनि गतिमान् हुँदो रहेछ
हिमाल भए पनि, सागर भए पनि
मरुभूमि भए पनि
उज्यालोले आफ्नो गति नछोड्दो रहेछ
एउटा सानो झिल्काले पनि
आफनो रङ्ग र ढङ्गलाई नछोड्दो रहेछ
त्यति हो
चिराक सल्केको हुनुपर्छ
चिराक सकुन्जेल पर्खनुपर्छ,
अँध्यारामा शासन गर्ने
सोख भएकाहरूलाई
जूनको जुहार थाहा हुँदैन
घामको बहार थाहा हुँदैन
उज्यालोको प्रहार थाहा हुँदैन,
अँध्यारामा आँखा देख्नेहरूलाई
अँध्यारामा बाटा छेक्नेहरूलाई
उज्यालोमा हिँड्ने बाटो थाहा हुँदैन
उज्यालोमा टेक्ने माटो थाहा हुँदैन
उज्यालोमा पुज्ने नासो थाहा हुँदैन,
हत्केलाले सूर्य छेक्न खोज्नेहरूलाई
बन्दुकले विश्वास दाग्न खोज्नेहरूलाई
उज्यालोको गीत थाहा हुँदैन
उज्यालोको प्रीत थाहा हुँदैन
उज्यालोको जित थाहा हुँदैन,
तिमी जून हौ
तिमी घाम हौ
तिमी ज्योति हौ र
तिमी सिङ्गो उज्यालो हौ
उज्यालो कहिल्यै एक्लो हुँदैन
तिमी त्यसैले एक्लो भएनौ र हुँदै हुँदैनौ
जङ्गलमा तिमी जूनकीरी भयौ
औँसीमा तिमी जून भयौ
अँध्यारामा तिमी घाम भयौ
बाँध्न खोजियो तिमीलाई
तिमी जूनकीरी भएर उड्यौ
छोप्न खोजियो तिमीलाई
तिमी जून भएर चम्कियौ
ढाक्न खोजियो तिमीलाई
तिमी घाम भएर झुल्कियौ,
उज्यालोसँग रावण, कंस र हिरण्यकशिपु पनि हारेका छन्
उज्यालोसँग नेपोलियन, हिटलर र मुसोलिनी पनि हारेका छन्
उज्यालोसँग सत्ता पनि हारेको छ
उज्यालोसँग समय पनि हारेको छ
त्यसैले तिम्रो मुक्तिको युद्धमा मैले आफूलाई होमेँ
अलिकति अघिपछिको कुरा मात्र थियो
समयले स्वतन्त्रताको भाका बुझ्ने त निश्चित थियो
तिम्रो मुक्तिमा
मैले सधैँ गाइरहने उन्मुक्तिको
मेरो गीत गाउँछु म
मान्छे कहिल्यै बाँधिँदैन र बाँध्नु हुँदैन
मान्छे जून हो
मान्छे जूनकीरी हो
मान्छे घाम हो
र मान्छे सिङ्गो उज्यालो हो
उज्यालो कहिल्यै बाँधिँदैन र बाँध्नु हुँदैन
मान्छे कहिल्यै बाँधिँदैन र बाँध्नु हुँदैन ।