~विमल कोइराला~
सुविधाका मीठा प्रहरहरूमा
तिमी आफैबाँच
आफ्नै खुसीहरू आफ्नै निम्ति बाँच,
बाँकी समय
जुन कष्टकर छ, पीडादायी छ
जहाँ प्रत्येक पलले घोच्ने गर्छ
निद्राका डोबहरूलाई
जहाँ चिसा पाइतालाले टेक्ने गर्छ—
पुसको ठिहीमा आरामको तकियालाई
मलाई सम्झ— म तिम्रो साथ हुनेछु।
बिताऊ आहालिँदै खुसीको हिले दहमा
तिम्रा मीठा समयहरू
सेकेन्ड–सेकेन्ड, मिनेट–मिनेट निर्विघ्न/निरन्तर
सम्झेर यो कि यो संसार फूलको संसार हो
र फूलका खुट्टाहरू नरम रूपले परिचालित छन्
यौवनको यो सुन्दर धरतीमा,
ब्युँझेर जब देख्छौ कठिन जिन्दगीका अति कठिन
दुर्गम र अगम्य किनाराहरू
तिमीलाई अनुभव हुनेछ— तिमीलाई कसैको साथ चाहिएको छ
हो, ठीक त्यही बखत मलाई सम्झ
म तिम्रो साथ हुनेछु।
लहलहाउँदा विचारका अङ्कुरहरू नासेर
फस्टाउँदा आदर्शका मुनाहरू मारेर
जिन्दगीलाई आयुमा र आयुलाई वर्ष/महिनामा,
दिनमा र घण्टामा परिणत गरेर
जब जिन्दगी अनन्त मिनेटमा अनुवाद हुन थाल्छ
अनुभव हुँदो हो— यो धुकधुकी अहिल्यै निस्तेज भए…
विलासी जिन्दगीका कामनाहरू
यसैगरी सुरु हुन्छन्, बित्न थाल्छन् र मर्छन्
तर कुनै बखत घोचेछ यदि समयले भने
वा दुख्न थालेछ आरामको जिन्दगी भने
वा चिमोटेछ मीठो प्रहरले मर्मान्त हुने गरी कहिल्यै भने
स्वीकार गरेर जिन्दगीका भूलहरू मलाई सम्झ
युद्धका किल्लाहरूमा हुँ
वा नैतिक लडाइँमा समर्पित भइरहेको बेलामा हुँ,
म तिम्रो साथ हुनेछु
म बिलकुल तिम्रो साथै हुनेछु।
ज्ञानेश्वर, काठमाडौं